सृजनाको चौतारी

गाउँ नियाल्दा

कविता 
मेरो गाउँको मुहार आज कता कति फेरिएछ
केही पुराना बिग्रिएछन केही नयाँपन बेरिएछ
थकाइ लाग्दा बिसाउने चौतारो नि भत्किएछ
साथमा माया मिसाउने पाटी पनि मक्किएछ ।।
बरका हागा काटिएछन पिपल दुःखी भएछ
गोरेटा थिए मासिएछन नयाँ सडक गएछ
प्यास लाग्दा पानी पिउने गैरीधारो हराएछ
डाँडा गाउँमा कार्यलय रातो झन्डा फराएछ ।।
दुःखैदुःख बगिरहने आँशु पनि केही सुकेछन
ढिकीजाँतो भत्किएछन चुलाचौकानि लुकेछन
शिक्षा स्वास्थ्य रोजगारले नयाँ रूप लिएछन
पशुपालन कृषि सबले आम्दानी पो दिएछन ।।
टुकी पानस थन्किएछ बिजुली तार छाएछ
सानो भाइले चलाउने मोबायल नि पाएछ
टेलिभिजन घर घरमा कम्प्युटर ल्याएछन
देश बिदेश बुझे सँगै चङ्ख पनि भएछन ।।
गाँउलेहरू खुशी भइ बिकास पनि छाएछ
बोलीचाली खानपानमा परिवर्तन आएछ
खोला तर्ने फडके पनि झोलुङ्गे पुल भएछ
थोरै भए नि अब मेरो गाउँको दुःख गएछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button