काठमाडौ ।नेपालमा कोरोना संक्रमितको संख्या बढेर गएको छ । एक्कासी बढेको संक्रमितको संख्याले नेपालमा फेरि यसले महामारीको रुप त लिदैन भन्ने चासो समेत बढेको छ । प्राप्त पछिल्ला विवरणले यस्तो देखाएको हो ।हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा चासो बढ्नु पुगेको हो ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ३ हजार ८४४ जनाको नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप २६० जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ। २४ घण्टाको अवधिमा ४८ जना संक्रमित संक्रमण मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी १३७ जना काठमाडौं जिल्लाका रहेका मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा २३, बाँकेमा ६, अछाममा ५, कास्कीमा ५, मकवानपुरमा ५, मोरङमा ५ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन्।



