‘समाचार र विचारको
साझा चौतारी’






‘भारतमा हामी महामारीको होइन, मानवताविरुद्ध अपराधको साक्षी भइरहेका छौँ’


२०७८ बैशाख १७
– अरुन्धती राेय

सन् २०१७ मा उत्तर प्रदेशको चुनावीसभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीको नेतृत्वमा रहेको प्रदेश सरकारको उछितो काडिरहेका थिए । मञ्चबाट उनको आरोप थियो– उत्तर प्रदेश सरकारले मुस्लिमलाई बढी प्राथमिकता दियो । मोदी गर्जिएका थिए, ’यदि कब्रिस्तान बनाइन्छ भने घाट पनि बन्नुपर्छ ।’

घाट, घाट, घाट, मोदीको सभामा आएकाहरूले स्वर थपे । अहिले कब्रिस्तान र घाटका हृदयविदारक तस्वीर अन्तर्राष्ट्रिय मिडियामा छापिएका छन् । शायद, यी तस्वीर देखेर मोदी खुसी भइरहेका होलान, किनकि कब्रिस्तान र घाटको अनुपात अहिले मिलेको छ, दुवै भरिभराउ छन् । तिनीहरूको उपयोग क्षमताभन्दा बढी भइरहेको छ ।

’के १ अर्ब ३० करोड भारतीय जनता एकान्तबासमा रहन सक्लान् ?,’ भारतमा फैलिइरहेको कोरोना महामारीबारे वासिङ्टन पोस्टले आफ्नो सम्पादकीयमा प्रश्न उठाएको छ । सम्पादकीयमा उत्तर पनि छ– ’यो सहज छैन ।’

हाम्रा प्रधानमन्त्री मोदीले गत जनवरीमा विश्व आर्थिक मञ्चमा दिएको अभिव्यक्तिका आधारमा सायद यो प्रश्न उठाइएको हुनुपर्छ, वासिङ्टन पोस्टले तेर्स्याएको प्रश्नले अलिकति अपमानित महसुस गर्ने अधिकार हामीलाई छ ।

युरोप र अमेरिका कोरोनाको दोस्रो लहरबाट आक्रान्त बनेको समयमा सम्मेलनमा सम्बोधन गरेका मोदीले सहानुभूतिका एक शब्द पनि खर्चिएनन् । उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतको तयारी र पूर्वाधार विकासबारे बेलीविस्तार लगाउँदा घमण्ड प्रतिबिम्बित भइरहेको थियो । स्थिति भयावह बनेपछि आफ्ना सम्बोधनलाई मोदीले हटाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मैले उनको भाषण सुरक्षित राखेकी थिएँ ।

मोदीले भनेका थिए, ’यो विषम परिस्थितिमा भारतीय जनताको तर्फबाट मैले सकारात्मक र आत्मविश्वासिलो सन्देश लिएर आएको छु । कोरोनाबाट सबैभन्दा बढी भारत प्रताडित हुन्छ भन्ने गरिएको थियो । ७० करोडदेखि ८० करोड भारतीय कोरोनाबाट संक्रमित हुने र २० लाख मानिस मर्ने प्रक्षेपण गरिएको थियो । कोरोना नियन्त्रणमा अरु देशसँग भारतको तुलनै हुन सक्दैन । विश्वकै १८ प्रतिशत जनसंख्या बसोबास गर्ने भारतले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेकै कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।’

विश्व उपस्थित मञ्चबाट मोदीले गरेको आफ्नै दाबी अहिले विश्वसनीय भएन । अरु देशका सीमा हाम्रा लागि किन बन्द छन् ? कोरोनाका कारण हामी प्रताडित हुँदा हाम्रा प्रधानमन्त्री किन विज्ञानविरोधी देखिँदै छन् ? उनको राजनीतिक ब्रान्डले किन घृणा र मूर्खताको प्रतिनिधित्व गरिरहेको छ ? हामीसँग गुनासा थुप्रै छन्, सुन्ने र सम्बोधन गर्ने सरकार छैन ।

