सृजनाको चौतारी

बुढि आमैको व्यथा

कविता

हेर, त्यो बस्ती
कुहिरोभित्र निसासी रहेको बेला
म पनि त त्यहीभित्र
अध्यारो आकृतीसंगै हराइरहेथें ।
अनि,
त्यो न्याउलीको विरही भाकाहरु
घरी–घरी गुन्जिरहेको बेला
मनका अदृश्य घाउहरु
चहराउन थाल्छ ।
केही।
अध्यारो पर्दा हटेका बेला
त्यो असहाय पीडा मुटुभित्र लुकाएर
अलिकति फिका हासो पोखेथे ।
एकरत्ती आशा बटुलेर
आँखाका आँसु पुच्दै
कौसीका डिलमा बसेर
सप्तरंगिन सपनाहरु
हृदयभरी कोरिरहें ।
म, फेरि झस्किएँ
पाँच बर्षभयो एक्लो छोरो घरबाट निस्केको
तर,
बेखबर छ उ
इतिहास कोर्छु भन्दै निस्केको
खै, कहाँ कोर्दै छ इतिहास ?
पत्तो छैन उसको
एउटा नेता जी को पछि लागेपछि
बुढेसकालको एक्लो साहारा छोरा पनि
बेखबर छ।
बटुलेर सजाएको मन
धुजा–धुजा छरपष्ट
भकानिन्छ मुटु
कतै फर्किदैछ कि भनेर
त्यही पारिका गल्लिहरुमा
धमिली सकेका आखाँहरु
टोलाइरहेका बेला
उफ्रदै एउटा केटो आइरहेथ्यो ।
मेरो खुशीका सिमा नै थिएन त्यतिखेर
छोराले इतिहास कोरिसकेछ ।
म खुशीले गदगद भएँ
न्यानो अंगालो हाल्न आतुर थिएँ,
त्यही तोते बोलीका चुम्बनहरु
फेरि तयार रहें
ती ओठहरु
बिगतका पलहरु
जिन्दगीका पहिलो खुशीहरु
फेरि टुसाएछ
म आगनीमा झरें
अंगालोमा बाँध्न
तर, त्यो त।।।१
त्यही पल्लो गाउँका काले पो रहेछ ।
म, बिरक्तिएँ,
मुटु छिया–छिया
छाती जल्यो
आगन खाली नै रह्यो ।
त्यही आडम्बरी आश्वासनमा
बितिरहेथ्यो दिनहरु!
ती,
आस्थाका किरणहरु
तुवालोले छिपिसके
सायद ऊ
शान्तिका युद्धमा इतिहास कोर्दै होला
त्यसैले त बेखबर छ ऊ ।
अनेकौ सोचहरु
सल्बलाइरहेछ मनहरु
जलिरहेछ मुटुहरु
मुटु समाएर बस्दैछु
प्रश्नै प्रश्नभित्र रुमलिए
के, निर्दयी दानवको हातमा कतै परेन?
सडकमा हिड्ने भिखारीलाई के थाहा ?
न त,
गल्लि–गल्लि हिड्ने पागलपनहरुलाई
आकाशका ताराहरुलाई सोधें
अनि, समुद्रका गहिराइलाई
आक्रोसित भूमरीहरुलाई सोधें ।
प्रचण्ड ताप र अग्निकुण्डका रापलाई सोधें
तर,
खै प्रत्युत्तर?
सबै मौनतामा
चुपचाप हेरिरहेछ ।
म भने,
धरतीको पखेरीमा
एक मुठी सास राखेर
सुख्खा मरुभूमीमा छटपटाउँदै
बाँच्न बिवश छु ।
छातीमा भक्कानो सजाएर
अश्रुधारा पीउदै
दिन–प्रतिदिन
त्यही छोरोको यादमा तड्पीरहेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button