विचार

राजनीतिक अर्थशास्त्र वर्गसङ्घर्षको विज्ञान

– अनुवाद : भेषराज भुसाल

अधिरचना आर्थिक आधारद्वारा निर्धारित हुने गर्दछ । जब यो कायम हुन पुग्छ तब यस आर्थिक आधारमा जबर्जस्ती प्रतिक्रियात्मक प्रभाव पार्दछ। स्टालिनले भन्नुभएको थियो, ‘आर्थिक स्वयम्को स्थापना र सुदृढीकरणको निम्ति तथा पुराना आधार र त्यसको अधिरचनालाई नष्ट गर्नका निम्ति आफ्नो अधिरचना निर्मित गराउँछ ।’८ यसले के बताउँछ भने अधिरचनाले किन सधैँ आफ्नो आधारको सेवा गर्दछ । समाजवादी अधिरचनाले किन सधैँ आफ्नो आधारको सेवा गर्दछ र पुँजीवादी अधिरचनाले आफ्नो पुँजीवादी आर्थिक आधारको सेवा गर्दछ ।

पुँजीवादी समाजमा उत्पादनको सामाजीकरण र उत्पादनका साधनहरूको निजी स्वामित्वबीचका अन्तरविरोध निखारिँदै जाने क्रमसँगसँगै पुँजीवादी निजी स्वामित्वको स्थानमा समाजवादी जनस्वामित्व स्थापित गर्ने आवश्यकता तीव्र हुन पुग्छ । यद्यपि बुर्जुवा वर्गको प्रतिक्रियावादी राज्यसंयन्त्रमाथि नियन्त्रण रहेको हुन्छ र उसले पुँजीवादी आर्थिक आधारलाई बनाइराख्नका निम्ति त्यसको प्रयोग गर्दछ । सर्वहारा वर्गले पहिले पुँजीवादी राज्यसंयन्त्रलाई ध्वस्त गरेन भने त पुँजीवादी आर्थिक व्यवस्थाको नास असम्भव छ । नयाँ तथा पुराना संशोधनवादीहरूको ‘पुँजीवाद शान्तिपूर्ण तरिकाद्वारा विकसित हुँदै समाजवादमा बदलिन सक्छ’ भन्ने दाबी सरासर झूट हो ।

समाजवादी समाजमा अधिरचना र आर्थिक आधार मूलतः एकअर्काका अनुकूल हुन्छन् । यद्यपि बुर्जुवा वर्ग र उसका विचारधारात्मक रूपहरूको उपस्थिति, राज्यका अङ्गहरूमा केही नोकरशाही कार्यशैलीहरू र राज्यव्यवस्थाका केही मागहरूमा विद्यमान कमीकमजोरीहरूका कारण समाजवादी आर्थिक आधारलाई सुदृढीकरण, परिपूर्णता तथा विकासको प्रक्रिया निषेध भयो वा त्यसमा अवरोध खडा गरियो । हामी समाजवादी अधिरचनाले समाजवादी आर्थिक आधारलाई धेरै राम्रोसँग सेवा गर्न सक्ने बनाउनु पर्दछ । हामीले अधिरचनाका क्षेत्रमा सङ्घर्षलाई दृढतापूर्वक गहिरो गरी बुझ्नु पर्दछ र आर्थिक रचनामा समाजवादी क्रान्तिलाई अन्त्यसम्म सञ्चालन गर्नुपर्दछ ।

राजनीतिक अर्थशास्त्रले विभिन्न वर्गहरू वा विभिन्न तह र तप्काहरूको सर्वाधिक व्यावहारिक र तात्कालिक हित र गहन समस्याहरूको व्याख्या गर्दछ । माक्र्सवादी दर्शनले जस्तै राजनीतिक अर्थशास्त्रले पनि सार्वजनिक रूपबाट के घोषणा गर्दछ भने उसले सर्वहारा राजनीतिको सेवा गर्दछ । राजनीतिक अर्थशास्त्र वर्गसङ्घर्षका बारेमा एउटा विज्ञान हो ।

राजनीतिक अर्थशास्त्र पार्टीद्वारा आधारभूत लाइन निर्धारित गर्ने सैद्धान्तिक आधार हो ।

