
काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी रहँदा कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्म ५२९ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । पछिल्लो तथ्यांकअनुसार कांग्रेसले २३६ पालिकामा जित हात पारेको छ । परिणाम घोषणा भएकामध्ये ४४ प्रतिशत पालिकामा कांग्रेसले प्रमुख जित हात पारेको छ । त्यस्तै २२० पालिका उपप्रमुख जितेको छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा पहिलो दल बनेको एमाले भने यो निर्वाचनको हालसम्मको परिणाममा दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले १५० पालिकामा प्रमुख जितेको छ । उपप्रमुखमा भने एमालेले १६१ स्थानमा जित हात पारेका छ ।
माओवादी केन्द्रले १०२ स्थानको प्रमुखमा जित हात पारेको छ । उपप्रमुखमा १०६ स्थानमा जित हात पारेको छ ।
चौथो दलको रुपमा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ । जसपाले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ।
त्यस्तै एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन् ।
नेमकिपाले भक्तपुरमा मात्र जित्न सकेको छ । सीके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जित हासिल गरेको छ । ६ वटामा स्वतन्त्रले जितेका छन् ।
परिणाम आउन बाँकी पालिकामा पनि कांग्रेसकै अग्रता बढी छ । कांग्रेसले ६९ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ५३, माओवादी केन्द्रले १६, जसपाले २३, एकिकृत समाजवादीले ११, लोसपाले ९ र राप्रपाले २ स्थानमा अग्रता लिएका छन् ।दर्पण दैनिक



