
लघुकथा
दलमान पक्राउ परेर थुनिएपछि चतुरे काका निक्कै ठुलो धर्म संकटमा परे ।एउटा निर्दाेष छिमेकी थुनिएकोमा ऊ निर्दाेष छ भनेर उकास्नु पर्ने दायित्व काकामाथी आइपर्याे । याे दायित्व पुरा गर्न काका शहर जाने निर्णयमा पुगे ।
जान त जाने तर खर्च कसरी जुटाउने ? गतबर्ष मकै र धान बाली बाँदरले सखाप पारे । अलिकति दूध बेचेर पैसा आउँथ्यो त्यो पनि यसपाली लम्पी कि लम्की राेगले गाईहरू मरेर टुट्यो । काकाले घरमा यसाे नियाले,पाेहाेर साल उत्पादन भएको लसुन भने निक्कै रहेछ त्यही बेचेर काका शहरतिर लागे ।
उनी बाटोमा शहर गएर आफुले जिताएर पठाएका नेता र आफ्नो समर्थनकाे पार्टीका अरू नेताको सहयोगमा दलमानलाई न्याय दिलाउने साेच्दै थिए तर यथार्थ उल्टो भयो । कतिपय उनले साेचेका मान्छेसँग उनले भेट गर्न नै सकेनन् भने कतिपय भेट भएकाहरूले खै किन हाे कुन्नि उनको कुरालाई हल्का उडाइदिए । जजसले उनलाई आश्वासन दिए त्यो पनि फाेस्राे साबित भयो ।
चतुरे काकाले दलमान वास्तवमा निर्दाेष रहेको र दाेषी ब्यक्ति पर्दा पछाडि रहेको कुरा आफ्नो बलबुताले भ्याएसम्म उजागर गर्न त खाेजे तर उनको केही लागेन । आखिर तितो मन लिएर उनी घर फर्कन बाध्य भए ।
यता दलमानकि आमा घर खानतलासी भए देखि केही बिक्षिप्त भएर बिरामी परेकी र दिनदिनै गल्दै गएकी,उसकी श्रीमती आमाको उपचार र छाेराछाेरीकाे पालनपोषणमा एक्लै संघर्ष गरिरहेकी,उता आफुले साेचेका ठाउँबाट केही पनि हुन नसकेको लाचार मनस्थितिबाट थकित चतुरे काका गाउँलेलाई भन्दै थिए – साथी हाे हामीले ब्यवस्था परिवर्तन त गर्याै तर अवस्था परिवर्तन भएन , के गर्ने ?
हामीले दलमान निर्दाेष छ जसरी पनि छुटाउनु पर्छ । उसको आमाले बाँच्न पाउनुपर्छ । उसका श्रीमती र छाेराछाेरी लाई यो दुःखको भुमरीबाट जसरी पनि मुक्ति दिलाउनुपर्छ । तर कसरी ? अहिलेसम्म काकाका यी प्रश्नहरूकाे उत्तर कसैबाट पनि आएको छैन ।



