कला

‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको मुल्य कति ?

फिल्मीखबर, काठमाण्डौ
नेपालमा विदेशी फिल्मको कथा चोरेर थुप्रै फिल्म बनेका छन् । मौलिकभन्दा आयातित कथा बेच्न खोज्ने फिल्मकर्मीको यहाँ ठूलो भीड छ । नेपाली फिल्मप्रति दर्शकको विश्वास गुम्नुको पनि यो ठूलो कारण हो । आफ्नो दिमाग खियाउनुभन्दा अरुको सृजना नक्कल गरेर फिल्म बनाउन नेपाली फिल्मकर्मी जति माहिर अरु छैनन् । अझ भनौं, दर्शकलाई मुर्गा बनाउन खुब सिपालु छन् ।

तर, आजका दर्शक फिल्मकर्मीभन्दा पनि बाठा भैसकेका छन् । विदेशी फिल्मको कथा हुबहु उतारेर बनाइएको फिल्म बेच्न अब असम्भव छ । इन्टरनेटको दुनियाँमा नेपाली दर्शकले विश्वमा बनेका कुनै फिल्म हेर्न छुटाएका छैनन् । ट्रेलरबाटै कुन विदेशी फिल्मको कथा उडाइएको हो भन्ने कुरा दर्शकले पत्तो पाउँछन् । त्यसैले अहिले फिल्मकर्मीको चोर बुद्धिले काम गर्न छाडेको छ ।

नेपाली फिल्मकर्मीलाई विदेशी फिल्मको कथा चोरी गर्ने गरेको आरोप किन पनि लाग्ने गरेको छ भने उनीहरु नेपाली भर्सनको अधिकार नै नलिइ गैर कानुनी रुपमा फिल्म निर्माण गर्छन् । नेपालमा विदेशी फिल्मको कथा हुबहु उतारेर थुप्रै फिल्म बनेका छन् तर एउटा पनि आधिकारिक रुपमा राइट्स लिएर बनेका होइनन् । त्यसैले दर्शकले ती फिल्मलाई ‘चोरी’ को नाम दिए ।

बलिउडमा भने पछिल्लो समय साउथ फिल्मको राइट्स लिएर बाक्लै हिन्दी भर्सन बनिरहेका छन् । विशेषगरि साउथमा सुपरहिट भएका फिल्मको हिन्दी भर्सन बन्ने गरेका छन् । पछिल्लो उदाहरण हो, अभिनेता शाहिद कपूर स्टारर फिल्म ‘कबीर सिंह’ । यो साउथ फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । यसको ओरिजिनल र रिमेक भर्सन दुवैले बक्सअफिसमा कमालको व्यापार गरे ।

बलिउडमा साउथ फिल्मको हिन्दी रिमेकको अधिकार खरिद गरेर फिल्म निर्माण हुने क्रम बढिरहँदा अब नेपालमा पनि यसको सुरुवात भएको छ । वर्षौदेखि नेपाली फिल्मले विदेशी फिल्मको कथा चोरीको आरोप खेपिरहेको अवस्थामा साउथको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्दैछन् । यसका लागि युवा फिल्मस्ले नेपाली रिमेक अधिकार किनेको हो ।

केही दिन अगाडि ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्मस्को तर्फबाट केशव खड्काले अमेरिकामा अधिकार खरिद विक्रीको संझौता गरेका हुन् । यो फिल्मको नेपाली भर्सनको यसै वर्ष औपचारिक रुपमा घोषणा गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा अहिलेसम्म निर्देशक र कलाकारहरु कोही फाइनल भएका छैनन् ।

युवा फिल्मस्भन्दा अगाडि ‘कृ’ निर्माता सुवास गिरी अभिनेता प्रदीप खड्कालाई लिएर ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन ‘भैरवी’ बनाउन कस्सिएका थिए । स्क्रिप्ट पनि तयार भैसकेको थियो । फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह हुने चर्चा थियो । तर, ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनभन्दा अगाडि हिन्दी भर्सन निर्माण र प्रदर्शन हुने भएपछि निर्माता गिरीले जोखिम मोल्न चाहेनन् ।

