
जी एन शर्मा
कविता
उठेका हातहरु
जुटेका मनहरु
उर्लेको विद्रोहको ज्वाला र मैदानका परेडहरु
आज प्रश्नका पनि प्रश्न बनेर बसेकाछन्
भन्छन्, यो सब केका लागि ?
सोध्छन्, यो सब कसका लागि ?
बाढी जस्तै बगेको रगतको भेल
खातमाथिका खात बनेका हाम्रा लासहरु
लाल सत्ताकोे पोकामा बाँधिएका समानताका सपनाहरु
आज आफैले आफैलाई
प्रश्न भित्र पनि प्रश्न गरिरहेकाछन्
यो थियो केका लागि ?
यो सब भयो कसका लागि ?
कसले के पाए ?
कसलाई के दियौ ?
कसले के लिए ?
थाहा छैन आज ति सपनाहरु उडेर कुन क्षितिज पारि पुगे !
पत्तो छैन ति मनहरु कुनकुन रमितामा रनभुल्ल बनेकाछन्
उठेका उ बेलाका हातहरु छरप्रष्ट बनेर हराएकाछन्
जुटेका उ बेलाका मनहरु एक्लाएक्ला गद्गद् बनेकाछन्
भन्छन् अब सबै सकियो, यही हो ल्याउने र पाउने
तर, ति दिनहरुले
आज पनि सोधी रहेकाछन्
खै , कसले के पाए ?
कसलाई के दियौ ?
तिम्रो सपनाको ढुकुटी कहिल्यै खोल्छौ ?
उनीहरु भन्छन् , यही हो हाम्ले ल्याउने भनेको , यस्तै हो हाम्रो सपना
तर, सपना आजकल आफै बोल्न थालेको छ
सपनाले नयाँ सपना कोरल्न थालेको छ
भत्के जस्ता भएका मनहरु जोडिने दिन आउन सक्छ
लथ्रिएका हातहरु उठ्ने समय आउन सक्छ
समयलेनै पो प्रश्न गर्दैछ अहिले
समय भन्छ
समय अझै बाँकीनै छ, यात्रा अधुरो र अपुरो छ
सपनाहरु कहाँ हराएका हुन् र ? अलमलमा मात्र परेका हुन्
एउटाको सपना मात्रै सपना होइन
अझै बाँकीनैछन् सयौँ सपनाहरु
अब फेरि प्रश्न होइन, जवाफ आफै बनेर सपना देख्ने गर
जसका लागि सपना देख्नेछौ
फेरि कुनै प्रश्न आउदैन
कसका लागि ? भनेर