भारतमा कोभिडको पहिलो लहर साम्य भएपछि सरकार समर्थितहरूले विजय महसुस गरेका थिए । द प्रिन्टका अनलाइन संस्करणका सम्पादक शेखर गुप्ताले लेखेका थिए, ’अस्पतालहरूमा शय्याको अभाव छैन । घाटहरू भरिएका छैनन् । अवस्था यति राम्रो छ कि पत्याउन मुस्किल छ । तपाईं असहमत हुनुहुन्छ भने तथ्यांकसहित उपस्थित हुनुहोस् । अन्यथा स्थिति फेरि भयावह हुन्छ भन्दै भगवान् बनेर भविष्यवाणी गर्न बन्द गर्नुस् ।’

उनलाई कसले स्मरण गराइदिने कि महामारीको दोस्रो लहर हुन्छ भन्ने थाहा पाउन भगवान् भइराख्नु पर्दैन । यसको संक्रमण दरले संक्रामक रोग विशेषज्ञहरूसमेत अचम्मित भए पनि यो सहजै अनुमान लगाउन सकिने कुरा हो ।

मोदीले भाषणमा प्रस्तुत गरेजस्तो घमण्ड अब कहाँ बाँकी रह्यो र ? संक्रमितका लागि अस्पतालमा शय्या उपलब्ध छैन । स्वास्थ्यकर्मीहरूको अभाव छ । अस्पतालमा जीवितको भन्दा मृतकको संख्या बढी छ । अस्पतालकै प्राङ्गणमा बिरामीको ज्यान गएको छ । दिल्लीका घाटहरूमा दाउरा छैन । स्थिति यति कहालीलाग्दो छ कि पार्क र पार्किङस्थलसमेत घाटमा परिणत भइसके ।भारतको स्टक एक्सचेन्जमा नाजुक अवस्थामा रहेको कम्पनीको झैँ हालत छ अक्सिजनको पनि । सबै अस्पतालमा बेड र अक्सिजनका लागि गुहार मागिरहेका भेटिन्छन् । अक्सिजनको कालोबजारी फस्टाइरहेको छ । अक्सिजन संतृप्ति यन्त्र र आवश्यकीय औषधि सहजै आयात भइरहेका छैनन् ।

अक्सिजनको मात्रै होइन, मानवीयताको पनि कालोबजारी भइरहेको छ । अन्तिम पटक मुख हेर्नका लागि घूस खुवाउनुपर्ने परिस्थिति छ । कर्मकाण्डका लागि पुरेतको शुल्क बढेको छ । अनलाइन मेडिकल कन्सल्टेन्सीहरूको सेवा शुल्क ह्वात्तै बढेको छ । अस्पतालमा डिपोजिट शुल्क राख्नकै निम्ति घरजग्गा बेचेर पुस्तौँसम्म सुकुम्बासी बन्न तयार हुनुपर्ने अवस्था समेत छ ।

मानिसहरू कुन हदसम्म पीडित छन्, यी अराजकताले पु¥याएका आघातले नै बताउँछ । दिल्लीको गाजियाबादमा एक परिवार बसोबास गर्दै आएको थियो । परिवारमा रहेकामध्ये तीन जनालाई कोरोना भयो । आमा सिकिस्त थिइन्, अस्पतालमा बल्लतल्ल उपचार हुने भयो । यता बुबालाई मानसिक समस्या थियो । बुबालाई परामर्श दिइरहेकी चिकित्सकले पनि कोरोनाका कारण हालसालै पति गुमाएकी थिइन् । चिकित्सकको प्रयासका बाबजुद मानसिक रोगी बुबालाई उनले बचाउन सकेनन् । उनी कोरोनाका कारणले होइन, उच्च रक्तचापका कारण बितेका थिए ।