माक्र्सवादी अर्थशास्त्र आधुनिक सर्वहारा वर्ग र ठूला उत्पादक शक्तिहरू अर्थात् उद्योगहरूको स्थापनासँगै अस्तित्वमा आयो । माक्र्सले आफ्नो समयको वर्गसङ्घर्षमा भाग लिनुभयो । उहाँले पुँजीवादी समाजको विश्लेषणका निम्ति क्रान्तिकारी भौतिकवादी द्वन्द्ववादको प्रयोग गर्नुभयो । उहाँले पुँजीपतिद्वारा मजदुर हरूको शोषणको पर्दाफास (भण्डाफोर) गर्नुभयो र उत्पादनको सामाजीकरण तथा पुँजीवादी स्वामित्वबीचका अन्तरविरोधहरूलाई वैज्ञानिक ढङ्गबाट उजागर गर्नुभयो । यी अन्तरविरोधहरू सर्वहारा तथा बुर्जुवा वर्गका बीचमा पेचिला र शत्रुतापूर्ण अन्तरविरोधका रूपमा अगाडि आए । पुँजीवादी सामाजिक अन्तरविरोधहरू दिनप्रतिदिन बढ्दै जानुका साथसाथै पुँजीवादी व्यवस्थाको चिहान खन्नेहरू सर्वहारा वर्ग दिनप्रतिदिन बलियो हुँदै गयो । ‘पुँजीवादी निजी सम्पत्तिको मृत्युको घण्टी बज्नेवाला छ । स्वामित्वहरण गर्नेहरूबाट स्वामित्व खोसिनेछ ।’९ यसबाट यो क्रान्तिकारी र वैज्ञानिक निष्कर्ष निक्लियो– पुँजीवादी व्यवस्थाको स्थानमा समाजवादी व्यवस्था र बुर्जुवा तानाशाहीको स्थानमा सर्वहारा अधिनायकत्व आउनु अपरिहार्य छ । ‘माक्र्स आधुनिक समाजमा आर्थिक गतिको नियमअनुसार यो निष्कर्षमा पुग्नुभयो ।’१० यसप्रकार माक्र्सवादी दर्शन र वैज्ञानिक समाजवादका साथ माक्र्सवादी राजनीतिक अर्थशास्त्र सर्वहारा राजनीतिक पार्टीका निम्ति आफ्नो आधारभूत नीति तयार गर्ने सैद्धान्तिक आधार बन्न पुग्यो । माक्र्सवादको सैद्धान्तिक आधारमा पुँजीवादका परिस्थितिहरूमा सर्वहारा क्रान्तिकारी नेताहरूले सर्वहारा पार्टीका निम्ति राजनीति सत्ता खोस्नका लागि क्रान्तिकारी हिंसाको प्रयोगको आधारभूत राजनीतिक कार्यदिशालाई सूत्रबद्ध गरे । उनीहरूले बुर्जुवा वर्ग तथा सम्पूर्ण शोषक वर्गहरूलाई समूल रूपमा उखेलेर फाल्नु, बुर्जुवा तानाशाहीको स्थानमा सर्वहारा तानाशाही स्थापित गर्न, पुँजीवादमाथि समाजवादको विजय र कम्युनिज्मका निम्ति सङ्घर्षमा सर्वहारा वर्गको मार्गदर्शन गरे ।

