मूल खबर

जटामसीको निर्यात अन्योल

चाँदनी हमाल
काठमाडौँ । नेपालको बहुमूल्य जडीबुटी जटामसी सङ्कलनसँगै विदेश निर्यात रोकिएको छ। अधिकार प्रत्यायोजनको विवादका कारण गत वर्षदेखि जटामसी सङ्कलन र निर्यात भएको छैन। यससँगै नेपालले पाउने विदेशी मुद्रा गुमेको छ।

विश्वको कुल मागमध्ये ९५ प्रतिशत नेपालबाट मात्र आपूर्ति हुँदै आएको थियो। सरकारको निर्णय अनुसार विगतमा वन तथा भूसंरक्षण विभागमार्फत यसको निर्यात तथा सङ्कलनका लागि नियमन हुन्थ्यो। त्यसमा जेनेभास्थित साइटिसको मुख्यालयले कोटा निर्धारण गरेपछि सरकारले सोही कोटाका आधारमा सङ्कलनका लागि व्यापारीलाई आह्वान गर्ने कानुनी व्यवस्था छ। तोकिएको मापदण्डमा रहेर व्यापारीले प्रस्ताव गर्नु पर्छ।

वन तथा भूसंरक्षण विभागका निर्देशक दीपक ज्ञवालीका अनुसार जटामसीको सग्लो निर्यात प्रतिबन्धित छ। जटामसीबाट निकालिएको तेल र मार्क अर्थात् छोक्रा विदेश निर्यात हुने गर्छ। साइटिसले तोकेको कोटाको २० प्रतिशत घरायसी प्रयोगका लागि भनेर छुट्याउँदै सङ्कलनमा रोक लगाइएको छ।

विभागका अनुसार जटामसी साइटिसमा लोपोन्मुख वनस्पतिको प्रजातिमा सूचीकृत जडीबुटी हो। त्यसैले साइटिसकै नियमन र अनुगमनमा यसको विश्वव्यापी आयात निर्यात हुने गर्छ। अझ विभिन्न देशले माग गरे अनुसारको मात्रा नेपालले तय गर्न नसक्दा युरोपेली मुलुकमा यसको प्रत्यक्ष व्यापार भएको छैन।

विभागका महानिर्देशक शिकुमार वाग्लेले साइटिसले नेपाललाई हरेक वर्ष ३८२.७ मेट्रिक टन कोटा दिने गरेको बताउनु भयो। त्यो कोटा अनुसार पनि सङ्कलन र निर्यात हुन सकेको छैन। उहाँले भन्नुभयो, “कोटाको करिब एक तिहाइ अर्थात् एक सय मेट्रिक टन हाराहारीको जटामसी सङ्कलन हुने गरेको छ। त्यसका लागि विदेश पठाउने व्यापारीले प्रतिकिलो ७५ रुपियाँ राजस्व तिर्छन्। जस अनुसार एक सय मेट्रिक टनबाट प्रतिवर्ष झन्डै सात करोड ५० लाख रुपियाँ बराबरको आम्दानी सरकारले गर्ने गरेको छ।”

सङ्कलनपछि पठाउने अधिकार भने व्यापारीमा सीमित हुन्छ। जसले जति सक्यो बढी मूल्यमा बेच्न विदेशी कम्पनीसँग मोलतोल गर्न सक्छ। सरकारले मापदण्ड अनुसार सङ्कलित जटामसीलाई प्रामाणिकता उपलब्ध गराउँछ। तेल बनाएर बेच्दा त्यसबापत बुझाउने र बाहिर पठाउँदा लिइने राजस्व पनि सरकारको आम्दानी हो।

सङ्कलन अन्योल

जटामसी सङ्कलन स्थानीय निकायको अधिकार क्षेत्रमा पर्ने भएकाले अधिकार प्रत्यायोजनको माग गर्दै २०७९ भदौ १० गते सर्वोच्च अदालतमा मुद्दा परेको थियो। सोही वर्ष पुस २४ गते सर्वोच्च अदालतले स्थानीय निकायको हक अधिकारको सुनिश्चितता गर्ने गरी सङ्कलन र निर्यातको अधिकार जिल्ला वन कार्यालयलाई दिने व्यवस्था गर्नू भन्ने आदेशसहितको फैसला ग¥यो तर सो आदेशको कार्यान्वयन भएको छैन।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले सर्वोच्चको आदेश पालना गर्दै अधिकार प्रत्यायोजनको सिफारिस गर्न मन्त्रालयमा प्रस्ताव पठाएको बताउनुभयो। उहाँले भन्नुभयो, “ताकिता गरिरहेका छौँ, मन्त्रालयले निर्णय गरेर पठाउना साथ सम्बन्धित जिल्लामा पत्राचार गर्छौं।”

