
प्रेम अधिकारी
पशुपतिनगर (इलाम), साउन ४ गते । आन्तरिक तथा विदेशी पर्यटकको रोजाइमा परेको पर्यटकीय स्थल अन्तु क्षेत्र पछिल्लो समय अशान्त बन्न थालेको छ । व्यवसायी र स्थानीय प्रहरीबिच उत्पन्न विवादले अन्तु पर्यटकीय क्षेत्रमा बेथितिको चाङ रहेको खुलेको हो । छोटो समयमा तीव्र रूपमा विकास भई पर्यटकीय क्षेत्रका रूपमा कहलिएको अन्तु हेर्दा जस्तो छ यस क्षेत्रको व्यथा, भोग्नेका लागि अलि फरक बन्ने गरेको छ । अन्तुमा होमस्टे, होटेल र कटेज खुल्ने क्रम अत्यधिक बढेसँगै यस क्षेत्रका धेरै कुरा नियन्त्रणबाहिर गएको पाइएको छ ।
लामो समयदेखि अन्तु क्षेत्रमा सञ्चालन भएका होमस्टे, होटेल र कटेजमा आउने पर्यटकले अनेकथरी समस्या भोग्नु परेको पाइएको छ । फुर्सदमा घुम्न अन्तु आएका पर्यटक एकै पटक आउँदा फेरि नआउने गरी फर्कने गरेको अन्तु घुम्न आउनुभएका पर्यटक विराज भण्डारीले बताउनुभयो ।
स्थानीयस्तरमा सञ्चालित होमस्टे, होटेल तथा कटेजले रातभर बाजा (डिजे) चर्को स्वरमा बजाउने, होहल्ला गर्ने, व्यवसाय रातभर बन्द गर्न नमान्ने जस्ता कारण स्थानीय क्षेत्र अशान्त बन्दै गएको छ । राति अबेरसम्म व्यवसाय सञ्चालन गर्दा मदिरा सेवन गरेका व्यक्तिबिच दैनिक जसो झगडा हुने गरेको स्थानीय अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउनुभयो ।
अन्तु क्षेत्र नै कोलाहल हुने गरी बजाइने बाजाले स्थानीय विद्यार्थीलाई अध्ययनमा समेत असर गर्ने गरेको सूर्योदय नगरपालिका–४ को जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक बेनुभक्त खनालले जानकारी दिनुभयो । चर्को स्वरमा बजाइने बजाका कारण वृद्धवृद्धा र बालबालिकालाई समेत असर गर्ने गरेको छ । पर्यटकले रातभर बाजा (डिजे) बजाएर होहल्ला गर्दा पनि स्थानीय व्यवसायीले बन्द गराउँदैनन् । रातभर पर्यटक बस्दा व्यवसाय थप चल्ने भएकाले अरूलाई असर गर्दा पनि व्यवसायी चुपचाप बस्ने गरेका छन् ।
सङ्घको अगुवाइमा यसअघि नै अन्तु क्षेत्रका रात्रीकालीन व्यवसाय राति ११ बजेपछि बन्द गर्ने, बाजा (डिजे) अर्कालाई असर नगर्ने गरी सानो ध्वनिमा बजाउने, पर्यटकको दर्ता तथा परिचय खुल्ने कागजात अनिवार्य राख्ने सहमति भए पनि पालना नभएपछि पछिल्लो समय प्रहरीले अन्तु क्षेत्रमा कडाइ गर्न थालेको छ ।
केही दिनअघि राति अबेरसम्म होहल्ला नरोकिएपछि छिरुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलको नेतृत्वमा खटिएको टोलीले स्थानीय व्यवसायीले बजाउने बाजा (डिजे सिस्टम) बरामद गरी लगेपछि विवाद सतहमा आएको हो । स्थानीय व्यवसायीले प्रहरीले रकम असुल्नका लागि कडाइ गरे जस्तो गरेको, पर्यटकलाई होटेलमै पसेर गाली गरेको आरोप लगाएका छन् ।
यता प्रहरीले भने थामिनसक्नु होहल्ला र शान्तिसुरक्षालाई ध्यानमा राखी राति ११ बजेपछि अटेर गर्ने व्यवसायीलाई सचेत गराएको जनाएको छ । छिरुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलले बरामद भएका सामग्री लिन गएका व्यवसायीलाई चौकीमा कागज गराउने र पाँच हजारका दरले जरिबाना भन्दै स्थानीय व्यवसायीको व्यक्तिगत खातामा रकम जम्मा गराउन लगाउनुभएको छ । त्यसलाई स्वीकार गर्दै उहाँले व्यक्तिगत खातामा रकम जम्मा गर्न लगाउनु आफ्नो कमजोरी भएको बताउनुभयो ।
स्थानीय होटेल व्यवसायी सुजन प्रधानलाई प्रहरीले कुनै रसिदबिनै स्थानीय व्यवसायीको व्यक्तिगत खातामा जरिबाना रकम भन्दै जम्मा गर्न लगाएपछि सूर्योदय होटेल व्यवसायी सङ्घले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको छ ।
सङ्घका अध्यक्ष प्रज्ज्वल प्रधानले प्रहरीले सुरक्षाको नाममा व्यवसायीमाथि ज्यादती गरेको र अवैध रकम असुलीमा लागेको बताउनुभयो । सङ्घले यस्ता कार्य रोक्न माग गर्दै सूर्योदय नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले रकम असुलीका विषयमा कुनै उजुरी वा जानकारी नआएकाले प्रमाणसहित आए कानुन अनुसार कारबाही हुने बताउनुभयो । अन्तु क्षेत्रमा सञ्चालित होमस्टे, होटेल तथा कटेजले कोठा, खानेकुराको दररेट नराख्ने गरेको पाइएको छ । रुम तथा खानेकुराको अनिवार्य दररेट राख्नुपर्ने भए पनि व्यवसायीले मनलाग्दी मूल्य असुल्ने गरेको पाइएको छ ।
टाढाबाट आएका पर्यटकलाई व्यवसायीले कोठा छैन भन्ने र राति अबेर भएपछि जति भने पनि तिर्न बाध्य पार्ने गरेको गुनासो पर्यटकबाट आउने गरेको छ । सञ्चालित होटेलले पर्यटकलाई मनलाग्दी मूल्य तोक्नेदेखि आएका पर्यटकको अभिलेख र परिचयपत्रसमेत नराख्ने गरेको पाइएको छ । जसले गर्दा अन्तु क्षेत्र थप अशान्त बन्नुका साथै पर्यटनमैत्री बन्न सकेको छैन ।
सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले अन्तु पर्यटन क्षेत्रमा पर्यटकबाट धेरै गुनासो आउने गरेको बताउदै अनुगमन तथा निरीक्षण गरी त्यस्ता व्यवसायीलाई कानुनी प्रक्रिया अनुसार कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक हजारौँ पर्यटक आउने ठाउँमा बेथिति हुनु राम्रो होइन । हामी सरोकारवालासँग चाँडै बसेर निकास निकाल्छौँ ।”
छिमेकी देश भारतको सिक्किम, मिरिक, सिलिगुडी, दार्जिलिङ, पश्चिम बङ्गालका पर्यटक र स्वदेशी पर्यटकले अन्तु सधैँ खचाखच हुने गर्छ । अन्तुमा ६४ भन्दा बढी सामुदायिक तथा निजी होमस्टे र सानाठुला गरी ५० भन्दा बढी होटेल तथा कटेज सञ्चालनमा छन् । झुल्केघामको दृश्यावलोकनका लागि पर्यटक अन्तु आउने गरेका छन् ।
गोरखापत्र अनलाइन



