स्वास्थ्य

ज्वरोका बिरामी बढ्दा सिटामोल अभाव

न्युज अफ नेपाल
भक्तपुर ।

भक्तपुरमा घरघरमा ज्वरो तथा रुघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको अभाव भएको छ । भक्तपुरमा ज्वरोका बिरामी बढ्दा औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ । माग बढेअनुसार आपूर्ति नहुँदा सिटामोलको अभाव भएको हो । फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा सिटामोलको अभाव भएको पाइएको बताउनुभएको छ । उहाँले सिटामोलको अभाव भएको व्यापक गुनासो आएपछि प्रशासनले यहाँको मुख्य बजार सूर्यविनायक, कमलविनायक, दूधपाटीलगायतका क्षेत्रका २० वटा औषधि पसलको अनुगमन गर्दा सिटामोलको अभाव पाइएको बताउनुभयो ।

प्रजिअ शर्माले भन्नुभयो– ‘गुनासो धेरै आयो, हामीले २० भन्दा बढी औषधि पसलमा अनुगमन ग¥यौँ, सिटामोलको वास्तविक अभाव भएकै पाइयो ।’ उहाँले औषधि व्यवस्था विभागमा यसबारे बुझ्न लगाएको जानकारी दिनुभयो । तर, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भक्तपुर अस्पतालमा भने सिटामोलको अभाव नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो अस्पतालमा सिटामोल छ, अहिले पनि अस्पतालको फार्मेसीमा ४ हजार ५ सय सिटामोल छ, स्टोरमा पनि छ, भक्तपुर अस्पतालले आफ्नो अस्पतालमा आउने बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क सिटामोल दिइरहेको छ ।’

ज्वरोको बिरामी ह्वात्तै बढ्दा बाहिर सिटामोल अभाव भएको हुन सक्ने भन्दै उहाँले भक्तपुर अस्पतालमा दैनिक ७ सयभन्दा बढी बिरामी बहिरङ्ग सेवा लिन आउने गरेको बताउनुभयो । त्यसमध्येमा २ सय ५० भन्दा बढी बिरामी ज्वरो आएकै बिरामी हुने गरेको जानकारी दिँदै उहाँले ज्वरोको बिरामी भने निकै बढेको बताउनुभयो । कोरोना संक्रमित बिरामी पनि थपिँदै जाँदा अस्पतालको शय्या भरिन थालेको छ । अस्पतालमा रहेको ६ शय्याको आईसीयू कोरोनाका बिरामीले भरिएको र आईसीयू नचाहिने कारोनाका बिरामीको चाप पनि बढेको छ ।

सिटामोलको अभाव छैन
यसैबीच हाल बजारमा सिटामोलको अभाव भएको हल्ला चले पनि त्यो यथार्थ नभएको एसोसिएसन अफ फर्मास्युटिकल्स प्रोड्युसर अफ नेपाल (अप्पोन) ले जनाएको छ । एकैचोटि धेरै उत्पादन गर्दा औषधि बिक्री नभएर यसको म्याद सकिने समस्या आउन सक्ने भएकाले एकैचोटि धेरै उत्पादन नगरिएको अप्पोनका महासचिव विप्लव अधिकारीले बताउनुभएको छ । उहाँले आवश्यक परेको खण्डमा १ करोड ट्याबलेट वितरण गर्न सक्ने बताउनुभयो ।

‘कोभिड शुरू भएदेखि सिटामोल अभाव हुन थाले पनि धेरै जनाले घरमा लगेर राखिदिने भएकाले अभाव जस्तो भान भएको हो’, महासचिव अधिकारीले भन्नुभयो– ‘हामीले पुस महिनामा ५० लाख ट्याबलेट वितरण गरेका थियौं, यो हप्तामा ३५ लाख ट्याबलेट आउँदैछ र यो महिनाको अन्त्यसम्ममा फेरि अर्को ३५ लाख ट्याबलेट पनि आउँदैछ ।’
‘आफ्नो फार्मेसीमा सिटामोल नहुँदा समाचार सुनेर सञ्चय गर्ने मनसायले दिनमा कम्तीमा ५०/६० जना सिटामोल किन्न आउँथे’, नर्भिक अस्पताल नजिकैका एक फार्मेसी सञ्चालकले भने– ‘तर आज सिटामोल उपलब्ध भएको दिनमा चाहिँ त्यति ग्राहक नै आएका छैनन् । सायद बजारमा सिटामोल वितरण हुने जानकारीले ढुक्क भएर होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button