’अन्तिम संस्कार कसरी ग¥यौ ?,’ मैले सोधेँ ।

’चिनजानका सबैलाई फोन गरेँ तर अनिर्बन भट्टाचार्य मात्रै सम्पर्कमा आए,’ बुबा गुमाएका ती युवाले भने । भट्टाचार्य सामाजिक अभियन्ता हर्स मन्दरसँग सहकार्य गर्दै काम गर्छन् । भट्टाचार्य ती व्यक्ति हुन्, जो पक्राउ सूचीमा समेत छन् । सरकारले उनलाई नागरिकता विधेयकको विरोध ¥यालीमा मानिसहरू परिचालन गरेको अभियोगमा पक्राउ गर्न खोजेको हो । तर, जहाँ सरकारको उस्थिति हुँदैन, त्यहाँ सधैँ भट्टाचार्य पुग्ने गर्छन् । उनले शव व्यवस्थापनका लागि साधन उपलब्ध गराउँछन् । बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्सको जोहो गरिदिन्छन् । उनीहरूको स्वयम् सेवा स्वास्थ्यका दृष्टिकोणबाट निकै जोखिमपूर्ण छ । आफू जोखिममा रहेरै अरुका लागि आवश्यक सामग्रीको जोहोमा दिनरात खटिइरहेका छन् ।

यो महामारीमा आईसीयूमा पुग्नेहरूको तथ्याङ्क हेर्दा युवाहरू नै बढी देखिन्छन् । मृतकको संख्या पनि युवाहरूकै बढी छ । जब युवाहरू मरेको देखिन्छ, तब वृद्धावस्थाका मानिसहरूको जिउने चाहना पनि कम हुँदै जाने रहेछ । यो समय पनि टरेर त जाला नै, तर टरेको हेर्न पाउने भाग्यमानीचाहिँ कति हुनेछौँ होला ?

अहिले गरिब निसास्सिएका छन्, धनाढ्यले सहजै सास फेरिरहेका छन् । यसले व्यवस्थाको समेत प्रतिबिम्बित गर्छ । बिरामी भएको लोकतन्त्र पनि हो, मानिस मात्रै होइन । मृत्युवरण मानिसले मात्रै होइन, प्रजातन्त्रतले पनि गरिरहेको छ ।

अक्सिजनको अभाव कति छ भन्ने कुरा अस्पतालले बिरामीलाई आफैँ अक्सिजन ल्याउन सूचित गरेबाटै थाहा हुन्छ । गत २२ अप्रिलमा दिल्लीको गंगाराम अस्पतालमा उच्च चापको अक्सिजन लिएर उपचार सेवा लिइरहेका २५ जनाको मृत्यु भयो । उनीहरूको मृत्युलगत्तै पत्रकार सम्मेलन गर्दै अस्पतालले भन्यो, ’उनीहरू अक्सिजनको कमीका कारण मरेको भन्ने कुरामा कुनै पनि सत्यता छैन ।’

२४ अप्रिलमा जयपुर गोल्डेन अस्पतालमा समेत यस्तै घटना दोहोरियो, त्यहाँ एकैदिन २० जनाको ज्यान गयो । दिल्ली हाईकोर्टबाट महाधिवक्ता तुसार मेहेताले सरकारको तर्फबाट बोल्दै भने, ’कसैलाई पनि अक्सिजनको अभाव हुन नदिनेमा सरकार प्रतिवद्धत छ । त्यसका लागि सरकारले प्रयत्न गरिरहेको छ । सरकारको प्रयासमा विश्वास गरौँ, कोकोहोलो नमच्चाऔँ ।’

उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रदेशका कुनै पनि अस्पतालमा अक्सिजनको अभाव नभएको र कसैले अभावको अफवाह फैलाएमा गिरफ्तार गर्ने र सम्पूर्ण सम्पत्ति जफत गर्ने चेतावनी दिएका छन् ।

