
डिबी शर्मा
काठमाडौं । बाराको निजगढ नगरपालिका-५ का भोलाप्रसाद ढुंगानाको पेसा कृषि हो । खेतबारी र गाई, भैँसीको स्याहार सुसारमै उहाँको दिन बित्छ । मुख्य पेसा नै कृषि भएकाले आम्दानीको स्रोत पनि अरू हुने कुरै भएन । उहाँले गाँस, बास र कपासको व्यवस्था गर्ने यही कृषि पेसाबाटै हो । कृषि फर्मसमेत सञ्चालन गर्नुभएका उहाँले गाईभैँसी पाल्नुभएको छ । गाई, भैँसीको दूध बेचेर नै उहाँको खाने/लाउने व्यवस्था हुन्छ । यसैबाट घरखर्च चलाउने र बच्चाबच्ची पढाउने गर्नुहुन्छ । कहिलेकाहीँ बिरामी हुँदा उपचारको जोहो पनि यसैबाट हुन्छ । तर, पछिल्लो तीन/चार महिनादेखि उहाँको आम्दानी ठप्पै छ । काम छुटेको छैन तर, पैसा आउने बाटो बन्द छ । ‘साढे तीन महिनादेखि दूध बेचेको पैसा पाएको छैन,’ मुख्य आम्दानीकै स्रोत बन्द भएपछि आर्थिक समस्याले सताउन थालेको छ,’ हिमालय टाइम्सलाई आफ्ना दुःख सुनाउँदै ढुंगानाले भन्नुभयो, ‘आउने ठाउँबाट पैसा नआएपछि समस्याले सताउन थालेको छ । आफू भोकै बस्न सकिँदैन । गाई–भैँसीलाई घाँस र दानापानी नभई भएन । दूध बेचेको पैसा नपाएपछि कहाँबाट जोहो गर्ने ?’
उहाँले स्थानीय बागदेव दुग्ध उत्पादक सहकारी संस्थालाई दूध बेच्दै आउनुभएको छ । तर, संस्थाले तीन महिना बढी समयदेखि पैसा दिएको छैन । माग्न जाँदा संस्थाले पनि दुग्धजन्य पदार्थ बिक्री नभएकाले दिन नसक्ने जवाफ दिन्छ । केही बिक्री भएको दुग्धजन्य पदार्थको पैसा संस्थाले पनि नपाएकाले दिन नसक्ने बताउने गरेको उहाँले सुनाउनुभयो ।
यो उहाँ एक्लैको पीडा भने होइन । कृषि पेसामै लाग्नुभएका कैलालीका भवानी गिरीको अवस्था पनि उस्तै छ । बर्दगोरिया गाउँपालिका-३ का गिरीले दिनको १० लिटर दूध बेच्नुहुन्छ । उहाँले पनि तीन महिनादेखि दूध बेचेको पैसा पाउनुभएको छैन । दूधको पैसा माग्न जाँदा उहाँले पाउने जवाफ पनि ढुंगानाको भन्दा भिन्न छैन । ‘दुग्धजन्य उत्पादन बिकेन, बिकेको सामानको पैसा आएन, अनि तपाईंलाई कसरी दिनू ?’ उहाँले दूध बेच्ने दैनिक डेरीले दिने जवाफ हो यो । बाराका किसान ढुंगाना र कैलालीका गिरी त प्रतिनिधि किसान हुन् । यतिबेला देशभरका लाखौँ किसानले दूध बेचेको पैसा पाएका छैनन् ।
दुग्ध उत्पादक किसानले विगत ६ महिनादेखि दूध बिक्री गरेको पैसा पाएका छैनन् । डेरी उद्योगीहरूले दूध किने पनि पैसा नदिएपछि किसान समस्यामा छन् । अहिलेसम्म सरकारी स्वामित्वको डिडिसी र निजी डेरीहरूले करिब ६ अर्ब रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका महासचिव रामप्रसाद आचार्यले बताउनुभयो । दूध बेचेको पैसा नपाएपछि किसानलाई दानापानीको जोहो गर्नै मुश्किल पर्न थालेको उहाँको भनाइ छ ।
देशभर करिब ६ लाख दुग्ध किसान छन् । त्यसमध्ये करिब पाँच लाख साना किसान छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्था (डिडिसी) र निजी क्षेत्रका डेरीले कुल ६ अर्ब बढी रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यसमा सबैभन्दा धेरै करिब दुई अर्ब रुपैयाँ डिडिसीले नै दिएको छैन । अन्य ८० भन्दा बढी डेरी उद्योगहरूले भुक्तानी दिएका छैनन् । दूधको पकेट क्षेत्र मानिने चितवन, काभ्रे, मकवानपुर तथा पूर्वी नवलपरासीका किसानको बक्यौता धेरै छ ।
हिमालय टाइम्सम दैनिकमा खबर छ ।



