सम्पादकीय

नयाँ वर्ष २०८० शुभारम्भ

नयाँ वर्ष २०८० सुरु भएको छ । नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार असी (२०८०) साल प्रारम्भ भएको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष (वैशाख १ गते) उत्साह र उमंगका साथ मनाइँदै छ ।
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भलाई भनिन्छ । नेपाललगायत विक्रम सम्बत मान्ने स्थानहरूमा वैशाख १ गतेका दिन र इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारिखका दिन नयाँ वर्ष मनाइन्छ । हामीकहाँ विभिन्न जात जातिका आ–आफ्नै नयाँ वर्ष रहेका छन् । यस दिनमा प्रचलित परम्पराअनुसार विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ ।

सरकारले नयाँ वर्षको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन वैशाख संक्रान्तिलाई वर्षको पहिलो दिनका रूपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको संकल्प गर्दछन् ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मिठोमिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने प्रचलन रही आएको छ । यसदिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ ।

नव वर्ष २०७९ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्य मन्त्रीहरू, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, विभिन्न दलका प्रमुखहरू, नेताहरू, विभिन्न विशिष्ट व्यक्ति तथा व्यक्तित्वहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । नव वर्ष २०८० को  उपलक्ष्यमा  सबैमा हाम्रो पनि हार्दिक मंगलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button