भदौको अन्तिमसम्म सङ्कलनका लागि आह्वान भए पनि असोजदेखि मङ्सिरसम्म सङ्कलनको समय रहेकाले पनि त्यो सम्भावना छ। वाग्लेका अनुसार जिल्लामा जाने अधिकारमा जटामसी सङ्कलन र देशभित्रको ओसारपसारको पुर्जी छुटाउने अधिकार रहने छ। विदेश निर्यातको समन्वय गर्ने र कोटाको वितरण गर्ने अधिकार विभागमै रहने छ।

सङ्कलनकर्ता तथा व्यापारी नीलहरि काफ्लेले सङ्कलन र निर्यात गर्न अघिल्लो वर्ष नपाइएको भन्दै यस वर्ष पनि पाइने हो कि नपाइने भन्ने दुविधा रहेको बताउनुभयो। निर्यातका लागि भुक्तानीको पनि सर्त छ– जुन देशले खरिद गर्ने हो, त्यसको शतप्रतिशत रकम नेपाल भित्रिएपछि मात्र विभागले स्वीकृति दिन्छ। व्यापारीका अनुसार नेपालको अधिकांश जटामसी भारत हुँदै बिदेसिने गर्छ। सिधा सम्पर्क हुनेले अमेरिका, चीनलगायतका देशमा पठाउने गर्छन्।

नेपालको जडीबुटी उत्पादक सङ्घसहितका सङ्कलक व्यापारीले फैसला कार्यान्वयनको मागसहित फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएको विभागका निर्देशक काफ्लेले जानकारी दिनुभयो।

के हो जटामसी

वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ठ वैज्ञानिक रघुराम पराजुलीका अनुसार जटामसी बाह्रमासे झार प्रजातिको बिरुवा हो। ग्रान्डिफ्लोरा वैज्ञानिक नामले चिनिने यो सुगन्धित जडीबुटीमा गुलाबी, प्याजी र सेतो रङका फूल झुप्प भएर फुल्छन्। जटामसी नेपालको पूर्वदेखि पश्चिम समुद्री सतहबाट तीन हजार दुई सयदेखि पाँच हजार मिटरसम्मको उचाइमा पाइने बहुवर्षीय जडीबुटी हो। सरकारले वनस्पति अनुसन्धानका लागि तय गरिएको १३ जडीबुटी र नेपालको आर्थिक विकासमा सघाउने ३३ वनस्पति दुवैभित्र यो पर्छ।

भारतको सिक्किम र उत्तराखण्ड तथा भुटान र चीनको दक्षिण पश्चिमी भागमा समेत यो वनस्पति पाइन्छ। नेपालमा यो तल्लो हिमाली क्षेत्र तथा लेक हुने गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भेगका जुम्ला, हुम्ला, दैलेख, मुगु र डोल्पालगायतका जिल्लामा पाइन्छ। सबैभन्दा बढी हुम्लामा पाइन्छ।

गुणस्तरीय जटामसी सङ्कलन गर्दा परिपक्व बोटको माटोमुनि रहेको मोटो गाना सङ्कलन गरिन्छ। गानाबाट बन्ने सुगन्धित तेलमा उच्च कोटीको औषधीय गुण हुन्छ, जुन मुटु रोग, श्वासप्रश्वास, पेट, रक्तअल्पता, पिसाब, हृदयरोगसम्बन्धी उपचारमा प्रयोग हुन्छ। स्थानीयले यसलाई भुत्ले झार भनेर आयुर्वेदिक उपयोग गर्छन्।

त्यसै गरी विदेशमा औषधीसँगै सौन्दर्य प्रसाधन, अत्तर, कपालमा लगाउने तेलका रूपमा जटामसीको उच्च माग छ। “अहिले कच्चा पदार्थका रूपमा रुपियाँमा गइरहेको छ,” पराजुलीले भन्नुभयो, “स्वदेशमै उत्पादन सामग्रीका रूपमा बजारमा लैजान सक्यौँ भने डलरमा विदेशी मुद्रा आर्जन गर्न सकिने प्रशस्त सम्भावना छ तर त्यसका लागि संरक्षण, खेती, प्रशोधन र उत्पादन गर्ने दिगो योजना आवश्यक छ।”गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button