खबर

बढ्दै छन् हात्ती कज्याउने महिला माहुते

हात्ती प्रजनन केन्द्रकी कार्यवाहक फनेत मीना चौधरी आफैँले चलाउने तथा स्याहारसुसार गर्ने गरेको देवीकली हात्तीसँगै ।

वसन्त पराजुली

भरतपुर । महिलाले हात्तीलाई वशमा लिएर सदाउने र सिकाउने गरेको सुन्दा अचम्म लाग्न सक्छ! त्यस्तै अचम्मको काम गर्दै हुनुहुन्छ पर्यटकीय नगरी सौराहानजिकैको बछ्यौलीकी मीना चौधरी।

जङ्गली जनावरमध्येको सबैभन्दा ठुलो हात्तीलाई आफ्नो वशमा राखेर जे गर भन्यो त्यही गराउनु आफैँमा कम चुनौतीपूर्ण हुँदैन। त्यही चुनौतीपूर्ण काममा मीना १२ वर्षदेखि अभ्यस्त हुनुहुन्छ।

“विसं २०६८ मा लोकसेवा आयोगले हात्ती सुसारेका लागि माहुते पदमा कर्मचारी आवश्यकता निकाल्यो। सामान्य लेखपढ भएका महिलाले पनि यो पदमा निवेदन दिन पाउने भएपछि मैले पनि निवेदन दिएँ। परीक्षामा पनि पास भएँ,” उहाँले भन्नुभयो। हाल हात्ती प्रजनन केन्द्रको देवीकली हात्तीको कार्यवाहक फनेत पदमा कार्यरत चौधरीले हात्ती प्रजनन केन्द्रमा हात्तीको सरसफाइ र खानेकुरा ‘कुची’ बनाउँदै यो कुरा भन्नुभयो।

‘कुची’ हात्तीका लागि खर वा सिरुभित्र भेली, धान, नुनलगायतका खानेकुरा डल्लो बनाएर खुवाउने परिकार हो। एउटा हात्तीका लागि सरसफाइ र घाँस काट्ने माहुते सबैभन्दा तल्लो तहको कर्मचारी हो भने पछुवाले हात्ती चराउने र घाँस काट्ने काम गर्छ। फनेत एउटा हात्तीको हाकिम नै हो। फनेतले आफूसहित तीन जना मिलेर हात्तीलाई चलाउने अर्थात् गस्ती वा पर्यटक बोक्न वा अन्य काममा लगाउने गरेको उहाँले बताउनुभयो। मीनाले अहिले त्यही फनेतको काम कार्यवाहकका रूपमा गरिरहनुभएको छ। यो लोकसेवा आयोगको भने श्रेणीविहीन पद हो।

“टाउको र कानको जोर्नीमा खुट्टाले बिस्तारै धकेल्दै बैँठ (बस) भन्यो भने हात्ती थचक्क बस्छ,” उहाँले आफ्नो नियमित काम सुनाउँदै भन्नुभयो, “भुइँमा सुताउन मन लागे जोर्नीमा नै खुट्टाले बिस्तारै धकेल्दै ‘सुत’ भन्छौँ, हात्ती सुत्छ। अगत (अगाडि बढ्) भने अगाडि बढ्छ, इभरअगत (आफूतिर आइज) भने आफूतिर आउँछ।”

हात्तीलाई यो भाषा तालिमकै क्रममा सिकाइन्छ। तालिम दिने माहुते र सुसारेहरू अधिकांश थारू भएका कारण पनि उसलाई तालिमका क्रममा थारू भाषा नै बढी प्रयोग गरेर सिकाइन्छ। आफू पनि थारू नै भएकाले हात्तीको भाषा सिक्न गाह्रो नभएको उहाँले बताउनुभयो। “लोकसेवा त पास गरेर आइयो, के गर्ने के नगर्ने भन्ने अन्योल पनि भयो। पछि बिस्तारै आफूलाई अभ्यस्त बनाउँदै गएँ,” उहाँले थप्नुभयो, “आफ्नै श्रीमान् रामेश्वर चौधरी हात्तीसारकै फनेत (हाल निवृत्त गजेटेड सुब्बा) भएकै कारण पनि कतिपय अवस्थामा काम गर्न सहज भयो।”

यसअघि चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा रहँदा गस्तीका क्रममा महिला सैनिकले बढी आफूलाई नै हात्ती चलाउन लाने गरेको उहाँले सुनाउनुभयो। हात्ती प्रजनन केन्द्रमा सरुवा भएपछि भने गस्ती जान नपरेको र हात्ती चराउन वन र हात्ती सार गर्दैमा दिन बितेको उहाँको भनाइ छ।

एक छोरीकी आमा मीनालाई अहिले हात्तीसँगै छोरीको स्याहारसुसार पनि थपिएको छ। आठ वर्ष उमेर पुगेकी छोरी हात्ती सुसारे जागिर सुरु गरेपछि जन्मिएकी हुन्। “हात्तीको स्याहारसुसार गरेर फुर्सदको समयमा घर जान्छु र छोरीको स्याहारमा समय खर्चन्छु। घर र जागिर गर्ने ठाउँ नजिक भएकाले पनि सजिलो भएको छ,” उहाँले भन्नुभयो।

हात्ती प्रजनन केन्द्रसहित चितवन राष्ट्रिय निकुञ्जमा १३९ जना हात्ती सुसारे छन्। माहुते, पछुवा र फनेत गरेर तीन तहमा कार्यरत हात्ती सुसारेमा मीनाजस्तै प्रजनन केन्द्रमा तीन जना, चितवन राष्ट्रिय निकुञ्जमा दुई जना गरी पाँच जना महिला कार्यरत छन्। निकुञ्जका अनुसार अहिले बछ्यौलीकी मीना महतो, मीना चौधरी, चिनमाया कुमाल र बछ्यौली माइत भई सर्लाही घर हुने सुनैना पन्जियार कार्यरत हुनुहुन्छ ।

यस्तै कोशी राष्ट्रिय निकुञ्जमा दुई, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक/एक जना महिला हात्ती सुसारेका रूपमा कार्यरत छन्। हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरी लोकसेवा आयोगले समावेशी बनाउँदा मीनाजस्ता महिला हात्ती सुसारे थपिएको बताउनुहुन्छ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button