

जी एन शर्मा
हार्छ, थाक्छ गल्छ अनि पग्लिन्छ तपतप
दिक्क बन्छ जिन्दगी अनि दिक्दार बनेर भन्छ
म जिन्दगी कस्तो जिन्दगी !
यताउता हेर्छ
असरल्ल सपनाहरु भताभुङ्गको अवस्थामा भेट्छ
थाकका थाक आफ्नै कथाहरुलाई पल्टाउँछ
आफैलाई आफैलाई भन्छ— तँ कस्तो छस यार जिन्दगी !
निभ्न खोज्छस अनि फेरि बल्छस पनि
हराउन खोज्छस अनि फेरि भेटिन्छस पनि
यार जिन्दगी !
जिन्दगीले जिन्दगीलाई नै भन्छ— तँ हराउँदा र भेटिदाको फरक के होला है !
तँ हुनु र नहुनुको अर्थको कस्तो होला है !
आफै बोल्छ जिन्दगी
म हुनुको अर्थनै यही त हो
मेरो सक्कली परिभाषा यही त
गुम्न खोज्नु अनि फेरि फेला पर्नु
हराउँदा हराउँदै फेरि भेटिनु
भेटे पछि फेरि उस्तै बन्नु
अलिकति हाँसोमा धेरै आँशुको मात्रा बन्नु
धेरै निराशा भित्र फेरि पनि आशाको दियालो बाँच्नु
म तेरो यार हुँ ‘जिन्दगी’
तँ सँगसगै हाँसेको हुन्छु, तँ सँगसँगै रोएको हुन्छु
थाहा छ? म तँ सँगै तँ जसरी नै बाँचेको हुन्छु

