मूल खबरहेड लाइन

दैनिक पैँतिस हजार सिलिन्डर पठाइँदै

काठमाडौँ उपत्यकामा पठाउन चितवनमा राखिएको सिलिन्डर ।

वसन्त पराजुली
नारायणगढ, भदौ २१ गते । काठमाडौँ उपत्यकामा ग्यास अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाबाट अहिले दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको उद्योगीले बताएका छन् । कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँबाहिरबाटै सिलिन्डर भरेर पठाउन थालिएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितवन, मकवानपुर, बारा, पर्सालगायतका क्षेत्रमा सिलिन्डर भरेर काठमाडौँ पठाउँदै गरेको जानकारी दिनुभयो । “हामीले बिहीबार २४ हजार शुक्रबार ३४ हजार सिलिन्डर काठमाडौँ पठाएका छौँ,” उहाँले भन्नुभयो, “शनिबार पनि ३५ हजार सिलिन्डर काठमाडौँ पुगेको छ ।”

नेपाल आयल निगमले उपत्यकाबाहिर पनि सिलिन्डर भरेर ल्याउने अनुमति दिएपछि बिहीबारबाटै वैकल्पिक मार्गबाट ढुवानी सुरु गरेर सिलिन्डर पठाइएको अध्यक्ष चन्दले बताउनुभयो । काठमाडौँमा खालि भएका सिलिन्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनुपर्ने र त्यहिँ ट्रकमार्फत भरेका सिलिन्डर उपत्यका लैजाने गरिएको उहाँले जानकारी दिनुभयो ।

सङ्घका अनुसार अहिले नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री, साईबाबा ग्यास चितवनमा, जानकी र श्रीराम नवलपुर गैँडाकोटमा, सीताश्री, श्रीमाया, लियो ग्यास बारा र पर्सामा भरेर काठमाडौँ पुर्‍याइन्छ । त्यस्तै हिमाल र सगर ग्यास पर्सा र धनुषामा, एभरेस्ट र सुगम ग्यास हेटौँडामा भरेर पुर्‍याउने गरेको सङ्घले जनाएको छ ।

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेती काठमाडौँको आवश्यकतालाई चितवनवाट पूरा गरिएको बताउनुहुन्छ । “चितवनमा रहेका उद्योगबाट ग्यास भरेर सिलिन्डर काठमाडौँ पठाइएको छ,” उहाँले भन्नुभयो ।

सरकारको समेत लगानी रहेको साल्ट टे«डिङ कर्पोरेसनले पनि अहिले निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’ मा ग्यास ‘बोटलिङ’ गरेर काठमाडौँ पुर्‍याइरहेको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कर्पोरेसनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’ मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेसनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज, बाबा ग्यासका ‘प्लान्ट’ सँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका पुर्‍याएको जनाएको छ । सामान्य अवस्थामा काठमाडौँको ग्यास खपत दैनिक ४० हजार सिलिन्डर हो । अझै पनि माग अनुसार ग्यास काठमाडौँ लैजान सकिने सङ्घका अध्यक्ष चन्दले बताउनुभयो ।

नेपाल आयल निगमले यसरी भरेर लगिएको सिलिन्डरको मूल्य साबिकभन्दा १०५ रुपियाँ ३८ पैसा बढीमा बिक्री गर्न पाउने गरी अनुमति दिएको छ । साबिकमा प्रतिसिलिन्डर दुई हजार ६० रुपियाँ मूल्य रहेकोमा अहिले मूल्य बढेर प्रतिसिलिन्डर दुई हजार १६५ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button