

एस पी लुईटेल
कविता
शासन र शासकको परम्परा नियाल्दा
प्रगति र समृद्धिका ठोस सपना देखाइएका
सिटिजन, मिडल सिटिजन र सिनियर सिटिजनका
हार्दिक कुरा सुन्दा
त्यो शासनदेखि यो शासनसम्म,
त्यो शासकदेखि यो शासकसम्म
गम खाएर हेर्दा,
भ्रष्टाचार एक आम बात छ
जो चलेकै छ
नीतिमा, भावनामा, जातमा, रङमा, लिङ्गमा
अनि अर्थमा, स्रोतमा, शासनमा र राजनीतिमा
परम्परागत अक्कलदारहरुको कुटिल कुटाई
तत्रयत्र अथवा यत्रतत्र सर्वत्र
कर्कट रोगझैँ जिउँका तिउँ छ ।
कथिएका सिटिजनलाई निर्विवाद रुपमा
भित्तेघडीको पेन्डुलमजस्तो घरी यताको घरी उताको
विवादित सीमानाकामा जोडेर
तिनको मगज एकातिर सड्काउँदै र
राष्ट्रवादीको अग्घोर नमुना खडा गर्दै
शासन चलेकै छ, शासक मुस्कुराएकै छ
तर,
लोकका निमित्त आएका यी दिनहरु
दिनप्रतिदिन हेर्दै जाँदा
सत्ताका लालसीको मन्त्रमुग्ध वन्दनाहरु
पदचाप, ध्वनि, आकाङ्क्षा र उन्मादता
अनि तृष्णातुर भेद केलाउँदा
यस्तै लाग्छ, मानौँ
मरुभूमिको महँगो पानीझैँ
सिटिजनका दिनचर्याहरु भास्सिँने छन,
दलदलमा,
समाजिक सम्पर्क बिथोलिने छ
जनजनमा,
बाक् बस्ने छन,
मतदाताहरुको, र
चेतना लुण्ठिने छन्,
आलोचनात्मक चेतहरुको
र, सुलभ सोचिएका आगामी दिनहरु
अस्तप्रायस् मुद्रामा श्रापित हुनेछन्
अनि, ऐनका केस्राहरु केलाउँदा केलाउँदै
सहजताको अफ्ट्यारो दुलोबाट
उदय हुनेछ कुरुप नायकको
जो मेरो हुँदैन, तिम्रो हुँदैन र
सिटिजनको पनि हुँदैन
बरु, ऊ केवल उसकै मात्र हुनेछ ।


