खेलकुद

को-को पर्लान् विश्वकपका लागि नेपालको राष्ट्रिय टोलीमा ? आजसम्म घोषणा गर्नुपर्ने

काठमाडौं । आसन्न आइसिसी टी-२० विश्वकपका लागि नेपालले आज (बुधबार)सम्म राष्ट्रिय टोलीको घोषणा गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अमेरिका र वेष्ट इण्डिजमा हुने प्रतियोगितामा सहभागी हुने २० वटै टोलीलाई बुधबारसम्म अन्तिम टोली घोषणा गर्नुपर्ने समयसीमा तोकेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्नेछ ।
जुन १ देखि प्रतियोगिता सुरु हुँदैछ । नेपालले अहिले घरेलु मैदानमा वेष्ट इण्डिज एसँग पाँच खेलको टी-२० शृंखला खेल्दैछ । यो शृंखलाका लागि प्रारम्भिकरूपमा १६ सदस्यीय टोली घोषणा गरिएकामा पछि चार खेलाडी थपिएको थियो ।

वेष्ट इण्डिज ‘ए’ शृंखलाका लागि रोहित पौडेल, अनिल शाह, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, अविनाश बोहरा, कमलसिंह ऐरी, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी, विनोद भण्डारी, करण केसी र सन्दीप जोरा नेपाली टोलीमा हुनुहुन्छ ।

यीमध्ये रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अविनाश बोहरा टोलीमा पर्ने सम्भावना बलियो छ । अनिल शाह, विवेक यादव, आरिफ शेख, सागर ढकाल र प्रतिश जिसी पनि प्रत्यासी हुनुहुन्छ ।

हालै ओमानमा भएको एसिसी प्रिमियर कपमा सहभागी १४ सदस्यीय नेपाली टोलीमा सागर र आरिफ सहभागी हुनुभएको थिएन । नेपालले विश्वकपका लागि यसअघि नै सम्भावित टोलीको नाम भने पठाइसकेको छ । अब यीमध्येबाट १५ सदस्यीय टोली घोषणा हुनेछ । नेपाल १० वर्षपछि विश्वकपमा सहभागी हुँदैछ ।

वेष्ट इण्डिज ‘ए’ सँग तेस्रो खेल आज
नेपाल र वेष्ट इण्डिज ‘ए’ सँगको ट्वान्टी-२० क्रिकेटको तेस्रो खेल आज हुँदैछ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो भने दोस्रो खेल वेष्ट इण्डिज ‘ए’ले जितेको थियो । पहिलो खेलमा नेपालले २०५ रनको लक्ष्य दुई बलअगाडि नै भेट्टाउँदा चार विकेटको जित हासिल गरेको थियो । जसमा कप्तान रोहित पौडेलले ५४ बलमा ११२ रनको महत्वपूर्ण इनिङ खेल्नुभएको थियो । दोस्रो खेलमा कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद वेष्ट इण्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको थियो । दुई टोलीबीच तेस्रो खेल आज (बुधबार) हुँदैछ । चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ । नेपालले वेष्ट इण्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button