
नेपाली किसानले किन उत्पादनमा रूची देखाएनन्? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ। यसबारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्ने छैन।
हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको सञ्चितिमा परेको दबाब अझै बढदै गएमा दैनिक रूपमा चाहिने कुनै पनि खाद्यवस्तु समेत आयात गर्न विदेशी मुद्रा नहुने अवस्था आउन अब धेरै समय लाग्ने छैन। देशमा उत्पादन हुने कृषिको संरक्षण नगर्ने, उत्पादन क्रमशः खुम्चिँदै जाने र आयातका लागि विदेशी मुद्रा पनि नहुने अवस्थाका बारेमा कसैको ध्यान जान्छ कि जाँदैन थाहा छैन।
हामी अहिले जुन अप्ठ्यारो बाटोमा हिँडिरहेका छौं त्यसले हामीलाई पुर्याउने भनेको थप संकटग्रस्त अवस्थामा नै हो। यसबारेमा बेलैमा ध्यान पुर्याउन सरकारले अलि कडा कदम चाल्नुपर्छ। जनताले थोरै महंगो तर स्वदेशी उत्पादन किन्न र उपभोग गर्न तयार हुनुपर्छ।
म एउटा सहकारीकर्मी र कृषिमा केही काम गरिरहेको अनुभवका आधारमा भन्छु- वर्तमानमा हिँडिरहेको बाटो गलत छ र यसलाई बदल्न सुरू गर्नुपर्छ। यसमा एकैपटक सबै वस्तुमा बन्देज लगाउन नसकिएला, गर्नु हुँदैन पनि तर हामीले देशमै उत्पादन गर्न सक्ने वस्तुको संरक्षणको नीति सरकारले अपनाउन ढिला गर्नु हुँदैन।
२०७४/७५ मा देशमा मिल्क होलिडे भयो। किसानले उत्पादन गरेको दुध बिक्री हुने अवस्था भएन। किसान यो पेशाबाट पलायन हुने अवस्था आयो। तत्कालीन नेकपाको सरकारले पाउडर दुध र झोल दुधको आयातमा प्रतिबन्ध लगाएर दुध उत्पादक किसानको संरक्षणको नीति लियो। त्यसपछि अहिलेसम्म मिल्क होलिडे गर्नु परेको छैन। देशमा कच्चा दुधबाट धुलो दुध बनाउने कारखाना खोल्ने क्रम बढेको छ। दुधको उत्पादन र खपत दुबै बढेको छ। यसले उत्पादन र रोजगारी बढेको मात्रै होइन विदेशी मुद्रा खर्च हुनबाट जोगाएको छ।
यो अनुभवको फाइदालाई हेरेर पनि अबका दिनमा तरकारी, फलफूल, अन्न, माछामासु उत्पादक किसानलाई संरक्षण गर्न सरकारले निन्म वस्तुहरूमा केहीमा पूरै प्रतिबन्ध र केहीमा परिमाणात्मक बन्देज लगाउन ढिलो गर्नु हुँदैन।
हरियो तरकारीमा : काँक्रा, करेला, फर्सी, सिमी, बोडी, काउली, ब्रोकाउली, टमाटर, बैगुन, खुर्सानी, मुला, गाँजर, भिण्डि, बन्दा, क्याप्सिकन, लौका, घिरौला, चिचिण्डो, झिङानी पूरै बन्द गरिनु पर्छ।
फलमा : आँप, खरबुजा, मेवा, किबी, सुन्तला (सन्तरी), नास्पाती, केरा पूरै बन्द गर्नुपर्छ। चल्तीको फल स्याउमा परिणात्मक बन्देज वा भन्सार महसुल बृद्धि गर्नुपर्छ।
अन्नमा : चामल, चिउरा, भुजा (मुराई) आयातमा पूरै प्रतिबन्द गरिनु पर्छ। धान, मकै, गहुँ, जौ, फापर, कोदो, आलुको आयातमा परिमाणात्मक बन्देज वा आयातमा टेक्स बढाएर स्वदेशी उत्पादक किसान र उद्योगको संरक्षण गर्नुपर्छ।