यस्ता कुरामा योगी अगाडि नै छन् । केरलाका पत्रकार सिद्धिकी कप्पान उत्तर प्रदेश सरकारसमक्ष हर्थास जिल्लामा मुस्लिम बालिकाको सामूहिक बलात्कारबारे रिपोर्ट गर्न पुगे । उनलाई एक महिना बिनाकारण जेल हालियो । जेलमा हुँदा पत्रकार कप्पान कोरोना संक्रमित भए । उनलाई साङ्लोले बाँधेर मथुरास्थित अस्पतालमा लगियो । श्रीमतीले हाईकोर्टको आदेश लिएर नगएको भए कप्पानले दिल्लीको सुविधासम्पन्न अस्पतालमा उपचार पाउने थिएनन् ।

यो घटनाबाट उत्तर प्रदेशमा बाँच्ने हो भने अन्यायविरुद्ध पनि उजुरी नगर्नू भन्ने पुष्टि हुन्छ । यस्ता विषय उत्तर प्रदेशमा मात्रै सीमित छैन । राष्ट्रिय स्वयंसेवक संघले पनि यस्ता चेतावनी दिइरहेको छ । सो संगठनका प्रवक्ताले भनेका छन्, ’भारतविरोधी शक्तिहरू विभिन्न अफवाह फैलाउन उद्यत छन् । त्यस्ता अफवाहविरुद्ध मिडियाले सामग्री उत्पादन गर्दै सकारात्मक वातावरण पैदा गराउनू ।’

यो अभियानमा ट्वीटरले साथ दिएको छ । ट्वीटरले मोदी सरकारका आलोचकहरूको खाता निष्क्रिय बनाइरहेको छ ।

कति संक्रमित भए ? कति मरे ? कति संक्रमणबाट मुक्त भए ? यसको उच्च विन्दु कहिले आउलाजस्ता प्रश्नबाट वाक्क भइसक्यौँ । हामीले कहाँबाट सान्त्वना पाउने ? २७ अप्रिलमा मात्रै ३ लाख २३ हजार १ सय ४४ नयाँ संक्रमित देखिए । त्यो दिन २ हजार ७ सय ७१ जनाको मृत्यु भयो । आगामी दिनको अवस्था कस्तो होला, अनुमान लगाउन पक्कै सकिन्छ । तर, कसरी थाहा पाउने, दिल्लीमा परीक्षण निकै कम छ । सार्वजनिक भएका तथ्यांकभन्दा ३० गुणा बढी शव जलिरहेका छन् ।

अब मोदीको हकमा एउटा विकल्प बाँकी छ, आफ्ना सबै कसुरका लागि राजीनामा दिने वा ५ करोड ६४ लाख पाउन्डमा खरिद गरिएको आलिसान बोइङ ७७७ मा सयर गर्ने । तिमी र तिम्रा सहयोगीहरू रनवेमा त्यसै बसिरहेको जहाजलाई चलायमान बनाउन लाग, तिमीले थुपारेका फोहोर सफा गर्दै देशलाई चलायमान बनाउन हामी लाग्नेछौँ ।

दिल्लीबाट भाइरस बोकेर कम्तीमा पनि १ करोड मानिस बिहार, उत्तर प्रदेश, मध्य प्रदेशमा पुगेका छन् । दिल्लीकै दयनीय अवस्था हुँदा त्यहाँ कस्तो परिस्थिति आउला ? झाडापखाला, क्षयरोगबाट मृत्युवरण गर्ने यी प्रदेशका जनता कोरोनासँग कसरी जुध्लान् र ? त्यहाँ अस्पताल कति नै होलान् र ? अस्पतालको सुविधा के नै होला र ?

