‘समाचार र विचारको
साझा चौतारी’




सर्वहारा जनताका नेतामा प्रचार–मोह


विनोद पौडेल
‘नाम होस् तर गुमनाम नहोस् ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा यो भनाइको सार्थकता झल्किन्छ । यो भनाइ चलचित्रकर्मीहरुमा निकै लागू हुने शब्द हो तर राजनीतिकर्मीमध्ये पनि ओलीबाहेक अन्य नेतामा यो भनाइ लागू भएको खासै देखिँदैन । उनी जे काम गर्दा पनि आफ्नो प्रचार गर्न रुचाउँछन् तर मिडियाकर्मी भने पटक्कै रुचाउँदैनन् आफूनिकटका बाहेक । पत्रकारको विरोध गरे पनि पत्रकार सम्मेलन र सम्पादक भेटघाट भने गरिरहन्छन् । त्यो पनि एकप्रकारको उनको व्यक्तित्वको प्रचारशैली हो भन्दा अत्युक्ति शायदै नहोला ।

हुन त केपी शर्मा ओली पार्टीको भन्दा पनि आफ्नै प्रचार गर्न रुचाउने नेता हुन् भन्दा फरक पर्दैन । यस्ता प्रचारका कार्य बेला–बेलामा गरिरहेका हुन्छन् । प्रचारका शैली पनि नयाँ–नयाँ अपनाउने गर्दछन् । नेकपा एमालेको विधान महाधिवेशन गोदावरीस्थित नवनिर्मित सुविधा सम्पन्न ६ हजार व्यक्ति अट्ने क्षमताको भवनमा चलेको थियो । एमालेको विधान महाधिवेशनमा पनि यस्तै विधान महाधिवेशनको तथा पार्टीको चर्चा गुमनामजस्तै छ तर पार्टीको अध्यक्ष केपी शर्मा ओलीको चर्चाले भने यति बेला राजनीतिक क्षेत्रभित्र चर्चा र विरोधका भावसमेत हुन थालेका छन् । अझ एमाले पार्टीभित्रैका नेता, कार्यकर्ता तथा उपस्थित प्रतिनिधिहरुले घुमाउरो पारामा विरोध गरिरहेका सञ्चारमाध्यममा सुन्न सकिन्छ। यस कारण ओलीको उक्त विधान महाधिवेशनमा विरोध गरिरहेका छन् कि विधान महाधिवेशनको प्रमुख आकर्षक भनेकै ओली प्रचारका बैलीहरु रहेका छन् । त्यसकारण सभास्थल अस्वाभाविक रहेको मान्न सकिन्छ ।

शहरका अधिकांश पोलहरुमा ओलीका टाउको झुन्डिएका छन्, महाधिवेशन स्थलसम्म पुग्ने सडकहरुमा सडक बोर्ड, गेट भव्यरुपमा बनाइएका छन् । अझ महाधिवेशन स्थलमा भने ओलीका बडेमानका डमीहरु बनाइएका छन्, जहाँ उपस्थित प्रतिनिधिहरु लाइन लागेर फोटो खिच्न कुरी बसेका छन् । कार्ल माक्र्स र एंगेल्सको प्रत्यक्ष सहयोगमा कम्युनिस्ट लिगका माध्यमबाट संगठितरूपमा शुरू भएको विश्व कम्युनिस्ट आन्दोलन अहिले विश्व राजनीतिको महत्वपूर्ण शक्ति बन्न पुगेको छ तर तिनै हाबी भएको महाधिवेशनमा देख्न सकिन्छ ।

निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जनआन्दोलनका क्रममा २२ अप्रिल १९४९ तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपाका संस्थापक नेताका रुपमा पुष्पलाललगायतका नेताहरु थिए तर यो नेकपाको विधान महाधिवेशनमा उहाँहरुसमेत गुमनाम भएको देखिन्छ । कार्यक्रम स्थलको मुख्य मञ्चमा पुष्पलाल, मदन र मनमोहनको तस्वीरसहितका बोर्ड अटाउन सकेनन् । यसबाट पनि पुष्टि हुन्छ कि केपी ओलीको प्रचार–मोह अत्यधिक भएको छ । उनले आफ्नो प्रचारका विभिन्न हत्कन्डा अपनाएका छन् । लाग्छ, ओली यस्ता कार्यमा कति माहिर छन् भन्ने कुरा । कुनै सार्वजनिक मेला, महोत्सव तथा कार्यक्रम स्थलमा आगन्तुकको मनोरञ्जनका लागि विभिन्न आकर्षक डेकोरेसन र खेल देखाइन्छ । यसरी आगन्तुकलाई मनोरञ्जन दिएझैँ एमालेको विधान महाधिवेशनमा पनि ओलीको पूर्णकदको डमी प्रमुख आकर्षण बन्न पुगेको छ । आकर्षणस्थल, जहाँ प्रतिनिधिहरु फोटो खिच्न तँछाडमछाड गरिरहेका छन् । यति मात्र होइन, त्यहाँ उपस्थित सम्पूर्ण प्रतिनिधिका लागि खानेपानीका बोतलमा समेत ओलीको फोटोसहितको स्टिकर टाँसिएको छ । ओलीले यतिसम्म आफ्नो प्रचार गरेका छन् कि जहाँ–जहाँ उनको व्यक्तिगत प्रचार गर्न मिल्न सक्ने सम्भावना छ, त्यहाँ–त्यहाँ आफ्नै मात्र प्रचार गरेका छन् ।