उनले यो फिल्मको नेपाली भर्सन बनाएको भए फिल्म ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटाले निर्देशन गर्ने थिए । किनकि, ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको अधिकार उनीसँग थियो । यो फिल्मका निर्माता प्रणय रेड्डी र निर्देशक सापकोटा अमेरिका बस्दा एउटै कलेजमा पढेका हुन्। र, प्रणयले उनीभन्दा बाहेक अरुलाई फिल्मको नेपाली राइट्स नबेच्ने वचन दिएका थिए ।

युवा फिल्मस्ले ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको अधिकार प्राप्त गर्नुमा निर्देशक विशालको ठूलो भूमिका छ । उनकै आग्रहमा ओरिजिनल फिल्मका निर्माता प्रणय रेड्डीले युवा फिल्मस्का केशव खड्कालाई नेपाल भर्सनको अधिकार दिएका हुन् । केही समय अगाडि यो फिल्मको नेपाली भर्सन बन्न लागेको र युवा ज्योतिष हरिहर अधिकारीले अभिनय गर्न लागेको चर्चा पनि चलेको थियो ।

‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको मुल्य कति ?

‘अर्जुन रेड्डी’ का निर्देशक हुन्, सन्दिप रेड्डी । यो फिल्मको हिन्दी भर्सनको निर्देशन र निर्माण पनि उनैले गरेका हुन् । यसकारण, फिल्मको हिन्दी भर्सनका लागि राइट्स लिनु परेको थिएन । तर, यो फिल्मको नेपाली भर्सनका लागि भने युवा फिल्मस्ले मोटो रकम तिरेको छ । यसअघि निर्माता सुवास गिरीको फिल्मको नेपाली रिमेकका लागि भारु १० लाख तिर्न राजी भएका थिए ।

युवा फिल्मस्ले पनि भारु १० लाख अर्थात् नेपाली १६ लाखमा ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनको अधिकार किनेको हो । तर, निर्माण टिमले फिल्मको नेपाली भर्सनको राइट्स कतिमा लिइएको भन्ने खुलाएको छैन । ‘अर्जुन रेड्डी’ को हिन्दी भर्सन ‘कबीर सिंह’ ले नेपालमा समेत धमाकेदार कमाई गरेको थियो । यरकारण, यसको नेपाली भर्सन हेर्न दर्शक हल पुग्नेमा धेरैको शंका छ ।

अभिनेता र निर्देशकमा कसको सम्भावना ?

‘अर्जुन रेड्डी’ को नेपाली भर्सनका लागि कलाकार र निर्देशकको टुंगो लागेको छैन । बुझिएअनुसार, फिल्मको निर्देशन विशाल सापकोटाले नै गर्नेछन् । तर, उनले फिल्मको निर्देशन गर्ने सहमति नभएको बताए । उनले भने, ‘युवा फिल्मस्लाई फिल्मको नेपाली भर्सनको अधिकार मिलाउन मध्यस्थकर्ताको भूमिका निर्वाहा गरेको चाहिँ हुँ । तर, मैले निर्देशन गर्ने सर्तमा चाहिँ होइन ।’

उनी ‘सेल्फी किङ’ प्रदर्शनमा नआएसम्म आफू अरु फिल्ममा हात नहाल्ने बताउँछन् । ‘अर्जुन रेड्डी’ को निर्देशन गर्ने प्रस्ताव आएको खण्डमा विचार गर्ने उनले बताए । फिल्मका लागि अभिनेताको रुपमा आर्यन सिग्देललाई अफर गरिएको जानकारी प्राप्त छ । उनीसँग मौखिक सहमति समेत भैसकेको स्रोत बताउँछ । तर, यसको औपचारिक रुपमा पुष्टि भने भएको छैन ।

निर्माता सुवास गिरीले पनि ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बनाउने तयारी गर्दा अभिनेतामा आर्यन सिग्देललाई प्रस्ताव गरेका थिए । उनलाई १० केजी तौल घटाउन निर्माता गिरी र निर्देशक विशालले आग्रह गरेका थिए । तर, आर्यनले तौल घटाउन आनाकानी गरेपछि फिल्ममा अभिनेता प्रदीप खड्कालाई लिइएको थियो । तर, हिन्दी भर्सन अगाडि प्रदर्शन हुँदा नेपाली रिमेक बनाउनुको कुनै औचित्य नदेखेपछि निर्माता गिरीले फिल्म निर्माणबाट हात झिकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button