
कविता
मन परेन, छ्या!भन्नू कि
अथवा आँखा चिम्लिनु
जब गएजुज्रेको मनभित्र
खतराको घण्टी बजेजस्तो हुन्छ
तब, मनको तिरस्कृत कुनोबाट
लोकतन्त्र कि लोकतन्त्र भन्दै,
रातारात, सिङपुच्छर पलाइदिने
अनि,
दूधले नुहाएर वेदाग बन्दै
लोकतन्त्रको बलात्कार गर्ने?
छ्या! छ्या!!
अब त, मुख लुकाउन पनि
कामै नलाग्ने
इतिहासको खुइले बर्को खोजेर
लोकतन्त्रको लाज छोप्नुपर्ने
तिम्रो नियति ।
कि नियत?
हैट्, यस्तो खेलको चलखेलमा
लुब्धाङ्कको शत प्रतिशत अङ्क बोकेर
जनताका लागि, जनताबाट र
जनताकै हितको मानमर्दन गर्ने
फगत तिम्रो लोकतन्त्र
कस्तो गज्जपको रहेछ ।
लाज नहुने, शरम नहुने, यानेकी
कुत्सित मनोवाञ्छाले,
सबै पचाएर चाउरी पर्दा समेत
युवा भइरहने अजम्मरी मस्तिष्कलाई
मान्नैपर्ने, निहुरिएर ढोग्नैपर्ने
नमाने देखुन,
तिमीले यतिका दिनसम्म
पालेको तिम्रो त्यो लोकतन्त्र,
चारो हालेर, छारो हालेर
चलाइरहेको लोकतन्त्र बाँच्तैन ठान्छौ
छ्या, मन परेन ।
अचाक्लीको बजारबाट नीति किनेर
चौहदी आफ्नै प्रमाणित गर्ने
तिम्रा बुर्जखलिफाजस्ता अग्ला टावरहरु
अथवा,
परिमार्जित धरहराजस्ता ठाडा लाँक्राहरु
उदाहण बनेर च्वास् च्वास् घोच्ता,
लाग्नै पर्यो, यो तिम्रो गिदीभित्रको
त्यो लोकतन्त्र चाहिँ ,
तिम्रै सङ्कटमोचनको अचुक ओखती रैछ
तर,
छ्या!हज्जारौं सहयात्रीको टाउको दुख्ने
त्यो ओखती, मन परेन।


