खबर

‘आत्मनिर्भर अर्थतन्त्रका लागि घरेलु तथा साना उद्योग महत्वपूर्ण’

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग भएको बताउनुभएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीसँग महासङ्घको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमै छ । यस्ता उद्योगको प्रवर्धन र विकासमा म हरतरहले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

साना तथा मझौला उद्योगको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउन तयार रहेको भन्दै मन्त्री भण्डारीले भन्नुभयो, “अब हाम्रो सम्भावना, रोजगारीको क्षेत्र, हाम्रो समृद्धिको यात्रा साना, घरेलु तथा लघु र मझौला घरेलु उद्योग नै हो । त्यसमा पनि अझ हाम्रो स्रोतसाधनमा आधारित उद्योगको निर्यातमा ठुलो योगदान रहन्छ ।”

देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले लघु, घरेलु तथा साना उद्योगीका लागि कर्जामा सहुलियत र प्रविधि हस्तान्तरणका लागि प्रधानमन्त्री नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि कार्यक्रम छिट्टै मन्त्रीपरिषद्मा जान लागेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योग आर्थिक समृद्धिको संवाहकका रूपमा रहे पनि यस्ता उद्योगको प्रमुख समस्या बजार पहुँच रहेको बताउनुभयो ।

उद्योगमा जडान गरिएका मिल मेसिनरी र औजारको स्वामित्वको प्रमाणपत्र जारी गरी सोलाई पनि धितो मानी दैनिक उत्पादनको क्षमता र उत्पादित वस्तुको मौज्दात हेरी लघु, घरेलु तथा साना र महिला उद्यमीलाई ५० लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइदिन उहाँको आग्रह थियो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेलले नेपालको संरचना जस्तै महासङ्घको पनि देशभर संरचना रहेको भन्दै लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनमा देशैभर पैरवी गरिरहेको बताउनुभयो ।गोरखापत्र अनलाइन

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button