२८ अप्रिलमा केभादियामा रहेका प्रभुभाइको कोभिडका कारण निधन भयो । उनको गणना त्यसमा हुने छैन । किनकि उनी बिनाउपचार घरमै थिए । उनी त्यहाँ निर्माणाधीन बाँधको विरोधी थिए । नरमदा उपत्यकामा बाँध निर्माण गर्दा त्यहाँका आदिवासी खेदिएका थिए । बेलायती उपनिवेशवादको झल्को दिने गरी सरकारले उनीहरूलाई व्यवहार गरेको थियो ।

केभादियामा अस्पताल छैन तर ४ करोड ४२ लाख अमेरिकी डलर लागतमा स्वतन्त्रता सेनानी तथा भारतका पहिलो उपप्रधानमन्त्री सरदार बल्लभभाइ पटेलको १ सय ८२ मिटर अग्लो प्रतिमा बनाइएको छ । द्रुत गतिको इलिभेटरबाट पर्यटकले नर्मदा बाँधको अवलोकन गर्न पाउनेछन् ।

सन् २०१८ मा सालिक उद्घाटनका लागि पुगेका मोदी । तस्वीरः एएफपीसन् २०१८ मा सालिक उद्घाटनका लागि पुगेका मोदी । तस्वीरः एएफपी
उनीहरूले देख्न पाउनेछन् ध्वस्त पारिएको आदिवासी सभ्यता । त्यो जलाशयमा महसुस गर्न सक्नेछन् उनीहरूको चीत्कार । नियाल्न पाउनेछन् जलाशयभित्रै डुबेको आदिवासीहरूको खुसी । मलाई जसले प्रभुभाइ मरेको खबर सुनाएकी थिइन्, उनै साथीले भनिन्, ’केभादियामा कोरोनाको अवस्थाबारे तिमीलाई जानकारी गराउन मेरो हात नै कामिरहेको छ ।’

कोरोनाको तथ्यांक ठ्याक्कै ट्रम्पको भारत भ्रमणका क्रममा सुकुम्बासी लुकाउनका निम्ति अहेमदाबादमा बनाइएको पर्खालजस्तै छ । सार्वजनिक भएका तथ्यांक भारतमा कोरोनाको अवस्था कस्तो छ भन्ने सतही आकलनका निम्ति सहयोगी छ तर कोरोनाको सत्य अवस्था अझै लुकिरहेको छ ।

गाजियाबादमा अक्सिजनको प्रतीक्षामा रहेका कोरोना संक्रमित । तस्वीरः अद्नान अविदी÷रोयटर्सगाजियाबादमा अक्सिजनको प्रतीक्षामा रहेका कोरोना संक्रमित । तस्वीरः अद्नान अविदी÷रोयटर्स
अक्सिजनको अभाव कम गर्ने विषयमा २०२० मै गठन भएको सरकारी कमिटीले किन काम गरेन भन्नेबारेमा पनि धेरै चासो नदेखाऔँ । दिल्लीका ठूलठूला अस्पतालमा समेत अक्सिजन प्लान्ट किन भएनन् भन्नेमा पनि निकै चासो नराखौँ । प्रधानमन्त्रीका नाममा स्थापित कोषको रकम व्यक्तिगत कोषको झैँ उपयोग किन भयो भन्नेतर्फ पनि धेरै चिन्तित नबनौँ । ’के मोदी अक्सिजन आपूर्तिमा समेत आफ्नो हिस्सा लिन चाहन्छन् ?’ अक्सिजन अभाव उनले हटाऊलान् त ?

’आस गरौँ, भर नपरौँ ।’

मोदी सरकारका लागि उपस्थिति जनाउनुपर्ने एजेण्डा धेरै छन् । लोकतन्त्रको समाप्ति, गैरहिन्दु अल्पसंख्यकमाथि दमन र हिन्दु राष्ट्र स्थापनाका निम्ति बलियो जग निर्माण उनका एजेण्डा हुन् । आसाममा बसोबास गरेका २० लाख मानिसलाई नागरिकताबाट वञ्चित गराउनु, नागरिकता विधेयकको विरोध गर्दा सयौँ मुस्लिम विद्यार्थीलाई कारागार चलान गर्नु, भारतमा मुस्लिमको हत्या अपराध हुन छोड्नु, अयोध्यामा रहेको मस्जिद तोडफोडमा स्थानीय प्रशासन तथा राजनीतिज्ञ मूकदर्शक बन्नु, अदालतले पनि तोडफोडमा संलग्नलाई सहयोग पुग्नेगरी फैसला सुनाउनुले तिनै एजेण्डालाई मलजल गरिरहेको छ ।

