विचार

भ्रष्टाचारः लोकतन्त्रलाई खतरा

कृष्ण हुमागाँई

राजाको आडमा पञ्चहरुले भ्रष्टाचार, घुसखोरी र कमिशनको जालोमा पारेर जनतालाई दुःख दिए, अन्याय र अत्याचारको जाँतोमा पिसेर जनताको रगत पसिनामाथि शोषण गरे । बोल्ने, लेख्ने, बिचार ब्यक्त गर्ने, बिचार रोज्ने अधिकार दिएननन् भनेर नै जनताले त्यो निर्दलीय फासिष्ट पञ्चायत ब्यवस्थालाई फालेर बहुदलीय ब्यवस्था ल्याएका हुन् । आफ्नो अनि सन्तति र देशको मुहार फेर्ने सपना लिएर २०४६ सालमा आन्दोलनमा होमिएका युवाहरु आफ्नो जीवनमा कुनै सुधार नभैकन प्रौढ अवस्थामा पुग्न लागेका छन् । भ्रष्टाचार झन् मौलाएको छ, हिजो हात्तीछाप चपपलमा हिंड्ने मान्छेले भन्सार छुटमा राज्यलाई ठगेर लिएको सुविधाको प्राडो–पजेरो थोत्र्याइसकेको छ । कतिपयले ब्यापारीलाई बेचेर सम्पत्ति आर्जन गरिसके । यो त पुरानो कुरा भयो ।त्यस यताका ठूला भ्रष्टाचार काण्डहरु सबै छाविन हुनुपर्छ र दोषी ठहर भएका देशघातीहरुलाई कारवाही हुनुपर्छ ।

ब्यवस्था परिवर्तन भयो, जनताको आर्थिक अवस्था परिवर्तन भएन । बेरोजगारी समस्यालाई बैदेशिक रोजगारीले केही हद्सम्म थेगेपनि जनता देश छोडेर अर्काको देशमा सस्तोमा कठिन र जटिल श्रम बेच्नुपर्ने अवस्थाबाट पीडित नै छन् । प्रजातन्त्र, लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र जे भनेपनि जनमतद्वारा नै शासन सत्तामा पुगेकाहरुबाट देश लुट्ने अपराध भएबाट जनतामा चरम निराशा र नेताहरुकाप्रति घृणाभाव उत्पन्न भएको अवस्थालाई अब पनि नेतृत्वले बुझ्दैन, बुझ्न प्रयास गर्दैन भने यो पुस्ताले देश र जनताको भलो गर्न सक्दैन । यसका लागि यही राजनैतिक ब्यवस्थाभित्रबाट नालायकहरुलाई पाखा लगाउँदै युवाहरुले राजनीतिमा हस्तक्षेप गर्नुपर्ने हुन्छ । अब देश युवाले हाँने हो बुढा नेताहरुले बेथिति रोक्न सकेनन् । आफैं वा आफ्नै वरिपरीकाहरुको घेराबन्दीमा परेकाहरुले अब केही गर्न नसक्ने रहेछन् भन्ने जनताका मनमा परिसक्यो ।

लेकतान्त्रिक प्रणलीले नागरिकलाई बोल्ने, लेख्ने, बिचार ब्यक्त गन, शान्तिपूर्ण रुपमा बिरोध गर्न पाउने, असहमति राख्न पाउने अधिकार त दियो । तर भोको पेटले अधिकार भन्दा पहिला खाना खोज्दो रहेछ । जिउँदो रहे त अधिकार पनि खोज्ने हो । ज्यानै नरहने अवस्थामा अधिकारको नाराले मात्र पेट भरिदो रहेनछ । आन्दोलनमा भोको पेट खटेर, ज्यानै समेत दिएर जनताले लोकतन्त्र ल्याउन साथ दिएकै हुन् । लोकतान्त्रिक आन्दोल केही मुट्ठीभर मान्छेको सुख सयलका लागि मात्र थिएन, होइन । नेता मोटाउने जनता दुब्लाउने यो कस्तो लोकतन्त्र ? सबैका लागि, सर्वजन हिताय भनेर ज्यानको बाजी लगाउनेहरु अहिले निरास छन् । देश आर्थिक संकटमा फँसिसक्यो । नेता र तिनका स्वास्नी छोराछोरीहरु देश लुट्न तँछाड–मछाड गरिरहेका छन् ।