दलहन र तेलहनमा : तयारी दाल (सबै प्रकारको) र खाने तेलको आयातमा भंसार शुल्क बढाउनु पर्छ। खानेतेल र दाल उत्पादनका लागि चाहिने कच्चा पदार्थ (तोरी, भटमास, सर्सियौं गोटा दालको आयातमा परिमाणात्मक बन्देज लगाउनु पर्छ।
माछामासु : जसरी कुखुरा र अण्डाको आयात प्रतिबन्ध छ, त्यसैगरी माछा, खसी र पाडा (राँगा)को आयातमा रोक लगाउनु पर्छ।
फूलमा : सयपत्री फूल र फूलका मालामा प्रतिबन्ध लगाउनु पर्छ।
डेरीका उत्पादन सम्बन्धमा : झोल दुध, दुध पाउडर, बटर, घिउ, आइसक्रिम, पनिर, चिजमा पूरै प्रतिवन्ध लगाउनु पर्छ।
चिनी र सखर : चिनी उद्योग सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्छ। सखर आयातमा प्रतिबन्ध लगाएर देशमा सखर उद्योग सञ्चालनलाई प्रोत्साहन गर्नुपर्छ। यसले उखुको खपत बढाउनुका साथै चिनीको प्रयोगको सट्टामा सखरको प्रयोग बढाउदा जनस्वास्थमा सकारात्मक प्रभाव पर्छ।
मसला : मेथी, ज्वानो, धनिया, सुकेको खुर्सानी, अदुवा, लसुन, प्याज, बेसार (सिक्टा र धुलो दुबै)मा भन्सार महसुलमा बृद्धि गरेर यहाँ हुने उत्पादनलाई संरक्षण गरिनु पर्छ।
यदि सरकारले यी र यस्ता वस्तुको पहिचान गरेर स्वदेशी उत्पादनलाई संरक्षण गर्ने नीति लिने हो भने मात्रै देशमा कृषिको उत्पादन बढाउन सकिन्छ। कृषिको उत्पादनसँगै रोजगारी बृद्धि र विदेशी मुद्रामा हाल भइरहेको दबाबलाई कम गर्न र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिन्छ।
तिनै तहका सरकारले कृषि उत्पादन बढाउनका लागि बिऊ, मल, सिँचाइ, प्राविधिक सहायता, तालिम केन्द्र र बजारको व्यवस्थामा सघाउनु पर्छ। प्रत्येक पालिकामा किसान बजारको व्यवस्था गर्नुपर्छ। त्यहाँ किसानले उत्पादन गरेका आफ्ना उत्पादन वा तिनको नमुना लगेर बेच्न सकुन।
किसान र उपभोक्ताको सोझो सम्पर्क यस्ता किसान बजारमा हुन सक्छ। साथै व्यवसायिक खरीद-बिक्रीका लागि पनि यस्ता किसान बजार उपयुक्त स्थान हुन सक्छन्। यस्ता किसान बजार नेपालको गाउँ-गाउँमा चलेका पुराना हाटबजारको नयाँ रूप हुन्। यसलाई व्यवस्थित गर्न सक्दा मात्रै पनि किसानका उत्पादनको नजिकमा बजार र व्यवसायी हुन्छन्। किसानको पहुँच बढछ।
किसान भन्नेवित्तिकै जुन चित्र र अवस्था मानिसको दिमागमा आउछ त्यो बदल्न जरूरी छ। किसान यो देशका नायक हुन्। किसानले उत्पादन गर्छन् र नै हामीले खान पाएका छौं, किसान महान हुन्। किसान हुनु गौरबको कुरा हो भन्ने बोध समाजमा गराउन जरूरी छ। त्यसो हुँदा मात्रै युवा किसान बन्न तयार हुन्छन्। उत्पादन गर्न तयार हुन्छन्। किसान हुनुभन्दा विदेश जानु ठिक, विदेश जानुभन्दा व्यपारी हुनु ठिक र व्यपारी हुनुभन्दा कर्मचारी हुनु ठिक भन्ने सामाजिक मूल्य बदल्न जरूरी छ।नवपथ अनलाइनबाट



