
एजेन्सी – बायर्न म्युनिखलाई पछि पार्दै बोरुसिया डर्टमुण्ड जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आरबी लाइप्जिगलाई २–१ ले पराजित गरेपछि डर्टमुण्ड शीर्षस्थानमा उक्लन सफल भएको हो ।
डर्टमुण्डको जितमा कप्तान मार्काे रिउस र एम्री क्यानले गोल गरे । लाइप्जिगका इमिल फोर्सवर्गले एक गोल फर्काए । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलको १३औं मिनेटमा जुलियन ब्रान्ड्टले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा डर्टमुण्डले अग्रता लिन सकेन ।
२१औ मिनेटमा कप्तान मार्काे रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमुण्डलाई १–० को अग्रता दिलाए । ३९औं मिनेटमा एम्री क्यानले गोल गर्दै डर्टमुण्डको अग्रता दोब्बर पारे ।
७४औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा डर्टमुण्ड विजयी हुन सफल भयो ।
यस जितसँगै शीर्षस्थानमा उक्लिएको डर्टमुण्डको २३ खेलबाट ४९ अंक पुगेको छ । एक खेल कम खेलेको बायर्नको ४६ अंक छ । पराजित लाइप्जिगले तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा ४२ अंक जोडेर चौथो स्थानमा छ ।हाम्रो खेलकुदबाट ।



