मूल खबर

पितृका नाममा शतबीज छरिँदै, यस्तो छ पौराणिक मान्यता

काठमाडौं। आज देशभरका शिवालयमा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइँदै छ। हिन्दु पात्रोअनुसार हरेक वर्ष मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने धार्मिक मान्यता छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ।

यस दिन विशेषगरी दिवंगत पितृहरूको उद्धारको उद्देश्यले उनीहरूको सम्झना गर्दै पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज छरिन्छ। मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुका आइतबार दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन्

‘शतम्’को अर्थ सय र ‘बीज’को अर्थ बिउ हुन्छ। तथापि शतबीजमा सय नभएर सात प्रकारका खाद्यान्न धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई लिइने गरेको पाइन्छ। साथै शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फल तथा विभिन्न किसिमका फूलहरू पनि मिसाउने र छर्ने गरिन्छ। तसर्थ यस दिन काठमाडौंस्थित पशुपति मन्दिरपरिसरमा भक्तजनको भीड लाग्ने गरेको छ। आफ्नो वंशमा दिवंगत पितृलाई शान्ति दिलाउन पशुपति, १०८ शिवलिंग, गुह्येश्वरी, कैलाश, गौरीघाट, आर्यघाट, सूर्यघाट, मृगस्थली, विश्वरूप तथा किरातेश्वर मन्दिरमा शतबीज छर्ने गरिएको छ।

यस्तो छ पौराणिक मान्यता
भगवान् शिव मृगरूप लिई जहाँजहाँ घुमेका थिए, तीती पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा मात्र बीज छर्दा पनि त्यतिबराबर नै सुन दान गरेबराबरको पुण्य मिल्ने र आफ्ना समस्त पितृले मुक्ति पाउने स्कन्द पुराणमा उल्लेख छ। बाग्मतीकिनारमा रहेको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरी विहार गरेको थाहा पाई त्यही शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिनेको पौराणिक कथा रहेको छ।

यसैगरी पशुपति आर्यघाटमा बस्ने ‘बालानन्द’ नामक मानिस खाजा खान लाग्दा दाहसंस्कार गरिरहेको मुर्दाको टाउको फुटेर उछिट्टिएको गिदी उनको चिउरामा परेको र सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान थाले। साथै उनको लामालामा दाह्री, जुँगा र कपाल देखेर मानिसले उनलाई बालासुर राक्षस भन्न थाले र उनीबाट डराउन थाले। त्यसै समयमा उनलाई चिनेका एकजना बूढाको सल्लाहअनुसार स्थानीयले बालासुरको मीत वृषसिंहलाई उकासेर मार्न लगाएको किंवदन्ती पनि छ।

मीतको हत्यापछि डराएर छटपटाएका वृषसिंहलाई सपनामा भगवान् शिवजीले दर्शन दिई यसै दिन सतबीज छर्न आज्ञा दिएकाले श्लेष्मान्तक वनवरिपरि शतबीज छर्दा बालासुर वैतरणी नदी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्नुपर्ने स्कन्द पुराणमा उल्लेख रहेको छ ।रिपोटर्स नेपालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button