
अर्जुन सी
सर्वाङ्ग भएर पुगेन अझै नाङ्गिने रहर छ,
पत्र पत्रमा उदाङ्गो हुँदै,
लाज लुकाउने अङ्गहरु
सडकभरि असरल्ल बिस्कुन जस्तै फिंजाएर,
चोक र गल्लीहरुमा
होटेल र रेष्टुराँमा
छताछुल्ल उन्मत्त बैंसहरु,
बलात्कारको परिभाषा भित्र कैद हुन्छ कि हुँदैन रु
प्रश्न अनुत्तरित छ ।
नारी अश्मिता माथि नारी स्वंयले
किन धावा बोल्दैछन ?
प्रश्न गर्ने सामर्थ्य किन राख्दैन ?
अत्तरको बासनामा लोभिएका छन् रहरहरु,
ह्विस्की को चुस्कीमा प्रेमलाप घोलिए पछि,
खिल र ठेलाले कटमरिएका हातहरु,
फाटेका कुर्कुच्चा र ठन्डी को ठिहीले कलेटी परेका ओठहरुमा
न माया भेटिन्छ,
नत प्रेमभावले सुम्सुम्याईन्छ ।
बिदेशी हावा झ्यालको खिड्की बाट सुटुक्क छिरे पछि,
मुलढोका को के दोष ?
दोष उसैको हो,
सदाचारको ।
दोष उसैको थियो,
सद्गुणी र संकल्पितको ।
दोष उसैको आत्मसम्मान र स्वाभिमान को ।।

