ज्ञानेन्द्र ढुङ्गाना
सामाजिक यथार्थको
क्यानभासमा
खिचिएको सुन्दर चित्र
बनोस् कविता
जागृतिको गतिमान् प्रवाह र
जीवन यात्राको लक्ष्य
बनोस् कविता
उज्यालोतिर डोर्याउने
साधन बनोस् कविता
कविता हात बनोस्
विद्रोहको झण्डा उठाउने
अनि
पूर्वाधार बनोस्
सह- अस्तित्वको ।
कविता बागी जन्माउने
सिर्जनाको मूल बनोस्
व्यक्तिवाद भन्दा माथि उठेको
समूह बनोस् हुल बनोस्
कविताले तोडोस् सम्वन्ध
स्तुतिगानको भक्तिगानको
कोरा प्रशंसा, पुरस्कार र सम्मानको
अनि
जोडोस् सम्बन्ध
श्रमसँग पसीनासँग
दस नङ्ग्रा खियाउँने
भुइमान्छे सँग ।
(फेसबुकबाट साभार)