समाजवादी समाजमा पनि माक्र्सवादी राजनीतिक अर्थशास्त्रले सर्वहारा पार्टीको आधार भूत कार्यदिशा तय गर्नका निम्ति सैद्धान्तिक आधार उपलब्ध गराउँछ । माओले समाजवादी उत्पादन सम्बन्धहरू र उत्पादक शक्तिहरू तथा अधिरचना र आर्थिक आधारका बीचका अन्तरविरोधहरूको गहिरोसँग विश्लेषण गर्नुभयो र समाजवादको अवधिमा वर्गसङ्घर्ष तथा कार्यदिशाहरूको सङ्घर्षको दीर्घकालीन र त्यसको जटिलतालाई दर्साउनुभयो । यस सैद्धान्तिक आधारमा उहाँले पूर्ण समाजवादी गन्तव्यका लागि हाम्रो पार्टीको आधारभूत कार्यदिशालाई अगाडि बढाउनुभयो । यस आधारभूत कार्यदिशाले हामीलाई बताउँछ– ‘समाजवादी समाज एक धेरै लामो ऐतिहासिक अवधिसम्म रहिरहन्छ । यो पूरै ऐतिहासिक अवधिभरका वर्गअन्तरविरोध र वर्गसङ्घर्ष रहिरहन्छ । समाजवादी मार्ग र पुँजीवादी मार्गका बीचमा सङ्घर्ष रहिरहन्छ र साम्राज्यवाद तथा सामाजिक साम्राज्यवादद्वारा षड्यन्त्र, तोडफोड र हमलाको खतरा रहिरहन्छ । यो अन्तरविरोध सर्वहारा अधिनायकत्वको मातहत निरन्तर क्रान्तिको सिद्धान्तमाथि विश्वास गरेर त्यसको मार्गनिर्देशनमा व्यवहारद्वारा नै हल गर्न सकिन्छ ।’११ पार्टीको आधारभूत कार्यदिशा सर्वहारा अधिनायकत्वको मातहत निरन्तर क्रान्ति जारी राख्न, सर्वहारा अधिनायकत्वलाई सुदृढीकरणका निम्ति सङ्घर्ष गर्न, पुँजीवादी पुनस्र्थापनालाई रोक्न, समाजवादको निर्माण र विश्वभरमा कम्युनिज्म स्थापनाको महान् आदर्शका निम्ति सङ्घर्षमा चिनियाँ जनतालाई मार्गदर्शन गर्दछ ।

समाजवादी राजनीतिक अर्थशास्त्रको आधार भूत कार्यभार समाजवादी उत्पादन सम्बन्धहरूलाई साम्यवादी उत्पादन सम्बन्धहरूमा रूपान्तरणका नियमको अध्ययन र व्याख्या गर्नु हो । राजनीतिक अर्थशास्त्रको केही बुझाइ समाजवादी आर्थिक गतिका वस्तुगत नियम तथा विभिन्न उत्पादन सम्बन्धहरू बन्ने, तिनका विशेषताहरू र विकासको अपरिहार्यतालाई बुझ्न हामीलाई मद्दत गर्नु हो । यसले पार्टीको आधारभूत कार्यदिशाप्रतिको हाम्रो बुझाइलाई बढाउँदैछ र त्यसलाई लागू गर्नका निम्ति हाम्रो सजगताको धरातललाई माथि उठाउँछ ।

पार्टी कार्यदिशामाथि जोड दिनुको आधारभूत महत्व छ । यो एकदम सीधा छ– ‘माक्र्सवाद लागू गर संशोधनवाद होइन ।’ माक्र्सवाद लागू गर्नका निमित्त हामीले पहिले माक्र्सवाद सिक्नु पर्नेछ । संशोधनवादको विरोध गर्नका निमित्त हामीले यो बताउनका निम्ति सक्षम हुनु पर्दछ– संशोधनवाद के हो । यद्यपि माक्र्सवादभित्र दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद पर्दछन् । हामी माक्र्सवाद बुझ्न चाहन्छौँ भने हामीले माक्र्सवादी दर्शन र वैज्ञानिक समाजवादको गम्भीरतापूर्वक अध्ययन गर्नुपर्दछ । यसका साथै हामीले माक्र्सवादी राजनीतिक अर्थशास्त्रको पनि गम्भीरतापूर्वक नै अध्ययन गर्नुपर्दछ ।

माक्र्सवादी राजनीतिक अर्थशास्त्र समस्त बुर्जुवा र संशोधनवादी अर्थशास्त्रका विरुद्ध छ र यो बुर्जुवा र संशोधनवादी राजनीतिक अर्थशास्त्रलाई चुनौती दिने प्रक्रियामा नै विकसित भएको हो । माक्र्सवादी राजनीतिक अर्थशास्त्र सिक्नाले माक्र्सवाद र संशोधनवाद, समाजवाद र पुँजीवाद तथा सर्वहारा वर्ग र बुर्जुवा वर्गका बीचमा फरक छुट्ट्याउन मद्दत मिल्छ । यसले विभिन्नखाले भड्काउतर्फ उम्मुख लक्षणहरूलाई पनि ठीक गर्दछ र हाम्रो विचारधारात्मक जागरुकताको स्तरलाई माथि उठाउँछ ।

