एजेन्सी – दोस्रो हाफमा हाकिम जिएच र थियागो सिल्भाले गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदानमा टोटेनहमलाई २–० ले पराजित गरेको हो ।
स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चेल्सीले दोस्रो हाफको सुरुमै ९ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरेको थियो । त्यसो त पहिलो हाफमा ह्यारी केनले पाहुना टोलीका लागि गोल गरेपनि भिएआरले सिल्भामाथि फउल भएको विवादास्पद निर्णय दिँदा गोल मान्य भएन।
४७औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । उनले कालम हड्सन ओडोइको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । ५५औं मिनेटमा भेट्रान डिफेन्डर थियागो सिल्भाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले मासन माउन्टको पासमा हेडर गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।
जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २४ खेलबाट ४७ अंक पुगेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग १० अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग १ अंकले पछि छ । सिटीले एक खेल तथा लिभरपुलले २ खेल कम खेलेको छ । पराजित टोटेनहम २० खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।hamrokhulkud/from



