
नारायण काफ्ले
काठमाडौँ, असार २४ गते । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिएको प्रकरणमा जिल्ला अदालत काठमाडौँले दुई पूर्वमन्त्रीसहित उच्च प्रशासकको संलग्नता ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतलाई मुद्दामा दोषी ठहर गरेको हो । अदालतमा उपस्थित भएका सात प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा रायमाझीका छोरा सन्दीपसमेत हुनुहुन्छ ।
कसुर ठहर भएका प्रतिवादीको हकमा असार २९ गते सजाय निर्धारण गर्ने पेसी तोक्न आदेश गरिएको छ । तीन वर्षभन्दा बढी समयमा सुरु अदालतले बहुचर्चित मुद्दामा अन्तिम फैसला सुनाएको हो । अदालतले सरकारी लिखत किर्ते, सङ्गठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा समेत अदालतले प्रतिवादीलाई दोषी ठहर गरेको छ । २०८० जेठ १० गते उच्च राजनीतिज्ञ र प्रशासकलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सरकारले एउटै विषयमा चार वटा फरक फरक क्लस्टरमा मुद्दा हालेको थियो ।
किर्तेमा दोषी ठहर
केशवप्रसाद दुलाल, सानु भण्डारी, टेकनाथ रिजाल
सङ्गठित अपराधमा दोषी
केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी ।
सङ्गठित अपराधमा मतियार
बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल ।
राज्यविरुद्ध र एकीकृत कसुरमा दोषी
केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी । बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल राज्यविरुद्धको कसुरको मतियारमा दोषी ।
सफाइ पाउने
रामशरण केसी, टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी ।
मुद्दा मुलतबीमा रहने
अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी ।
सफाइ पाउने
३० प्रतिवादीमध्ये मुद्दासाथ उपस्थित सात जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । रायमाझी पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीका छोरा हुनुहुन्छ । यस्तै प्रतीक पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुनुहुन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।



