सृजनाको चौतारी

आफैँसँग हार्नेहरू !

– वीरेन्द्र शाह

हामीलाई थाहा छ
जब पर्छ आफैँसँग लडाइँ
युद्धभन्दा कम्ता छैन त्यो लडाइँ
असाध्यै चुनौतीपूर्ण छ
आफैँसँगको लडाइँ
त्यसैले त
आफ्ना सबै खराबीहरू
पुराना प्रवृत्ति र कुसंस्कारहरू
आफूभित्र हुर्किंदै गएको
भयङ्कर निराशा, पलायन र विचलन
यी सबैबाट विक्षिप्त भएकाहरू
आफ्नो मन र दिमागसँग हार्नेहरू
विचलित र विरक्त छन्
आफैँसँग हार्नेहरू !
आफैँसँग हारेकाहरूले
राजनीतिमा पनि हारे
कठपुतली, प्यादा र दास बने
आत्मसमर्पण, गद्दारी, धोखाधडी गरे
वर्गवैरी र वर्गदुस्मन बने
संसद्, सदन, सरकार र
महल–मदिरा–महफिल–मासुसँग मोज गरे !
आफैँसँग हार्नेहरूले प्रेममा पनि
घात, प्रतिघात र विश्वासघात गरे
निःसर्त जोडिएको पिरती
ससर्त माग र अडानसहित चुँडाले
व्यर्थको समय व्यतित गरे
कथित दुईटा ज्यान एउटै मुटुका नाममा
आफैँसँग हार्नेहरूले व्यक्तिगत जीवनमा
मन, मस्तिष्कसँग हारे
लडे–पडे तर उठ्ने साहस गरेनन्
आत्महत्या गर्ने पुगे
जीवनको नै अन्तिम टुङ्गो लगाइदिए !
आफैँसँग जित्नेहरू
आफ्नो मन र मस्तिष्कमाथि काबु राख्नेहरू
आफ्ना सबै खराबीको सामना गर्नेहरू
युद्धमोर्चामा लडिरहे, डटिरहे
गर्विलो सहादत प्राप्त गरे
राजनीतिमा सदैव
निष्कलङ्क, आदर्श र सिद्धान्तनिष्ठ बनिरहे
वर्गप्रेममा
एक–अर्काको बाटो र
गन्तव्यलाई आत्मसात गरे
निःसर्त सहकार्य र सहयात्रा गरे
व्यक्तिगत जीवनमा
लडे–पडे अनि उठे
जीवनलाई नै सङ्घर्षको
मोर्चा र मैदान बनाइदिए !
त्यसैले त
जित्नुपर्ने पहिलो लडाइँ
आफैँसँगको हो
र जित्नैपर्छ !

२०७६, ५ माघ आईतवार १३:२५ ई-रातो खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button