यसकारण उनले आफूले आफंैलाई भगवान् ठानेका छन् । पार्टीको भन्दा पनि आफ्नै प्रचारमा विषेश ध्यान दिएका छन् । एमालेका संस्थापक नेताहरुको भने प्रचारमा महत्व ठानेनन् र आफ्नै व्यक्तित्व झल्काउने प्रचार गरे । हुन त पार्टीको अध्यक्ष भएपछि प्रचार त आवश्यक होला तर यति धेरै आफ्नै प्रचार त आवश्यक नहोला । यति धेरै प्रचार गर्न पनि निकै रकम खर्च होला नि ! यत्तिका रकम कहाँबाट आयो भन्ने कुराको पनि छानबिन हुनुपर्ने हो । एमालेको आफ्नो वेबसाइटमा एमालेको बारेमा उल्लेख गरिएको छ । भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ ।’ यसो भनेर व्याख्या गरे तापनि सार्थकता भने पाएको देखिँदैन । सर्वहारा श्रमजीवी जनताको पार्टी भनिए तापनि मोजमस्ती गर्ने पार्टीका रुपमा चिन्न सकिन्छ एमाले, जो ओलीका महँगा क्रियाकलापबाट स्पष्ट हुन्छ ।

केपी ओलीको प्रचार शैली यो नै पहिलो भने होइन । विगतको कुनै दिन नयाँ युगको शुरुवात भन्दै मुलुकको प्रधानमन्त्री भएपछि के–के न गर्छुजस्तै गरेर काठमाडौंका सडक–सडकमा आफ्ना टाउकाको पोस्टर, होर्डिङ बोर्ड राख्न लगाए । हरेक पोलमा लाइट बोर्ड राखियो । हरेक राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन, अनलाइन, रेडियो, चोक–गल्ली जहाँतहीँ नयाँ युगको शुरुवात भन्दै करोडौं रकम स्वाहा पारेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बाँड्दै हिँडे उनी ।

लाग्छ, आजको यो दिनको अवस्था देखाउन नयाँ युगको शुरुवात गरेका थिए । असाध्यै आफ्नो प्रचार गर्न रुचाउने ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा कन्सर्टसमेत गर्न भ्याए, कुशल सारंगी वादकको भूमिका निर्वाह गरेर त्यहाँ पनि उनी निकै हाइलाइट भए । उनको घरमा भएका कार्यक्रममा समेत गीतको तालसँगै ठुम्का लागाउन पछि परेनन् । समृद्ध मुलुकहरुमा समेत यस्ता नेता विरलै पाइन्छन् होला, केपी ओलीका जस्ता उरुन्ठेउला अभिव्यक्ति र क्रियाकलाप गर्ने । उनी जहाँ जे गर्छन्, त्यो नै समाचार बन्छ । त्यो पनि प्रमुख प्राथमिकताका साथ । त्यसकारण पनि उनलाई हौसला प्राप्त भएको मान्न सकिन्छ । मैले जे गरे पनि मलाई जनताले विश्वास गरेका छन्, म नै जनताको प्रिय नेता हुँ भन्ने दम्भ उनमा पलाएको हो । त्यसैको प्रतिफल आज उनी आफ्नै प्रचारमा मात्र जोड दिइरहेका छन् । उनी आफ्ना कार्यको कसैले विरोध गरे पनि वास्ता राख्दैनन् । उल्टै जनता हँसाएर आफ्ना क्रियाकलाप आवश्यक भए भन्दै समर्थन मात्र गर्दछन् । उनी अरुको सामु कहिल्यै कमजोर बन्न चाहँदैनन् । तर त्यसले धोका मात्र दिइरहन्छ ।

