मूल खबर

अर्थतन्त्रमा सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अघिल्ला सरकारको असक्षमताका कारण अहिले अर्थतन्त्रमा समस्या आएको आरोप लगाउनुभएको छ । आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेको पनि उहाँले दाबी गर्नुभएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले कोरोनाको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनिमय सञ्चितिमा परेको चाप समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको, ब्याजदर बढ्न गएको, उपभोग प्रभावित हुँदा र केही वस्तुको आयात प्रतिबन्धका कारण आयात घट्न गएकाले राजस्व संकलन कमजोर भई सार्वजनिक वित्त सन्तुलनमा चाप परेको बताउनुभयो ।

त्यस्तै सार्वजनिक खर्चतर्फ आयोजनाको प्राथमिकीकरणको अभाव र सम्भावित दायित्वको आंकलन नगरी खरिद प्रक्रिया अघि बढाउँदा खर्च व्यवस्थापन चुनौतीपूर्ण अवस्थामा रहेको, कतिपय बाहृय परिस्थितिका कारण पनि अर्थतन्त्रमा शिथिलता आउनमा थप योगदान पुगेको उहाँको भनाइ थियो ।

आफूले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषय अहिले क्रमशः कार्यान्वयनका क्रममा रहेका उल्लेख गर्दै मन्त्री महतले सरकारी खर्चतर्फ वित्त अनुशासनलाई जोड दिइएको, स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको, आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको, अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको, जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको, जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्तिस्वरूप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको उहाँले बताउनुभयो ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button