
मिथिलेश यादव
सिरहा
‘प्रहरी प्रशासन मिलेपछि जे पनि सम्भव छ।’ प्रदेश २ का सीमावर्ती गाउँघरमा अचेल यस्तै सुन्न पाइन्छ। चौबिसै घण्टा सुरक्षाकर्मी बस्ने सीमा नाकाबाट तस्करले बिनाभन्सार सामान भित्र्याउन थालेपछि स्थानीयले यस्तो भन्न थालेका हुन्।
नेपालको मुख्य प्रवेशद्वार वीरगन्जलगायतका सीमा नाकामा सुरक्षाकर्मी बस्छन्। तर तिनै सीमा नाकाबाट तस्करले बेरोकटोक तस्करीका सामान भित्र्याउँछन्। सुरक्षाकर्मीको उपस्थिति रहने सिरहाको कुसन्डी नाकामा पनि तस्करको राज चल्छ। यस नाका हुँदै पारिबाट चिनी, सुर्ती, कपडाजन्य सामान बेरोकटोक भित्र्याइन्छ। वारिबाट मदिरा, मटर, छोकरा, चिनियाँ स्याउ पारि पुर्याइन्छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सेटिङ मिलाएर चलेको तस्कर राजलाई गत पुस १२ गते भन्सार कार्यालय ठाढीले बिथोल्ने प्रयास गरेको थियो। भन्सार कार्यालयका कर्मचारीले चिनीले भरिएको भारतीय पिकअप जिप कुसन्डी नाकाबाट नियन्त्रणमा लिए। चिनीले भरिएको बिआर ३२ जिबी १९१५ नम्बरको पिकअप जिप नियन्त्रणमा लिए पनि भन्सार कार्यालयले तत्काल चालकलाई ८ लाख २५ हजार रूपैयाँ धरौटीमा छाड्यो।
भन्सार कार्यालय ठाढीका प्रमुख धु्रवप्रसाद महतोले जिपचालक भारतको मधुवनी घर भएका दुखीकुमार साफीलाई ८ लाख २५ हजार रूपैयाँ धरौटीमा छोडिएको बताए। सीमा नाकाबाट भन्सा नतिरीकन चिनीले भरिएको भारतीय जिप भित्रिँदा पनि सशस्त्र प्रहरीले सुइँको पाएनन्। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट, नवराजपुर झाझपट्टीका निरीक्षक प्रकाश पाण्डेले पारिबाट चिनीसहित भित्रिएको जिपबारे आफूलाई थाहा नभएको बताए। ‘खै कसले, कसरी, कहाँबाट समात्यो, मलाई कुनै जानकारी भएन,’ सशस्त्र प्रहरी बलका निरीक्षक पाण्डेले भने।
भन्सार कार्यालय ठाढीका प्रमुख महतोका अनुसार यहाँबाट लक्ष्यको आधा मात्र राजस्व असुली भएको छ। ‘भन्सार नाका भएर मालसामान भित्रिए राजस्व असुल हुन्छ,’ उनले भने, ‘तर भन्सार नाका भएर मालसामान भित्रिने दर निकै कम छ।’ भन्सार कार्यालय ठाढीका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ५ करोड ३ लाख ४ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा १ करोड ६४ लाख ८६ हजार ४ सय रूपैयाँ मात्र उठेको छ। यो तथ्यांकले राजस्व चुहावटलाई पुष्टि गर्छ। राजस्व छलेर सामान भिœयाउने क्रम ठाढी नाकामा मात्र सीमित छैन। माडर नाकाको हविगत पनि उस्तै छ। छोटी नाका बरियारपट्टीबाट पनि तस्करीको सामान भित्रिन्छ।
चोरीपैठारी नियन्त्रणका लागि सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले नै तस्करलाई तस्करी गर्न सघाएको स्थानीयको आरोप छ। सशस्त्र प्रहरी बलबाट सादा पोसाकमा खटिएका सुरक्षाकर्मीले नै तस्करीका सामानलाई सुरक्षित स्थान (व्यापारीका गोदाम) सम्म पुर्याउन सुरक्षा दिने गरेको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन्। सुरक्षाकर्मीसँगको मिलेमतोमा सिरहामा फस्टाएको तस्करी धन्दा सेटिङ नमिल्दा बेलाबेलामा भन्सारका कर्मचारीबाटै छताछुल्ल हुने गरेको छ।
तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारीले केही सामान नियन्त्रणमा लिन्छन्। लाइन मिलेपछि भन्सारका कर्मचारी पनि तस्करीका सामान देखे पनि नदेखेझै गरेको पाइएको छ। तस्करीका सामानदेखि तस्करका गोदामसम्मको जानकारी राख्ने भन्सार कार्यालयका कर्मचारीले पनि सीमा नाकाबाट भन्सार नतिरी भित्राइएको केही सामान समातेर तस्करलाई तर्साउने र लाइनमा ल्याउनेबाहेक काम गरेको पाइँदैन। भन्सारका कर्मचारीले चाहे तस्करका गोदाममै छापा मारेर सामान जफत गर्न सक्छन्।
कुसन्डी नाकाबाट रातको समयमा सुर्ती, चिनी, लत्ताकपडाले भरिएका जिप लहानका गोदामसम्म पुग्छन्। इलाका प्रहरी कार्यालय लहानको छेउमा रहेको तस्करको गोदामबारे प्रायः स्थानीय प्रायः जानकार छन्। तर प्रदेश प्रहरी कार्यालय, प्रदेश सशस्त्र प्रहरी बलको कार्यालय, इलाका प्रहरी कार्यालय लहान, सशस्त्र प्रहरी कार्यालय लहानबाट सादा पोसाकमा खटिने प्रहरी (घुमुवा) को अखडा लहान भए पनि उनीहरू तस्कारका गोदामबारे बेखबर जस्तै देखिन्छन्।
स्थानीयका अनुसार सीमा नाकाबाट सहरका गोदामसम्म सामान पुर्याउन तस्करलाई सघाउने काम यीनै घुमुवाले गर्छन्। लहानमा घर भाडामा लिएर तस्करले भन्सार छलीका सामान भण्डारण गर्दै आएका छन्। ती सामान उदयपुरको गाईघाट, कटारीलगायतमा पठाइन्छ।
पछिल्लो समय तस्करी गर्ने व्यापारीले घुमुवाले देखाएको बाटोबाट बिनाभन्सार सामान ल्याउने क्रम बढेपछि भन्सार असुली दरमा गिरावट आएको छ। तस्करले घुमुवालाई मासिक रूपमा रकम दिएर खाद्यान्न, कपडा, गाडीका सामान, कस्मेटिक्स सामान भन्सार नतिरी ल्याइरहेका छन्।
सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी ल्याइन्छ। सेटिङ मिलाएर झाझपट्टी, ठाढी, बरियारपट्टी, माडर, इटाटारबाट तस्करीका सामान भित्र्याउने क्रम बढेको छ। यी नाकामा सशस्त्र र नेपाल प्रहरीको उपस्थिति छ। चोरी पैठारी नियन्त्रण गर्न सीमा नाकामा निरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट छ। ‘सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले भारतबाट यहाँका सहरमा सामान ल्याउँछन्?’ झाझपट्टीका देवनारायण यादवले भने, ‘सुरक्षा पोस्ट भएर रातभर तस्करीका सामान बोकेका जिप चल्नुले पनि मिलेमतो प्रस्ट हुन्छ।
सिरहाको पटहेर्वा र मूल भन्सारको पूर्व–उत्तरको बाटोबाट पनि तस्करले सामान भित्र्याउने गरेको माडरका स्थानीय बताउँछन्। ‘हामीले घर खर्चका लागि दुईचार किलो तेल, चिनी पारिबाट ल्याउँदा नाकामा तैनाथ सुरक्षाकर्मी र भन्सारका कर्मचारीले कचकच गर्छन्,’ माडर बजारका एक चिया पसलेले नागरिकसँग भने, ‘तस्करले पोकाका पोका मालसामान भित्र्याउँदा सरकारी निकायका कोही पनि चुइँक्क बोल्दैन।’ माडर बजारका अर्का व्यापारी भन्छन्, ‘राजस्व चुहाएर कर्मचारी रजाइँ गर्दैछन्।’ राजस्व बढाउनेतर्फ नभई चुहावट गराएर भाग खानेतर्फ सबैको ध्यान गएको उनले बताए। भन्सार कार्यालय र सुरक्षा निकायका अधिकारी भने यो आरोप गलत भएको बताउँछन्।nagariknews/from