संक्षेपमा, हामी पार्टीविरोधी, माक्र्सवादविरोधी चिन्तनमाथि विजय पाउन चाहन्छौँ भने, समाजवादको गन्तव्यमा पार्टीको आधारभूत कार्यदिशालाई धेरै राम्रो ढङ्गबाट लागू गर्न चाहन्छौँ भने लिन पियाओ तथा कार्यशैलीको सुधारलाई अझ गहिरोसँग आलोचना गर्न चाहन्छौँ भने तथा महान् समाजवादी क्रान्ति र समाजवादी उद्यमका क्षेत्रमा नयाँ र ठुला विजय हासिल गर्न चाहन्छौँ भने हामीले केही मात्रामा राजनीतिक अर्थशास्त्रको अध्ययन अनिवार्य गर्नुपर्दछ ।
राजनीतिक अर्थशास्त्रलाई राम्रोसँग बुझ्नका लागि सिद्धान्त र व्यवहारमा मेल गर ।

राजनीतिक अर्थशास्त्र द्वन्द्वात्मक भौतिकवाद तथा ऐतिहासिक भौतिकवादको निरूपण र प्रयोग हो । राजनीतिक अर्थशास्त्र सिक्नका निम्ति हामीले द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको मार्गनिर्देशनमा चल्नुपर्दछ । ‘ द्वन्द्वात्मक पद्धतिले प्रत्येक ऐतिहासिक रूपबाट उन्नत सामाजिक रूपलाई यसको निरन्तर गति र यसको अस्थायी प्रकृतिको आधारमा बुझ्ने गर्दछ । यसले कुनै चीजको पूजा गर्दैन र यसको प्रकृति आलोचनात्मक एवं क्रान्तिकारी छ ।’१२ यो सर्वहारा विश्वदृष्टिकोण आदर्शवाद एवम् अधिभूतवादको प्रत्यक्ष विरोध हो । जब हामीले द्वन्द्वात्मक भौतिकवाद एवम् ऐतिहासिक भौतिकवादलाई राम्रोसँग बुझ्नेछौँ र पुँजीवादी समाज तथा अर्थव्यवस्थामा गतिको नियमलाई प्रेक्षण गर्न र त्यसको विश्लेषणका लागि त्यसको प्रयोग गर्नेछौँ तब हामीले यो बुझ्न सक्नेछौँ– किन पुँजीवादको अन्त्य र समाजवादको विजय सुनिश्चित छ । जब हामीले त्यसको प्रयोग गरेर समाजवादी समाज र अर्थव्यवस्थामा गतिको नियमको प्रेक्षण र विश्लेषण गर्नेछौँ तब हामी समाजवादी समाजमा वर्गसङ्घर्ष र कार्यदिशाहरूको सङ्घर्षको दीर्घकालीनता र जटिलतालाई बुझ्न पाउनेछौँ । तब हामी समाजवादबाट साम्यवादतर्फ विकासको आमविशेषता तथा यस कुरालाई बुझ्न पाउनेछौँ– किन यसलाई मानवीय इच्छाद्वारा रोक्न सकिँदैन । यसले कम्युनिस्ट उद्यमको अन्तिम विजयका निम्ति पूर्ण दृढताका साथ बलिदानी तथा कठिनाइहरूबाट हुने डरबाट मुक्त भएर सङ्घर्ष गर्ने हाम्रो आस्थालाई बलियो बनाउँछ ।