यो पटक भारतमा कुम्भ मेलासमेत भयो । करोडौँ हिन्दुधर्मावलम्बी गंगामा डुबुल्की मार्न उपस्थित भए । कोरोना महामारीको समयमा करोडौँ मानिसहरूको भीड प्रतिकात्मक पनि हो । गत वर्ष तब्लिगी जमातले धार्मिक सम्मेलन गर्दा उनीहरूलाई कोरोना जिहादी भनियो । उनीहरूले मानवताविरुद्धको अपराध गरेको आरोपसमेत लगाइयो । म्यानमारबाट भागेर आएका रोहिंग्याहरूप्रति पनि सरकारले यस्तै आरोप लगायो । मोदी सरकार यस्तै विषयमा व्यस्त छ ।

यी गतिविधिभन्दा पनि माथि मोदी सरकारका लागि बंगलामा चुनाव जित्नु झन् जरुरी थियो । त्यसैले गृहमन्त्री अमित शाहले आफ्नो सम्पूर्ण गतिविधि त्यहीँ केन्द्रित गरे । विगतमा एकै दिनमा चुनाव भएको परिस्थिति थियो । तर, भारतीय जनता पार्टीका निम्ति नयाँ निर्वाचन क्षेत्र भएकाले उसले आफ्ना सबै गतिविधि त्यहीँ केन्द्रित ग¥यो । कोरोना महामारीका कारण निर्वाचन कार्यतालिका हेरफेर गर्न अन्य दलले आयोगलाई आग्रह गरेका थिए । ती दलका माग अस्वीकार गर्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै निर्वाचन गर्ने भनिदियो ।

चुनावी सभामा मोदीले कोभिडको कुनै प्रोटोकलको पालना गरेका थिएनन् । मास्क नलगाएका मोदीले बोलीमा समेत लगाम लगाएनन् । उनको भाषण सुन्न अप्रत्याशित संख्यामा मानिस भेला भए । भारतमा कोरोना संक्रमितको संख्या दैनिक २ लाख हुँदा मोदीको राजनीतिक गतिविधि तीव्र थियो । बंगालमा निर्वाचन सकिएको छ, अब मतगणनासँगै कोरोना संक्रमितको संख्याको गणना पनि सुरु हुनेवाला छ । कोलकातामा प्रत्येक २ मा कोरोना परीक्षण गर्दा एक जनामा कोरोना देखिन्छ । भाजपाको घोषणा छ, चुनाव जिते सित्तैमा नागरिकलाई खोप लगाइनेछ । भाजपाले जितेन भने चाहिँ ?

’खोप पाउनेमा आस गरौँ, भर नपरौँ’

खैर, भारत खोप उत्पादनको प्रमुख ठाउँ होइन र ? भारत खोपका लागि दुईवटा उत्पादकसँग निर्भर छ । एक सेरम, अर्को भारत बायोटेक । दुवै कम्पनीले खोप बेच्न थालिसकेका छन् । यो हप्ता उनीहरूले निजी अस्पताललाई खोप बेच्ने घोषणा गरेका छन् । खोप उत्पादकहरूले अकुत नाफा कमाउने निश्चित छ ।