ओलीको प्रधानमन्त्रीको पद खुस्केको २ महिना कटिसकेको छ । तर पनि उनमा प्रचार–मोह भने घटेको छैन, झन् बढ्दै गइरहेको छ । प्रधानमन्त्रीबाट बाहिरिँदा ओलीलाई बालुवाटारबाट बालकोटसम्म पु¥याउन, राजकीय सम्मानका साथ उनका कार्यकर्ताले नयाँ बुहारीझैँ बालकोटको घरमा भित्र्याएका थिए । सम्मानका भोका केपी ओली, उनका समर्थकले मोटरसाइल तथा गाडीको स्कर्टिङमा बालुवाटार छोडेर आफ्नै निवास बालकोटसम्म पु¥याएका थिए । तिनै ओलीले बार्दलीबाट चर्चित सेलिब्रेटीले जस्तै हात हल्लाएर आफ्ना फ्यानहरुलाई सम्बोधनसम्म गर्न भ्याए । ती कार्य पनि उनले चर्चा कमाउनकै लागि गरेका थिए । उनले आफ्नो चर्चा बटुल्नका लागि मात्र यस्तो गरेको बुझ्न सकिन्छ । पदबाट बाहिरिँदासमेत आफ्नो प्रचारमा कुनै कसर बाँकी नराखी भाडाकै भए पनि कार्यकर्ता उतारेर आफू कमजोर नभएको महसुस अन्य विपक्षीलाई गराएका थिए । उनी पदबाट निस्किँदा पनि कति शक्तिशाली रहेका छन् भन्ने कुराको प्रचार मात्र हो । यद्यपि कम्युनिस्टका नेतालाई त्यो आवश्यक थिएन तर उनी आवश्यक थिएन भन्ने कुरामा सहमत भने विल्कुलै राख्दैनन् । फराकिलो छाती पार्ने उनमा चेतना नै छैन भन्दा शायदै फरक पर्दैन ।

ओलीको आफ्नै मात्र प्रचार शैलीमा एमाले पार्टीभित्र अन्य नेताहरुले पनि विरोध गरेनन्, बरु उल्टै समर्थन मात्र जनाइरहे । यस्तो गरिरहँदा ओलीमा मनोबल बढिरहेको अनुभूत गर्न सकिन्छ । हुन त पार्टीको अध्यक्षका हैसियतले प्रचार आवश्यक होला तर अनावश्यक चर्चाले अन्य कुरालाई फाइदा पु¥याउँछ । अझ भन्ने हो भने यस्ता कार्यले उल्टै उनको साख गिर्नेबाहेक अन्य कुनै कुरामा महत्व राख्दैन । सरकारबाट झरेर प्रतिपक्षमा पुग्दा पनि उनमा उत्तिकै दम्भ छ । हालै पार्टीको प्रथम विधान महाधिवेशनमा ओलीले आफ्नो भव्य प्रचार गरे । विधान महाधिवेशनको प्रचारभन्दा पनि पार्टी अध्यक्ष केपी ओलीकै प्रचार भएको स्पष्ट देखिन्थ्यो । सडकका पोलभरि उनकै फोटा टाँसिएका थिए । अझ अधिवेशनको पहिलो दिनमा त कार्यस्थलसम्म जान केपी ओलीलाई सातदोबाटोबाट गोदावरीसम्म कार्यकर्ताद्वारा स्कर्टिङ नै गरिएको थियो । यसबाट झन् स्पष्ट हुन्छ, ओली प्रचारका भोगी रहेछन् । सम्मान रुचाउने ओलीले आफ्ना सुविधाका लागि जनतालाई कति दुःख दिएका छन् ? त्यो सब जगजाहेरै छ । अनि समृद्ध नेपाल, सुखी नेपालीको नारा कसका र केका लागि त ? सर्वहारा, श्रमजीवी जनताका नेताको त्यत्रो सम्मान के आवश्यक थियो र ? जनताका सर्वहारा नेतालाई त्यो आवश्यक थियो र ? कार्यकर्ताले व्यक्तिगत चर्चाका कार्य गर्दै छन् भने रोक्नु त कता हो कता, उल्टै समर्थन गर्दा आगामी चुनावमा जनताले पत्याउने सम्भावना कति रहन्छ, त्यो ख्याल राख्नुपर्ने होइन र ?

यस्ता आफ्नै मात्र प्रचारका हर्कत आगामी निर्वाचनको नतिजा नआएसम्म हो । जब निर्वाचनको नतिजा आउँछ तब यिनका दम्भ, चर्चा, परिचर्चा कमजोर हुदै जान्छन् । यस्तै हर्कत देखाइरहँदा जनताले आगामी निर्वाचनमा सही निर्णय लिने पक्कै छ । एकोहोरो एमालेको बहुमत आउँछ भन्दै विपक्षीको विरोध र प्रतिशोध राखेर हिँड्नुको सट्टा जनता लक्षित कार्यक्रम ल्याएमा जनताले पत्याउने थिए कि ! अहिले समयसँगसँगै मतदातामा पनि चेतना अभिवृद्धि हुँदै गएको छ । पहिलेको समयजस्तो छैन, सूचनाको पहुँच आमनागरिकसँग पुगेको छ ।newsofnepal/from

 

50% LikesVS
50% Dislikes

प्रतिकृया दिनुहोस्