राजनीतिक अर्थशास्त्रको अध्ययनका निम्ति सिक्न क्रान्तिकारी शैलीमा जोड दिनुपर्दछ । जसले सिद्धान्त र व्यवहारमा मेल गराउँछ । अध्यक्ष माओले हामीलाई बताउनुभएको छ, ‘हामीले माक्र्सवादी सिद्धान्तलाई पूर्ण रूपले जान्नुपर्दछ र त्यसलाई लागू गर्नका निमित्त सक्षम हुनुपर्दछ । यसलाई पूर्ण रूपमा जान्नुको उद्देश्य यसलाई लागू गर्नमा निहित छ ।’१३ सिद्धान्त र व्यवहारको मेल गर्नु अनुशासन तथा पार्टीको प्रकृतिको प्रश्न हो । हामीले राजनीतिक अर्थशास्त्रको अध्ययनलाई आधुनिक संशोधनवादको आलोचनाका साथसाथै ल्यु साओ ची, लिन पियाओ तथा त्यस्तै धोकेबाजहरूद्वारा फैलाइएका प्रतिक्रियावादी भ्रामक विचारहरूका साथै वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगका तीन महान् क्रान्तिकारी व्यवहार हरूका साथ र विश्वदृष्टिकोणको रूपान्तरणका साथ जोड्नु पर्दछ । माक्र्सवादी दर्शनले के मान्दछ भने सर्वाधिक महत्वपूर्ण प्रश्न वस्तुगत विश्वका नियमहरूको जानकारीको माध्यमबाट दुनियाँको व्याख्या गर्नका निम्ति योग्य हुनु हो ।१४

के माक्र्सवादी राजनीतिक अर्थशास्त्र सिक्न कठिन छ ? हो पुँजीको पहिलो संस्करणको भूमिकामा माक्र्सले भन्नुभएको थियो, ‘हरेक चीज सुरुमा कठिन हुन्छ । हरेक विज्ञान त्यस्तै हुन्छ ।’ वस्तुगत परिघटनाहरूको ठोस विश्लेषणमा माक्र्सवादी राजनीतिक अर्थशास्त्र गहिराइसम्म पुग्छ, अन्तरवस्तुलाई समात्छ र वैज्ञानिक र वैज्ञानिक अमूर्तनमा पुग्दछ । यसप्रकार जब हामी सुरु गर्दछौँ तब प्रायः हाम्रो सामना त्यस्ता शब्दहरू र अवधारणाहरूसँग पर्दछ जसलाई बुझ्न कठिन हुने गर्दछ । यद्यपि माक्र्सवादी राजनीतिक अर्थशास्त्र सर्वहाराका निम्ति लेखिएको थियो र यसले सर्वहारा क्रान्तिको कुरा गर्दछ । हामीले गम्भीरतापूर्वक यसको अध्ययन गर्यौँ भने त सुस्तसुस्त यसलाई बुझ्न थाल्छौँ । ‘कुनै पनि चीज कठिन हुँदैन, केवल मानिसहरूमा पर्याप्त सङ्कल्प हुँदैन । सुरु गर्न कठिन हुँदैन र उन्नत अध्ययन पनि एकदमै सम्भव छ । मात्र दृढ निश्चय र सिक्ने क्षमता हुनुपर्दछ ।’१५

माक्र्सले एकपल्ट भन्नुभएको थियो, ‘विज्ञानमा कुनै सीधा सपाट बाटो हुँदैन । प्रतिभाको शिखरमा केवल त्यही पुग्न सक्छ जो ठाडो उकालो पहाडको बाटोमा चढ्न डराउँदैन ।’१६ सर्वहारा क्रान्तिकारी नेताहरूले आफ्नो सारा जीवन माक्र्सवादी दर्शनलाई स्थापित र विकसित गर्नमा लगाए । उनीहरूको देविप्यमान उदाहरणहरूको दृढतापूर्वक पढ्दै हामीले यस माक्र्सवादी सैद्धान्तिक अस्त्रको प्रयोगमा महारथ हासिल गर्नका निम्ति समाजवादी क्रान्ति र समाजवाद निर्माणका लागि र विश्वभरमा कम्युनिज्मको स्थापनाका निम्ति सङ्घर्ष गर्नु पर्दछ ।
अध्ययनका निम्ति मुख्य सन्दर्भ :