यही मेसोमा नक्कली भूटानी शरणार्थी प्रकरणमा अहिले केही भ्रष्टाचारीहरु सतहमा आएका छन् । सतहमा नआएका त कति हो कति छन् । देश लुटेर जनतालाई कंगाल बनाउने देशद्रोहीहरुलाई कडा कारवाही गरेर तिनको सबै सम्पत्ति राष्ट्रियकरण गर्न सरकारले खुट्टा नकमाओस् । भ्रष्टाचारीलाई छानविनको दायरामा ल्याई कारवाही नगर्ने हो भने अब देशमा अर्को बिद्रोह हुन्छ, र त्यो बिद्रोहले देशको भविश्य कता लैजाने हो यसै भन्न सकिने अवस्था छैन । लोकतन्त्र र गणतन्त्रका मसिहाहरु कोही देश लुट्ने र कोही लुटेरालाई जोगाउन लाग्ने हो भने अबको आन्दोलन कस्को हातमा पुग्छ ? जनता भ्रष्टाचार र भ्रष्टाचारीको बिरुद्ध छन् । यति कुरा आफूलाई लोकतन्त्रवादी, गणतन्त्रवादी भन्नेहरुले बेलैमा बुझ्दैनन् भने भीरबाट लड्ने गाईलाई राम भन्न सकिन्छ, काँधै थाप्न त सकिएन भन्ने अवस्थामा जनता पुगि सकेका छन् चेतना भया ।

भ्र्रष्टाचार र गरीबी राष्ट्रको समस्या

अल्प बिकसित र गरीब राष्ट्रहरुको मुख्य समस्या भनेकै नेतृत्व तहमा बस्नेले गर्ने भ्रष्टाचार अनि जनताले भेग्नु परिरहेको चरम गरीबी र पछौटेपन नै हो । गरीब राष्ट्रहरुका नेताको सोच पनि गरीब मात्र होइन दरिद्र नै भइदिंदा जनताले सास्ती खेप्नु परेको छ । लोभी पापीहरुको सत्तामा हाली मुहाली चल्दा जनताले दुःख पाएका हुन् । एकदलीय अधिनायकवादी, निरंकुश साशनसत्ता भएका मसलुकमा भ्रष्टाचार, बेथिति र गैर अवैधानिक स्वेच्छाचारी कार्यहुनु स्वभाविकै हो । तर लोकतान्त्रिक मुलुक, त्यसमा पनि लोकतन्त्रका लागि लामो संघर्ष गरेका भनिएकाहरुबाटै अकल्पनीय भ्रष्टाचारका काण्डहरु हुनुले जनतामा लोकतन्त्रकाप्रति विश्वास डग्मगाउने खतरा उत्पन्न हुँदैछ । जुन कुरा देश, जनता र लोकतान्त्रिक प्रणालीकै निमित्त पनि अत्यन्तै चिन्ताको बिषया हो ।

देशलाई लुटेर, जनतालाई ठगेर र मित्रराष्ट्रहरुलाई झुक्याएर देशको गरिमा र विश्वसनीयता बढन सक्दैन । गरीबीको नारा भजाउँदै लोकतन्त्रको माला जपेर शासन सत्तामा पुगेकाहरुबाट यति बिध्न भ्रष्टाचार हुनु भनेको जघन्य अपराध हो । भ्रष्टाचार पनि कति हो कति ? नक्कली भुटानी शरणार्थी काण्ड, सैक्युरिटी प्रेस खरिद ७० करोड काण्ड, ३३ किलो सुन काण्ड, वाइटबडी, न्यारो बडी, यति होल्डीङ्ग, ओम्नी काण्ड, अरुण ३ काण्ड, पानी ट्यांकी नोट काण्ड, एनसेल काण्ड, भ्यू टावर काण्ड, कोभिड कमिशन, झापा चिया बगान काण्ड, सार्वजनिक जग्गा हिनामिना काण्ड, नारायणहिटी जग्गा ठेकका काण्ड, रेलवे र पानी जहाज ठेक्का काण्ड, बालुवाटार जग्गा घोटला काण्ड, आयल निगम जग्गा खरिद काण्ड, लाउडा काण्ड, क्याण्टोनमेण्ट लडाकू घोटला काण्ड, लगायतका दर्जनौ भ्रष्टाचार काण्डहरुको निष्पक्ष छानविन र भ्रष्टाचारी माथि कडा भन्दा कडा कानूनी र सामाजिक बहिष्कार कारवाही गरिनुपर्छ ।

गरीब जनताले गाँस काटेर तिरेको राजश्वबाट राष्ट्रिय ढुकुटीकमा जम्मा भएको रकममाथि भ्रष्टाचार गर्ने, दातृ राष्ट्र र निकायहरुले दिएको अनुदान, सहुलियत कर्जामा अनियमितता गर्ने हरुले देश र जनतालाई धोखा त दिए नै बिदेशीहरुका सामु नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथि पनि संदेह उत्पन्न गराईदिए । देशको प्रतिष्ठा र विश्वसनियतामा प्रश्न उठनु भनेको राष्ट्रिय बेइज्जती हो । भ्रष्टहरुले देशको बद्नाम गरे । आफ्नै देशको नागरिक जस्को भोट लिएर आफू साँसद मन्त्री बने तिनैलाई बिदेशी, अनागरिक बनाउने र त्यस्तो बन्न तयार हुने दुवै दोषी हुन् । त्यसमध्ये पनि राज्यको नीति निर्माण तहमा बसेर यस्तो हदैसम्मको राष्ट्रकै बेजत हुने दुष्कर्म गर्ने मुख्य दोशी अपराधी हुन् । यिनीहरुलाई आजीवन काराबास राखी राजनैतिक जीवन समाप्त पारिदिनुपर्छ । राज्यको उपल्लो निकायमा पुगेका राजैतिक नेतृत्व र कर्मचारी प्रशासनको मिलेमतोमा हुने ठूला भ्रष्टाचार काण्ड र यिनै भ्रष्टाचारीहरुले गर्दा नेपालीहरुको अन्तर्राष्ट्रिय जगतमा शिर निहुरिएको छ । नेपाली जनताले अभाव, गरीबी अनेकखाले समस्या भोग्नु परिरहेको छ । देशको मुख्य समास्या भनेकै भ्रष्टाचार र त्यसले निम्त्यएको गरीबी हो । भ्रष्टाचारीलाई आजीवन काराबासको सजाय देऊ ।