मोदी सरकारकै नेतृत्वमा भारतको अर्थतन्त्र केही खुम्चिएको छ । मध्यमस्तरको जीवन निर्वाह गरेकाहरू गरिबीको रेखामुनि धकेलिएका छन् । धेरै मानिस राष्ट्रिय ग्रामीण रोजगार कार्यक्रमअन्तर्गत काम गरिरहेका छन् । यो कार्यक्रम सन् २००५ मा कांग्रेस नेतृत्वको सरकारले अघि सारेको थियो । खानलाउन नै धौधौ हुने परिवारले खोपका लागि पैसा तिर्न सम्भव नै छैन । बेलायतमा खोप मौलिक हकअन्तर्गत सित्तैमा लगाइन्छ । कर्पोरेट प्रभावमा परेका कारण भारतमा आमनागरिकका लागि खोप अब निःशुल्क हुने छैन ।

यस्तो विषम परिस्थितिमा मोदी समर्थित भारतीय टेलिभिजनको चिच्याहट छ, ’स्वास्थ्य प्रणाली नै ध्वस्त भयो । सबै प्रणाली ध्वस्त भयो ।’

ध्वस्त पार्ने प्रयत्नका बाबजुद पनि अलिअलि ढुकढुकी जीवित थियो । कांग्रेस र भाजपा कुनै पनि सरकारले स्वास्थ्य प्रणाली दरिलो बनाउनका लागि पूर्वाधार विकास गरेनन् । त्यसको नियती जनताले व्यहोर्नुपरेको हो । भारतले कुल गार्हस्थ्य उत्पादनको १ दशमलव २५ प्रतिशत मात्रै स्वास्थ्य क्षेत्रमा लगानी गर्छ । अन्य देशको तुलनामा यो निकै कम हो । ल्यान्सेटले गरेको अध्ययनअनुसार शहरका ७८ प्रतिशत स्वास्थ्य संस्था निजी लगानीका छन् भने ग्रामीण इलाकाका ७१ प्रतिशत संस्थामा निजी लगानी छ ।

सरकारी स्वास्थ्य संस्थाहरूमा समेत माफियाहरूको हालीमुहाली छ । स्वास्थ्य नागरिकको मौलिक अधिकार हो । निजी स्वास्थ्य संस्थाले गरिब नागरिकको सेवा गर्दैन । त्यसैले स्वास्थ्यमा निजीकरण अपराध हो । स्वास्थ्य प्रणाली ध्वस्त भइसकेको छैन । आफ्ना संस्थालाई बलियो बनाउन सरकार असक्षम मात्रै भएको हो ।

संक्रामक रोग विशेषज्ञहरूका अनुसार भारतमा कोरोना संक्रमितको संख्या दैनिक ५ लाख पुग्न सक्छ । मृतकको संख्या पनि उकालो लाग्नेछ ।

भयावह परिस्थिति पछि ३ःयमष्ःगकतच्भकष्नल चलिरहेको छ । केही मिमहरूमा मोदीलाई कंकालका रूपमा चित्रित गरिएको छ । मोदी र अमित शाहलाई गिद्धका रूपमा समेत व्याख्या गरिएको छ । सामाजिक सञ्जालको पाटो यो रह्यो तर वास्तविकता के हो भने उनीहरू भावनाविहीन मानिस हुन् । उनीहरू निरंकुश हुन् । उत्तर भारत भाजपाका लागि सबैभन्दा बढी भोटको इलाका हो, यसले सिङ्गो देशको भाग्य निर्धारण गर्ने सामर्थ्यसमेत राख्ने गर्छ । मोदीलाई पीडा दिने सामर्थ्य त्यहाँका जनतामा नै निहित छ ।

फेड्रिक डुग्लासले भनेका छन्, ’तानाशाहको आयु दमनमा परेकाहरूको धैर्यता नटुट्दासम्म मात्रै हो ।’ मोदीको तानाशाही प्रवृत्तिलाई त्यहाँका जनताले कहिलेसम्म सहलान् ? अवमूल्यनमा परेका उनीहरू कहिलेसम्म चुप बस्लान् ? समय आएपछि पक्कै उनीहरूले स्वेच्छाचारी शासकलाई तह लगाउलान् ।