माक्र्स, ‘राजनीतिक अर्थशास्त्रको आलोचना’ भूमिका एङ्गेल्स, ‘ड्युहरिङ मतखण्डन’ भाग दुई अध्याय एक लेनिन, ‘कार्ल माक्र्स’ (‘माक्र्सका आर्थिक सिद्धान्त’) माओ, ‘अन्तरविरोधका बारेमा’ चौथो भाग माओ, ‘जनताका बीचका अन्तरविरोधहरूलाई सही ढङ्गबाट हल गर्ने बारेमा’

समीक्षात्मक प्रश्न

१) राजनीतिक अर्थशास्त्र किन वर्गसङ्घर्षको विज्ञान हो ?
२) हामीले यो किन भन्दछौँ– माक्र्सवादी राजनीतिक अर्थशास्त्र पार्टीको आधार भूत कार्यदिशाका निम्ति एउटा महत्वपूर्ण सैद्धान्तिक आधार हो ?
३) राजनीतिक अर्थशास्त्रलाई राम्रोसँग कसरी सिक्न सकिन्छ ?

टिप्पणीहरू

१. एङ्गेल्स, ‘कार्ल माक्र्स राजनीतिक अर्थशास्त्रको आलोचना’ माक्र्स–एङ्गेल्सका चुनिएका कृतिहरू, खण्ड दुई चिनियाँ संस्करण १९७२, पृष्ठ १२३
२. ‘व्यवहारका बारेमा’ माओ त्सेतुङका चुनिएका रचनाहरू, खण्ड १ चिनियाँ संस्करण १९६८, पृष्ठ १५९
३. माक्र्स, उजरिँदो श्रम र पुँजी, माक्र्स– एङ्गेल्सका चुनिएका कृतिहरू, खण्ड १, चिनियाँ संस्करण
४. ‘दीर्घकालीन युद्धका बारेमा’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड २ चिनियाँ संस्करण, १९७२ पृष्ठ ३६२
५. ‘इतिहासको आदर्शवादी अवधारणाको दिवालियापन’, माओ त्सेतुङका सङ्कलित रचनाहरू, खण्ड ४, चिनियाँ संस्करण १९६८, पृष्ठ ४३७
६.माक्र्स, ‘राजनीतिक अर्थशास्त्रको आलोचनाको भूमिका’ माक्र्स– एङ्गेल्सका चुनिएका कृतिहरू, खण्ड २, चिनियाँ संस्करण, १९७२ पृष्ठ, ८२१
७. ऐ. पृष्ठ ८३१
८. स्टालिन, ‘माक्र्सवाद र भाषाशास्त्रका समस्याहरू’, चिनियाँ संस्करण १९७१, पृष्ठ ४१
९. माक्र्स, पुँजी खण्ड १ माक्र्स– एङ्गेल्सका सम्पूर्ण कृतिहरू खण्ड २३ पृ. ९३१–८३२
१०. ‘कार्ल माक्र्स’, लेनिनका सङ्कलित रचनाहरू खण्ड २, चिनियाँ संस्करण १९७२, पृष्ठ ५९९
११. ‘चिनियाँ कम्युनिस्ट पार्टीको संविधान’, चिनियाँ कम्युनिस्ट पार्टीको दसौँ काङ्ग्रेसका दस्ताबेज, चिनियाँ संस्करण १९७३, पृ. ४४
१२. माक्र्स, ‘पुँजीको दोस्रो संस्करणको उपसंहार’ माक्र्स– एङ्गेल्सका सम्पूर्ण कृतिहरू खण्ड २३, पृ २४
१३. ‘पार्टीको कार्यशैलीमा सुधार गर’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड ३, चिनियाँ संस्करण १९६८, पृ. ७७३
१४. ‘व्यवहारका बारेमा’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड १, चिनियाँ संस्करण १९६८, पृ. २६८
१५. ‘चिनियाँ क्रान्तिकारी युद्धका रणनीतिक समस्याहरू’ माओ त्सेतुङका सङ्कलित रचनाहरू खण्ड १, चिनियाँ संस्करण १९७८, पृ. १६५
१६. माक्र्स, पुँजीको फ्रान्सेली संस्करणको भूमिका, माक्र्स– एङ्गेल्सका सम्पूर्ण कृतिहरू, खण्ड २३, पृ. २६

२०७६, १७ कार्तिक आईतवार ०७:४७ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button