लोभी पापीले राजनीति बिगारे

देश र जनताका लागि राजनीति गरेका हौं भनेर ठूल्ठूला कुरा गर्नेहरुका आलिशान महल, महंङ्गा गाडी करोडौ नगद, हिरा, मोती, सुन, चाँदीका गर गहनाले बैकका लकर भरिनु अनि दुःखी गरीब दनजुभाई जस्को भोटले उस्लाई सत्तामा पु¥यायो उस्को चुल्हो बल्न नसक्नुले नेपालको राजनीति भ्रष्ट लोभीहरुको कब्जामा गएको प्रष्ट हुन्छ । गरीबीको आहालबाट उठेकाहरुले आफू जस्तै गरीबहरुको जीवनस्तर उकास्न भन्दा अभिजात्य संभ्रान्त वर्गको संगतमा आफूलाई शहरिया नवभुँइफुट्टा वर्गमा रुपान्तरण गरे । अझ सर्वहारा वर्गको अधिनायकत्वको कुरा गरेर नथाक्नेहरुले त त्यो वर्गसँगको सामिप्यतालाई अपमान र लज्जाबोध गर्न थालेपछि वर्गीय बिभाजन झन बढेर गयो । हुनेखाने र हूदाँ खाने वर्गबीचको अन्तद्वन्द्वले गरीब र धनीबीचको खाडल झन् बढेर गयो।

राज्यका स्रोत र साधनमाथि सीमित वर्गको मात्र एकाधिकार स्थापित भइरह्यो । यो लुट धन्दा हिजो पञ्चहरुका हातमा थियो, आज काँग्रेस–कम्युनिष्टका नाममा लुटेराहरुले राज्य दोहन गरिरहेका छन् । जनताले जस्लाई आफ्नो आदर्श मान्छे त्यही भ्रष्ट भैदियो । जोसँग केही गर्छ कि भन्ने आशा राखियो त्यही बदमास् निस्किएपछि जनताको मन अमिलो भएको छ । निराशा छाएको छ । अब यिनले यो ब्यवस्था धानीखान सक्दैनन् भन्ने चिन्ता जनतामा बढदै गएको छ । भारतीय हिन्दूवादीहरुको भारतीय संस्थापन मार्फत राजतन्त्र बहालीको गुप्त योजना र अर्कातिर गद्दीच्यूत भएका राजा ज्ञानेन्द्रको बेला बेलाको धम्कीपूर्ण बक्तव्य र राजावादीहरुको चलखेल अनि संसद्मा समेत बढ्दो उपस्थितिले शुभ संकेत गरिरहेको छैन । त्यसमाथि यी भ्रष्टाचारीहरुलाई लुट्न सजिलो हुने यो ब्यवस्था किन चाहियो ? जनतालाई प्रणली नै खराब हो भनेर भडकाउने तत्व सक्रिय भएको छ ।

बिश्वका बेलायत, जापान, स्वीजरलैण्ड, थाइलैण्ड लागायतका बिकसित राष्ट्रहरुले यही संसदीय लोकतान्त्रिक प्रणली भएको ब्यवस्थाबाट यत्रो उन्नति–प्रगति गरेका हुन् । ब्यक्ति खराब भए पार्टीले खराबलाई हटाएर असललाई अघि बढाउँछ । पार्टी नै खराब छ भने जनताले त्यस्तो भ्रष्ट पार्टीलाई पनि चुनावबाट हटाई दिन्छन् । तर आजको दुनियामा लोकतन्त्र भन्दा सुन्दर, जन अधिकार सम्पन्न, सार्वभौमसत्ता जनतामा निहित भएको अर्को ब्यवस्था कुन हो त ? यहाँ त जनताले यो ब्यवस्थामा देखिएका यावत समस्यालाई हटाउन, परिमार्जन गर्न, सुधार गर्नसक्ने प्रावधान खुल्ला छ । निरंकुशता र व्यक्तिको हुकुमी शासनमा यो सम्भव हुँदैन । ब्यवस्था ठीक छ, ब्यवस्था चलाउने नेताले जनताको अवस्थामा सुधार ल्याउन सकेनन्, समस्या यहाँ छ । अब भ्रष्ट, खराबलाई जनताले नै चुनावबाट हटाउनु पर्छ । लोभी पापीले नेपालको राजनीति बिगारे र ब्यवस्थालाई नै बद्नाम गराउने अपराध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button