मूल खबरहेड लाइन

कक्षा १२ को परीक्षा शुरू, ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी

ईश्वरराज ढकाल
–५२ हजार ४ सय ७१ जनशक्ति परिचालित
–जापानमा १ केन्द्र, ३२ विद्यार्थी
–उपत्यकामा विशेष अनुगमन, उपत्यकाबाहिर छड्के अनुगमन
–मास चिटिङ गरे केन्द्र खारेज हुने, कन्ट्रोल रुम सञ्चालन
–एक सुरक्षाकर्मीको अनिवार्य उपस्थितिमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र रोहबरमा मात्र प्रश्नपत्र डाउनलोड हुने पहिलोपटक व्यवस्था
–प्रदेश परीक्षा व्यवस्थापन कार्यालय काठमाडौंमा सबैभन्दा धेरै १ लाख ६ हजार ४ सय ७९, थोरै सुर्खेत प्रदेश परीक्षा व्यवस्थापन कार्यालयमा १६ हजार ९ सय ८३
–सबैभन्दा धेरै काठमाडौंमा १ सय ४४ केन्द्रमा ६४ हजार ८ सय ९२, कम मनाङको एउटा मात्र केन्द्रमा ४४ विद्यार्थी

काठमाडौं ।

आजबाट कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ। परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ९१ हजार ४ सय ९७ परीक्षार्थी सहभागी हुँदै छन्। नियमिततर्फ ३ लाख ९० हजार ८ सय ९५ र ग्रेडवृद्धितर्फ १ लाख ६ सय २ परीक्षार्थी सहभागी हुँदै छन् ।

परीक्षामा १ हजार ५ सय २६ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न ५२ हजार ४ सय ७१ जनशक्ति परिचालित हुनेछन् ।

त्यसमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित गरी १८ हजार ३ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । परीक्षामा २७ हजार ३ सय ७ निरीक्षक, १ हजार ९ सय ७ कर्मचारी, १ हजार ५ सय २५ केन्द्राध्यक्ष, १ हजार ९ सय ७ सहायक केन्द्राध्यक्ष र १ हजार ५ सय २५ कार्यालय सहयोगी खटिनेछन् ।

परीक्षामा सबैभन्दा धेरै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय काठमाडौंअन्तर्गत विद्यार्थी सहभागी हँुदै छन् । सो कार्यालयअन्तर्गत ३ सय २ परीक्षा केन्द्रमा १ लाख ६ हजार ४ सय ७९ परीक्षार्थी सहभागी हुँदै छन् । कम प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतअन्तर्गत ४८ केन्द्रमा १६ हजार ९ सय ८३ परीक्षार्थीेले परीक्षा दिनेछन् । जापानको एक केन्द्रमा ३२ विद्यार्थी सहभागी हुँदै छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी वागमतीमा ३ सय ७६ परीक्षा केन्द्रमा १ लाख १६ हजार ४ सय ४० र कम सुदूरपश्चिममा १ सय ५७ केन्द्रमा ४९ हजार ५ सय ६३ परीक्षार्थी सहभागी हँुदै छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंमा १ सय ४४ केन्द्रमा ६४ हजार ८ सय ९२ विद्यार्थीले परीक्षा दिँदै छन् । कम मनाङको एउटा मात्र केन्द्रमा ४४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । मनाङ र मुस्ताङमा एक–एक केन्द्र कायम गरिएको छ ।
परीक्षालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई पूर्ण अधिकार दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षमा प्रदेश परीक्षा समितिलाई पूर्ण अधिकार दिएको बोर्डले जनाएको छ।

‘यो वर्ष नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका महासंघले समेत परीक्षामा अनुगमन गर्नेछ’ –बोर्डका अध्यक्ष शर्माले भन्नुभयो । केन्द्र कायम गर्ने अधिकार जिल्ला परीक्षा समितिलाई दिएको थियो। उपत्यकामा केन्द्र कायम गर्दा चलखेल हुने गरेको गुनासो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसमक्ष पुगेपछि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले पहिलोपटक काठमाडौं जिल्लाका परीक्षा केन्द्र स्वचालित (¥यान्डम) विधिबाट छानिएको थियो।

‘पाइलट प्रोजेक्ट’का रूपमा सफ्टवेयर तयार गरी परीक्षा केन्द्र छनोट गरेको रापबोर्ड अध्यक्ष शर्माले जानकारी दिनुभयो। हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा केन्द्र कायम गरेको हो। विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको थियो। परीक्षामा उपत्यकाको केन्द्रमा विशेष अनुमगनको व्यवस्था मिलाइएको छ भने उपत्यका बाहिरका केन्द्रमा छड्के अनुगमन गर्ने व्यवस्था गरेको छ।

बोर्डले यो वर्षबाट इमेलबाट प्रश्नपत्र नपठाएर सबै केन्द्राध्यक्षको व्यक्तिगत पासवर्ड तयार गरी सोही आधारमा परीक्षा सञ्चालन हुनु आधा घण्टाअघि ओटीपी उपलब्ध गराएर प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष शर्माले पहिलोपटक नयाँ प्रविधि प्रयोग गरी प्रश्नपत्र पठाउने व्यवस्था गरेको जानकारी दिनुभयो । ‘प्रश्नपत्र डाउनलोड गर्दा केन्द्राध्यक्षले एक जना सुरक्षाकर्मीको अनिवार्य उपस्थितिमा सहायक केन्द्राध्यक्षको रोहबरमा मात्र प्रश्नपत्र डाउनलोड हुने व्यवस्था गरेका छौं’ –अध्यक्ष शर्माले भन्नुभयो ।

परीक्षा शुरू हुनुभन्दा आधाघण्टा अगाडि बोर्डको सिस्टमबाट प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ। हरेक परीक्षा केन्द्रको छुट्टाछुट्टैै युजर आईडी तयार पारिएको छ । परीक्षामा मास चिटिङ गरे केन्द्र खारेज हुने व्यवस्था गरेको छ।

अर्थात् समूहमा चिट चोरेमा केन्द्र खारेज गरी विद्यार्थीको परीक्षा रद्द गर्ने व्यवस्था गरेको छ। त्यस्तै, परीक्षालाई व्यवस्थित गर्न मंगलबारबाट बोर्ड मुख्यालयमा उपनियन्त्रकको नियन्त्रणमा कन्ट्रोल रुम सञ्चालन गरिएको छ।

परीक्षामा जिम्मेवार पदाधिकारीबाहेक अन्यलाई मोबाइल फोन लैजान पूर्ण बन्देज गरिएको छ । स्मार्ट घडी र क्यालकुलेटर लैजान पाइने छैन। बोर्डले यो वर्षको परीक्षाफल परीक्षा सञ्चालय भएको ४५ दिनभित्र प्रकाशित गर्ने गरी तयारी थालेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button