
जी एन शर्मा
लघु कथा
बाबु रिठ्ठे सन्चोसुबिस्तै होलास् । यता पनि निको भलोनै छ । खास खबर त केही पनि थिएन तर बेलाबेलाँ बाउ देशको खबर के कस्तो छ भनेर लिफापत्र लेख्नु है भन्थिस सो मुताबिक यो पत्र लेखाउँदै छु । उ बेलामा आफुले नपढेका कारण अहिले सास्ती खेप्नु परेकोछ । आज पनि यो लिफापत्र लेखाउन साइँला मुखियाका घरमा आएकोछु । अँ, बाबु रिठ्ठे सात समुन्द्र पारि भए पनि तँलाई आनन्दनै होला । मैले नपढेर सास्ती खेपेँतैले पढेर कष्ट भोग्न लेख्यारछ । तैँले पठाको दामले नुनतेल चलेकैछ । शाहुमहाजनको कचकच पनि अहिले सुन्न परेकोछैन । तर, देशमा भाको नाटक भनि साध्यछैन है बाबु । को कति बेला कुन ओदामा पुग्ने हो पुग्नेलाई पनि थाहा नहुने भाको छ । सुख,शान्ति र समृद्धिको लहरनै चलेकोछ ।अब पानी जहाज र रेल चल्न बाँकी छ । ए, गैरी खेतको धान काट्न पनि बाँकीनै छ ।
सरकारले गरेको गर्यै छ , कसलाई के दिने कसलाई के दिन राम्रो तारतम्य मिलाएर गरेको कुरा रेडियोले भनेको भन्यै छ , म मिलाएर सुन्दैछु । तँ यता हुँदा तँलाई मैले र तेरी आमाले कति संझाउँदा पनि मान्दैनथिस् नि , यो पार्टी कुमेटी गर्न न हिड्न बाबै भन्दा राम्रो भन्दा हाम्रो अझ हाम्रो भन्दा भरको भरको पनि भन्दा घरकाको चानस पल्टेको छ भन्छन् अहिले । तोरीको सिजन सकिएर होला बाबै अहिले माहुरी पटक्कै देखिदैन सबैतिर अरिङ्गालनै अरिङ्गाल घुमिरहेकाछन् । अलिकति पाखाभित्ता तिर कोही झुक्केर पुग्यो भने अरिङ्गालले डस्लान् भन्ने पिरलो छ बाबु रिठ्ठे । गाउँघर तिर सबै राम्रो छ , माने कान्छाको छोरो पनि आजित भएर कतार भासियो , सन्तेको सानो छोरो पनि चेन्नई न कता गयो भनेर तेरी आमाले भन्थी गाउँमा बिकास आको आयै छ , बिकास धेर भएर होकी क्याहो गाउँका तन्नेरी सबै मुग्लान भासिएका होलान् ।
कुमेटी गर्न कुद्दा तँ त के के न आउला भन्थिसनि , आयो सरकार आयो , सरकारले भ्याइनभ्याई काम गरेको कुरो रेडियो भन्छ । गाउँमा कुरो बुझ्दा भाषणमा आको जस्तो बुझेकोछु । हाम्रो गाउँको बाटो अलि अफ्ठयारो भएर होला बिकास, समृद्धि आउन बेर भएको भन्ने लागेकोछ। सुन्दैछ धेरै जनाले जागीर पाकाछन् रे तर ठूलाबडाले चिनेका हरुले त्यो पनि राम्रो हो । बाबु रिठ्ठे समृद्ध नेपाल र सुखी हामी मानेमतलब नेपालीको नारा पनि साकार हुन्छ भन्ने सुनेकोछु । भडारभित्रका जतिले पनि तनखा पाईने जागीरमा भर्ती भएर काम पाए भने त्यो पनि भलोनै मान्नु पर्छ । माथ्लाघरे अन्तरेले चैँ अलिक मन दुखाए जस्तो चर पाएकोछु । हुनेलाई जाँईताँही नहुनेलाई काँइनकाँई भनेर सुकबिरको चिया दोकानमा भन्दैथ्यो रे । अन्तरे पनि पाटीकुमेटी गर्न खटालु मान्छे थियो , डबल एमए भन्थे त्यसको डबलले पनि हावा खाए जस्तो छ । ठूला मान्छेको भडारको परेनछ क्यारे बिचरा अहिले मरिच चाउरे जस्तै भाका देख्छु । मैले त तँलाई उ बेलानै कहेको थिएँ नि, दुखियाको कोही पनि हुन्न भनेर खुब कुमेटी भनेर एकजुनी जति कुदीस निदानसेखमा त्यो के नेताको लाइनमा नपरेकाले शाहुकाढेर मुग्लान भासिनु प¥यो बरु त्यता कुद्ने समयमा पहिलानै बिदेश गाको भए अहिले सम्म नुनतेलको जोकाड भएर टिनको छानाको घरमा खुट्टा हल्लाएर बस्न हुने थियो । जे भयो भयो बाबु रिठ्ठे ढाँटको निम्तो खाई पत्याउनु भन्थे बुढापाका थाहा भयो ।
अब तँ सँग धेर गन्गानाउनु पनि किन जे हुनु भयो । कोही तेरा ईष्ट यता आउने भए भने चारजवाला एउटा टस बत्ति पठाउनु । उताकै पैसा र टस बत्ति बालेर भए पनि गाउँ उज्यालो त बनाउनुनै प¥यो नि । अब राजधानीले त हाम्रो गाउँको नाम सुनेको छ छैन त्यो समृद्धि पनि कस्तो छ ? फुर्ती भए त अलि चाडो आउने थ्यो क्यारे अब अल्छी प¥यो भने म बुढाका पाला सम्ममा आउने हो कि होइन मैले हेर्न र भोग्न भ्याँइन भने तैँलेचै हेर्नु है कस्तो हुदोरहेछ । लत अब पत्र लेख्ने भाईको पनि हात गले होलान् । जमाना मोबिलको भन्छन् म बुढालाई यो लिफापत्रनै पक्को लाग्छ । खै त्यो फेसबुक पनि खेल्छन् भन्ने सुनेको छु । त्यो फेसबुकमा ढाँट्छन् पनि भन्छन् हाम्रा नेताको भाषण त्यसमा सरे छ कि जस्तो लाग्छ जे होस् तँलाई राम्रो होस् उताबाट पनि पत्र लेख्नु आमा पनि पिर मान्देथि कस्तो होला भनेर यो पत्र पाउनसाथ त्यताको खबर रिठ्ठो नबिराई लेखि पठाउनु ।
उही तेरो बाउ, सुखीप्रसाद समृद्धि

