
एस पी लुईटेल
कविता
महामारीको रणभूमिमा यो मुलुक पनि
थाहा छैन, खोइ कसरी हो
एक योद्धा बनेर होमिएको छ
युद्ध जारी छ, देशमा ।
रोग, शोक र भोकको भुमरी
बेस्सरी बटारिएको छ,
यतिबेलै,
सलह, बाढी र पहिरोले
कोभिड् युद्धका थकित जनजनलाई
आँसु, पीडा र बज्रपात दिएको छ ।
ठिक यतिबेलै,
यिनै दुखदायी कहरमा घरभित्रै थुनिएका
तीन करोडका अविरल आँसुमाथि
रोग, शोक, भोक र गरिबी माथि
सत्ता, व्यवस्था र राजनीति
अराजक बनेर
भ्रष्टाचार र कपोलकल्पितको चुचुरामा चढेर
खिल्ली उडाउँदै, बुढीऔंलो देखाउँदै
निराशाका उल्कापातहरु
एकपछि अर्को गर्दै
झारीरहेछन, देशमा ।
देशमा अहिले, यस्तो लागिरहेछ
सहयोग, राहत र जनज्यान जोगाउने
योजना बनाउने सरकारका ठाउँमा,
लोक(व्यवस्थाको स्थानमा,
जनताको संरक्षकको स्थानमा,
र, देशको मूल अभिभावकको स्थानमा,
आजितलाग्दा,
रेखाङ्कित उट्पट्याङका नजिररु
रेखाङ्कित भुत्ते मगजका वजीरहरु
मगनमस्त आसनमा विराजिएर र
विवेकको दृष्टिलाई कन्तुरमा थुनेर
यसो भन्छन्
दुख छ? श्रीराम कि जय ।


