
लघु कथा
दलमान निकै सिधा अनि सोझो खालको थियोे । कसले के भनेको हो ठीक हो या बेठीक हो भन्न मिल्ने हो या नमिल्ने हो,उसलाई छुट्याउन गार्हो पर्थ्यो । कसो कसो उसलाई उसको मामाले एउटी केटी खोजीदिनुभयो,दलमानको बिहे भयो बिहेपछि दलमान दुरान फर्काउन पहिलोपटक ससुराली जानेभयो । ससुराली जाने बेलामा आमाले दलमानलाइ सम्झाउदै भन्नुभयो ( हेर छोरा तँ अलिक बढी खानेकुरा थपिथपि खान्छस,ससुरालीमा नअघाएपनि भयो पुग्यो भन्नू खानेकुरा नथप्नु नि । खानेकुरा थपेर लाज पार्लास नि ।
दलमानलाइ आमाले सम्झाएको कुरा दिमागमा घुमिरहयो । बेलुका ससुरालीमा सासुआमाले पहिलोपटक आएको ज्वाइलाई खुवाउन निकै मेहनत गरेर खानेकुरा बनाउनुभयो । दलमान खान बस्यो , एकसरो खाइसकेपछि सासुआमाले खानेकुरा थप्न खोज्नुभयो । ज्वाइ यो खाउँ ? भयो आमा, ज्वाइ त्यो खाउँ ? पुग्यो आमा । सासुआमा छक्क पर्दै सोध्नुभयो होइन ज्वाइ सारै लजाउनु भयो कि क्या हो ? दलमान बिचरा सोझो मान्छे कुरा खोलिहाल्यो, के गर्नु सासुआमा त्यत्रो बाटो हिडेर आएको भोक त लागेको छ नि खानेकुरा पनि निक्कै मिठा छन्। तर, आमाले भन्नुभएको थपेर खायो भने त लाज पर्छ अरे के गर्नु । उता सासुआमाले ससुरा बातिर पुलुक्क हेर्नुभयो बा अलिक कस्तो किसिमले मुसुक्क हाँसी राख्नुभएको थियोे ।



