स्वास्थ्य

टाइफाइड फैलँदो! दिसा मिश्रित पानी पिउँदै त छैनौं?

डा शेरबहादुर पुन
नेपालमा कुनै समय यस्तो पनि थियो कि कसैलाई ‘ज्वरो आयो” भने “टाइफाइड’ भयो होला भन्ने गरिन्थ्यो। तर हाल पछिल्लो समय डेंगुको चर्चा चुलिएको छ। लामखुट्टेको वृद्धिसंगै डेंगुबारे सतर्कता अपनाउन जरुरी र स्वाभाविक पनि हो। केही दिन यता भने ज्वरोका बिरामीमा प्रयोगशाला परीक्षण गर्दा टाइफाइड पुष्टि हुने क्रम बढ्दो देखिन्छ।

गर्मी र वर्षायाम शुरु भएसँगै टाइफाइड वर्षेनी देखिने गर्दछ। टाइफाइडको ब्याक्टेरिया मिश्रित पानी वा खानेकुरा मार्फत संक्रमण फैलने वा प्रकोपको रुप लिने गर्दछ। टाइफाइड सल्मोनेला टाईफी तथा सल्मोनेला पाराटाईफी ब्याक्टेरियाको कारणले हुने गर्दछ।

पछिल्लो समयमा क्लिनिकमा गइ उपचार गर्ने वा आफैं औषधि किनेर खाने बढ्दो प्रचलनले गर्दा धेरै बिरामीमा रोगले कडा रुप नलिएसम्म अस्पतालसम्म आइपुग्ने गर्दैनन्। तसर्थ आजभोली समुदायमा टाइफाइडको प्रकोप फैलिए/नफैलिएको खासै थाहा हुने गरेको पाइदैन।

टाइफाइडका मुख्य लक्षणहरु
१. उच्च ज्वरो आउनु
२. कमजोर हुनु
३. टाउको/पेट दुख्नु
४. वाकवाक वा बान्ता हुनु
५. खोकी लाग्नु
६. कब्जियत वा पखाला लाग्नु
७. कसै कसैमा छालामा रातो बिबिरा (रेड स्पट) देखिन सक्दछ।

गर्मी र वर्षातको समयमा अरु विभिन्न संक्रामक रोगहरु पनि देखिने गर्दछन् भने त्यसका लक्षणहरु एक अर्कासंग मिल्दोजुल्दो समेत हुने भएकोले टाइफाइड पुष्टि गर्न प्रयोगशाला परिक्षण गर्न जरुरी हुन्छ। उपचारमा ढिलाई हुँदै गए वा बेवास्ता गरे बिरामी अलमल/भ्रमित हुने, आन्द्रामा रक्तश्राब वा प्वाल पर्ने जस्ता जटिलताहरु देखिन सक्दछ। यस्तो जटिलता सामान्यतय बिरामी भएको २ देखि ३ हप्तामा देखिने गर्दछ। समयमा औषधि गरे यो रोग पूर्णरुपमा निको हुन्छ।

संक्रमित बिरामीको दिसाबाट टाइफाइडको ब्याक्टेरिया खाना वा पानीको माध्यमबाट फैलने हुँदा, हाल हामीले प्रयोग गरिरहेको पानी वा खानेकुरा पनि संक्रमितको दिसा मिसिएको अनुमान गर्न सकिन्छ। दिसा मिसिएको पानी/खानेकुरा मार्फत टाइफाइड मात्रा नभइ झाडापखाला गराउने हैजा लगाएतका विभिन्न संक्रमणहरु, भाइरल हेपाटाईटिस “ए” वा “ई” आदि फैलने हुँदा यस्ता संक्रमणहरुको जोखिम पनि ह्वात्तै बढेको देखिन्छ।

तसर्थ सम्बन्धित निकायले बजारमा उपलब्ध खानेपानी तथा खानेकुराको गुणस्तर अनुगमनलाई नियमित र तिब्रता दिन जरुरी देखिन्छ भने कोभिड-१९ को महामारी अन्तसंगै बाहिर खानपान गर्ने प्रचलन बढ्दै जादा हामी स्वयम् पनि सचेत हुने हो कि?

-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)स्वास्थ्य खबरपत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button