सृजनाको चौतारी

शोकधुन बजाइरहेको छ गुलाफ नसुक्ने न्युयोर्क

कविता

– अम्बिका चन्द

कोरोना त्रासदीले देशबासी कहालिइरहँदा
बुहानका खाद्यान्न पसलहरूमा पुगेका छन् सी जिन पिङ
बढिरहँदा करोडौँ रसियालीहरूको ढुकढुकी
अस्पतालका शैयाहरू अनुगमन गर्न निस्किएका छन् भ्लादिमीर पुटिन
जब विश्व भ्रमणमा कोरिया हिँड्यो कोरोना
मुन जाई इन जुटे हजारौँ टेस्टिङ कीट निर्माण र लाखौँको परीक्षणमा
आँखाले देख्न नसकिने यो नाथे भाइरस
जब शक्तिसम्पन्न महादेश युरोपको इटाली छिर्यो
बेवास्ता गरिदिए जिसेप कोन्टेले यसलाई
मस्तसँग झुमिरहे नरनारीहरू डिजेवालासँग
र हेर्दाहेर्दै,
अस्पतालहरू फेरिए मुर्दाघरमा
अन्ततः कोन्टे बगाइरहेछन् सहश्र श्रापका अश्रुधारा ।

अलि परबाट एन्टोनियो गुटेरेजले दिइरहे चेतावनी
दोहो¥याए–तेहेर्याए र बारम्बार कौलासिरहे–
कोभिड १९ ले सङ्कटमा पर्दैछ मावनसभ्यता
खराब परिणाम दिनेछ दोस्रो विश्वयुद्धभन्दा पनि ।
जब किम जोङ उनको आकाश हुँदै अमेरिका छिर्यो कोरोना
यो विश्वयुद्धका २ परमाणु बम र
कोरियाली ब्यालेस्टिक मिसाइलभन्दा भयानक छ भन्ने
बिचरा जग्गा दलाल ट्रम्पलाई के थाहा ?
उनी त भद्दा प्रहसन गर्दै थिए जी ७ समिटमा–
‘हाः हाः बुहान भाइरस’ ।

कहिल्यै गुलाफ नसुक्ने र
कहिल्यै ननिदाउने भनिएको न्युयोर्क सहर
शोकधुन बजाइरहेको छ आज ।
कोभिड १९ को बारुदी धुवाले निस्सासिएका छन्
रगतको टाटैटाटा लागेका संसारका सबैभन्दा ‘सुकिला’ अमेरिकी
अङ्कगणितमा अमेरिकालाई लागेको छ तेस्रो नम्बर
तर पनि मूर्ख ट्रम्प सगर्व घोषणा गरिरहेका छन्–
म मास्क लगाउदिनँ
अमेरिका बन्द गर्न जन्मिएको होइन…
किनकि अझै पनि ट्रम्पलाई सेतो सर्जिकल मास्क होइन
रगतको टाटा बसेको मास्क लगाउने धङधङी बाँकी नै छ ।

विनाशकारी तेस्रो विश्वयुद्धको एसाल्टमा
सेता वस्त्रधारीहरू छन् ।
अर्बौं जीवनरक्षाको अग्रमोर्चामा छ
समाजवादी सेता वस्त्रधारीहरूको रेन्जर फोर्स
घरका छत र बार्दलीमा उभिएर
समाजवादी सेता कोटहरूलाई
सलामी दिइरहेका छन् युरोपका मानिसहरू
कोरियाली राता मान्छेहरूहरूले सिकाइरहेका छन् साम्राज्यवादभन्दा समाजवाद
तुलनै गर्न नसकिने उत्तम हुन्छ भन्ने सत्य ।

जब बेइजिङ र ह्वाइट हाउस हेरिरहेको दिल्ली टेक्यो
विश्वभ्रमणमा निस्किएको कोरोनाले
ट्युबलाइट बन्द गरी दीप जलाउन थाले
चायावाले दिमागवाला मोदीजी
दिल्लीकै आसपासमा कोरोना घुम्दा
मोदीले देखेनन् कोभिड १९
बिर्सिए विज्ञानका आविष्कारहरू
सायद उनले चाया बेचेका रमाइला पल सम्झिए ।

जब कोभिड १९ नेपाल छिर्यो हेर्दाहेर्दै
फ्रान्सेली विमान चढेर र
जब आयो भारतीय पैदल यात्राबाट
कोही तर्सिए, कोही बिर्सिए, कोही रौसिए
पृथ्वी रोएको बेला, देश दुखेको बेला
टेस्टिङ कीटमै भ्रष्टाचार गर्न थाले सत्ताका ठेकेदारहरू
भोकभोकै मर्न लागेको बेला ज्यालादारी मजदुर
हवाईजहाजको टिकटमा कमिसन खान थाले हाकिमहरू ।

यो नेपाल हो, नरभक्षीहरूले शासन गरेको देश
जहाँ लच्छिनबिनै कोरोना देखिन्छ र
मान्छे मरिसकेपछि रगतको नेगेटिभ रिपोर्ट आउँछ
जहाँ कालाबजारियाहरूको बिगबिगी छ
मान्छेभन्दा बढी भ्रष्टाचारीहरू छन्
जहाँका जनता भोको पेटको कहरले
नाङ्गै सुसाउँदो महाकालीमा हामफाल्छन्
विश्व लकडाउनमा परेको बेला
प्रधानमन्त्री गर्छन् सस्तो भाषणबाजी र
मन्त्रीको दिन कमिसनको रकम गन्दैमा बित्छ
जनता मेला जान्छन्, भोजभतेर खान्छन् ।
हरे ! यहाँ एउटा प्रश्न बुझिनसक्नु भयो
यो समय सबै मिलेर
विश्वयुद्ध जित्ने बेला होइन र ?

२५ चैत २०७६ काठमाडौँ, ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button