मोदीले राजनीतिक डेब्यु सन् २००१ मा गुजरातको मुख्यमन्त्रीबाट गरेका थिए । उनकै पालामा त्यहाँ हिन्दु र मुस्लिमबीच दंगा भएको थियो । दंगा साम्य भएपछि त्यहाँ चुनावको घोषणा गरियो । मोदीको चुनावी अभियानमा हिन्दु हृदय सम्राट सक्रिय थियो । त्यहाँदेखि हालसम्म मोदी कुनै पनि निर्वाचनमा पराजित भएका छैनन् । गुजरात दंगाको भिडियो फुटेज पत्रकार आशिष खेतानसँग सुरक्षित थियो । उनले आरोपितहरूका लागि कारबाही गर्न प्रमाण हुने भन्दै अदालतमा समेत उपलब्ध गराएका थिए तर कसैमाथि पनि कारबाही भएन । मोदीकै निर्देशनमा उनीहरूमा कुनै कारबाही नगरिएको हो ।

यी सबै विषयमा जानकार हुँदाहुँदै पनि भारतका बुद्धिजीवी, कर्पोरेट क्षेत्र, मिडिया सबैले उनलाई प्रधानमन्त्री हुन सहयोग गरे । उनको वाक्कला र काम गर्ने शैली राम्रो रहेको सबैको प्रतिक्रिया थियो । मोदीको आलोचना गर्नेहरूमाथि तुच्छ व्यवहार गरियो । उनीहरूले विपक्षी दलका नेताहरूप्रति गरेको मानहानि सुहाउँदिलो थिएन । कोभिड नियन्त्रणको प्रभावकारी तयारीका लागि ध्यानाकर्षण गराउने कांग्रेसका राहुल गान्धीमाथिको निकृष्ट टिप्पणीले विपक्षीको मात्रै होइन, लोकतान्त्रिक प्रणालीकै धज्जी उडायो ।

मोदी सरकारको पालामा संवैधानिक संस्थाहरूलाई खोक्रो बनाइएको छ र कोरोना नियन्त्रणबाहिर छ । संकट मात्रै जन्माउने यो सरकार कोरोना नियन्त्रणका लागि असक्षम छ । यो सरकारमा एक व्यक्तिले मात्रै निर्णय लिन्छ र ऊ आफैँमा खतरनाक छ । महामारी नियन्त्रण सामूहिक प्रयत्नबिना सम्भव हुँदैन । त्यसैले कुशल प्रशासक, स्वास्थ्य विशेषज्ञ, प्रतिपक्षी दलका प्रतिनिधि, स्वास्थ्य नीतिका विज्ञ र सत्तारुढ दलका प्रतिनिधि सहभागी संयन्त्र बनाउन जरुरी छ ।

अब मोदीको हकमा एउटा विकल्प बाँकी छ, आफ्ना सबै कसुरका लागि राजीनामा दिने वा ५ करोड ६४ लाख पाउन्डमा खरिद गरिएको आलिसान बोइङ ७७७ मा सयर गर्ने । तिमी र तिम्रा सहयोगीहरू रनवेमा त्यसै बसिरहेको जहाजलाई चलायमान बनाउन लाग, तिमीले थुपारेका फोहोर सफा गर्दै देशलाई चलायमान बनाउन हामी लाग्नेछौँ । के भारत एकान्तवासमा रहन सक्छ भन्ने प्रश्नको जवाफ म पनि दिन चाहन्छु । यो अवस्थामा भारत एक्लै रहन पटक्कै सक्दैन । हामीलाई सहयोगको खाँचो छ ।

गार्जियनमा प्रकाशित सामग्रीलाई शिशिर ढकालले अनुवाद गरेका हुन् । साभार– शिलापत्र डटकमबाट

प्रतिकृया दिनुहोस्