
जंगलमा हराएका शिवान भेटिएपछि घर लगिदै ।
बोमलाल गिरी
नवलपुर, भदौ ४ गते । भदौ २ गते बिहान ७ बजेको समय । न पानी न घाम । मौसम सामान्य थियो । नवलपुरको गैँडाकोट नगरपालिका –१४ की हेमकुमारी आले अरु दिन जस्तै घरभन्दा केहीमाथि रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न जाने निधो गर्नुभयो ।
हसिया र सानो झोला भिरेर उहाँ अघि लाग्नुभयो । साढे दुई वर्षको नाती शिवान तामाङ रुदै आफ्नो पछि लागेको हेमकुमारीलाई पत्तै भएन । घरभन्दा केहीमाथि पुगेपछि नाताले शिवानका हजुरबुवा पर्ने एक जनाले सोध्नुभयो । बाबु कता जान लागेको ? हजुरआमा त अगाडि गइसक्नुभयो ।
शिवान केही नबोली अघि बढे । उनी हजुरआमालाई पच्छ्याउने प्रयासमा अघि बढे । जुन कुरा शिवानकी हजुरआमालाई पत्तै भएन । हजुरआमा जंगल जानुभयो, च्याउ टिप्नुभयो र घर फर्कनुभयो । सायद बाटो फरक परेछ होला, हजुरआमा र नातीको बाटोमा कतै भेट भएन ।
हजुरआमा घर फर्कदा नाती शिवान घरमा थिएनन् । सोधखोज भयो । गाउँभरी हल्ला भयो । गाउँलेले सम्भावित शिवान गएको हुन सक्ने बाटो पच्छ्याउँदै जंगलभरी खोजे । तर कतै भेटेनन् ।
फर्केर इलाका प्रहरी कार्यालय गैँडाकोटलाई खवर गर्दा दिउँसोको २ बजिसकेको थियो । गैँडाकोटले नजिकैको इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोष्ट बेल्डियालाई पनि खबर ग¥यो । शसस्त्र प्रहरी बललाई पनि जानकारी गराइयो ।
यति गर्दा झण्डै ५० जनाको प्रहरी टोली र झण्डै दुईसय जना स्थानीय गरी दुईसय ५० जनाको टोली शिवानलाई खोज्न जान तयार भए । टोलीले टर्च लाइट बालेर राति ८ बजे बजेसम्म खोजतलास ग¥यो । तर कतै पत्ता लागेन । निराश भएर टोली घर फक्र्यो ।
अर्को दिन भदौ ३ गते पनि सोही तालिका अनुसारको खोजतलास जारी रह्यो । दुई सय ५० जनाको टोलीले जंगलको हरेक कुना खोज्यो । अहँ ! शिवान कतै भेटिएनन् ।
भदौ ४ गते पनि अघिल्लो दिनजस्तै ठुलो संख्यामा खोजीका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय गरी साढे दुईसय जनाको टोली परिचालन भए । खोज्न जाने सबैको मनमा एउटै कुरा खेलिरहेको थियो । शास नभए शिवानको लाश भए पनि भेट्न पाए हुन्थ्यो ।
तर खुशीको कुरा यो पटक (भदौ ४ गते बिहान १० बजे) शिवान भेटिए । गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनको भागर खोलाको सिरानको कुनै कोप्चेरोमा रुदै गरेको अवस्थामा । सबै खुशी भए । बच्चासँग अंकमाल गरे ।
शिवानलाई तत्काल भरतपुरको सरकारी अस्पताल लगे । चेक जाँच गरियो । शरीरका विभिन्न भागमा फोका परेको बाहेक उनको स्वास्थ्यमा कुनै समस्या देखिएन । स्वास्थ्य सामान्य छ । ‘‘म भर्खरै शिवानलाई भेटेर आँए । उनी ठिक छन्, स्वास्थ्य अवस्था राम्रो छ । चिन्ता मान्नु पर्ने केही छैन’’ इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षक लक्ष्मण गिरीले भन्नुभयो । शिवान भेटिएपछि परिवारका सदस्यहरु खुसी भएका छन् ।गोरखापत्र अनलाइन



