खबर

भारतीय सञ्चारमाध्यमले नेपाली राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचार खेदजनक : महासङ्घ

काठमाडाैँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतीय सञ्चारमाध्यमले चलचित्र कलाकार मनीषा कोइरालाले राष्ट्रियताका पक्षमा दिएको अभिव्यक्तिको विरोध गर्ने बहानामा नेपालको राष्ट्रियताविरुद्ध गरेको दुष्प्रचारको निन्दा र भत्र्सना गरेको छ ।

महासङ्घले विज्ञप्ति जारी गरी मनीषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विटमा कमेन्ट गर्दै लेखेको ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ’ भनाइप्रति लक्षित गर्दै भारतीय सञ्चारमाध्यमले नेपालको राष्ट्रियतामाथि नै आँच आउने गरी दुष्प्रचार गरेकोमा आक्रोश पनि व्यक्त गरेको छ ।

महासङ्घका तर्फबाट खेम थपलियाले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

नेपालले हालसालै कालापानी, लिपुलेक र लिम्पियाधुराको समग्र नेपाली भूभागलाई समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि बलिउड चलचित्र उद्योगमा लामो समय योगदान दिँदै आएकी नेपाली चेली मनीषा कोइरालाले सार्वजनिक गर्नुभएको देशभक्तिपूर्ण अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चारमाध्यमले मनीषा कोइरालाको देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गरिएको प्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । मनीषा कोइरालाको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई रि–ट्विट गर्दै शिष्ट भाषामा लेखेकी थिइन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान् देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौँ ।’

भारत आफूलाई प्रजातन्त्रको लामो अभ्यास गरेको विश्वको सबैभन्दा ठूलो देश ठान्दछ तर उसको चित्त सारै सानो देखिन्छ । ऊ श्रमको सम्मान गर्न जान्दैन । ऊ अरूको देशभक्तिको झङ्कारलाई बेमतलब गर्दछ । उसलाई आफ्नै अहङ्कारले खोक्रो बनाउँदै लगेको छ । त्यसैले त ऊ मनीषा कोइरालाहरूलाई अपमान गर्दछ । मनीषा कोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाइन् । भारतको चलचित्र उद्योगमा आफ्नो श्रम र सीप खन्याइन् । उनी कसैको दयामायामा नभएर आफ्नो श्रम र सीपमा बाँचेकी हुन् । श्रमजीवी र स्वाभिमानी कोइरालाप्रति भारतीय सञ्चारमाध्यमले देखाएको रबैया अत्यन्त खेदजनक र निन्दनीय छ । भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गरिरहेको छ । उनीहरूले मर्यादाको सीमाबाहिर गएर भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् । अभिनेत्री मनीषाले बलिउडमा काम गरेकाले भारतको दासत्व स्वीकार्नुपर्ने खालको तर्क गरिरहेका छन् । भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको हामी सशक्त प्रतिवाद गर्न चाहन्छौँ ।

राष्ट्रियता ठूलो, सानो, विकसित, अविकसित वा कुनै पनि अवस्थाले फरक पार्ने विषय होइन । राष्ट्रियताको मर्मको नै खिल्ली उड्ने गरी भारतीय मिडियाले मनीषा कोइरालामाथि नानाथरी आलोचना गरिरहेको छ । भारतीय टेलिभिजन च्यानल एबीपीले मनीषालाई चीनपरस्तको आरोपसमेत लगाएको छ । यसले भारतीय मिडिया कुनै पनि नागरिकको वाक्स्वतन्त्रताका विपक्षमा रहेको कुरालाई स्पष्ट गर्दछ । मनीषा कोइरालालाई सङ्कीर्ण मानसिकताले भरिएका भारतीय मिडियाले लगाएको आरोप भत्र्सनायोग्य छ । नेपाली छोरीले नेपालको माया गर्न नपाउने ? ‘श्रम बेच्नु हुन्छ तर स्वाभिमान बेच्नु हुँदैन’ भन्ने मनीषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ । हामी बलिउड नायिका मनीषा कोइरालामा जीवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ ।

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले नेपाल सरकारले जारी गरेको नयाँ नक्सालाई कृत्रिम विस्तार भन्दै अस्वीकार्य भएको भन्दै विरोध गरेको प्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल कसैको इन्च भूमि पनि चाहँदैन र आफ्नो एक इन्च भूमि पनि कसैलाई छोड्दैन । साम्राज्यवादलाई कुकुर भनेर ललकार्ने भीमसेन थापा र चमचम गर्ने खुकुरी नचाउँदै सतलजसम्म पुग्ने अमरसिंह थापाको देशभक्तिपूर्ण राप र ताप अझै बाँकी छ । साथै भारतले नेपालको ७१ भन्दा बढी स्थानमा सिमाना मिचेको छ भने ६० हजारभन्दा बढी जमिन अतिक्रमण गरेको छ । हामी हाम्रा पुर्खाहरूले आफ्नो रगतपसिनाद्वारा सिञ्चित इन्चइन्च नेपाली भूभागको हिसाब किताब गर्नु छ ।

भारतीय साम्राज्यवादी सांस्कृतिक प्रदूषणका विरुद्ध हामी निकै लामो समयदेखि सङ्घर्ष गर्दै आइरहेका छौँ । भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पुर्याउने सम्पूर्ण हर्कत बन्द नगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ । नेपाली राष्ट्रियता र नेपाली देशभक्तिपूर्ण भावनाको सम्मान गर्नु भारतको पनि दायित्व हो । नेपालीहरूले आफ्नो भूमिको रक्षार्थ उठाएको राष्ट्रिय स्वाधीनताको झन्डामुनि गोलबन्द हुन हामी यसै वक्तव्यमार्फत सबैलाई विशेष आह्वान पनि गर्दछौँ ।२०७७, ८ जेष्ठ बिहीबार ई–रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button