खबर

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काभ्रेपलाञ्चोक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताउनुभएको छ। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा–२०८० अन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरस्थित कुन्तामा आइतबार साँझ आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

“अर्थतन्त्रलाई सबै पक्ष मिलेर उकास्नुपर्छ र नागरिकको जीवनस्तर सबल बनाउँदै जानुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो। उहाँले लोकतन्त्रको संस्थागत विकास गर्दै यसका प्रणालीलाई सही ढङ्गले अघि बढाउन सुझाव दिँदै सरकारले जनतामा निरासा आउन नदिने गरी काम गर्न सुझाव दिनुभयो । “अर्थतन्त्र बलियो नहुँदा जनतामा निरासा छाएको देखियो, यसमा सरकारलगायत सबै पक्षले अब आ–आफ्नो दायित्वप्रति गम्भीर हुनुपर्छ”, उहाँले थप्नुभयो।

अध्यक्ष ओलीले उद्यमशीलतामा जोड दिए रोजगारीका अवसर आफैँ सिर्जना हुने भएकाले यसप्रति जोड दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “रोजगारी हैन, उद्यमशीलता प्रमुख विषय हो, उद्यमशीलताले रोजगारी सिर्जना गर्ने हो, यसरी अरूलाई पनि रोजगारी दिन सकिन्छ ।” उहाँले इन्द्रावती नदीको पानी टनेलमार्फत ल्याई मण्डनदेउपुर र पाँचखालको फाँट हराभरा बनाउन सकिने तथा यस भेगका युवामा आफूले खेलकुदमा आकर्षण देखेकाले ‘मल्टिपरपोज’ खेल मैदान निर्माण गर्न सकिने बताउनुभयो।

अध्यक्ष ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकीकरण हुनुपर्ने उल्लेख गर्दै प्रविधिको प्रयोग गरी उत्पादन बढाउनुपर्ने बताउनुभयो। “अन्य व्यवसायलाई निर्वाहमुखी हैन, विकासमुखी र परिवर्तन गर्नेगरी अघि बढाउनुपर्छ”, उहाँको तर्क थियो। उहाँले समृद्ध नेपाल निर्माणको सपना साकार पार्न आफ्नो पार्टीले सङ्कल्प यात्रा थालेको बताउँदै देश र जनताको स्वाभिमानलाई झुक्न नदिने गरी उत्साहजनक ढङ्गले यात्रा अघि बढिरहेको जनाउँदै खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले युवा पलायन भइरहेको वर्तमान अवस्थामा कृषियोग्य जमिनमा उपजका लागि सिँचाइ र चिस्यान केन्द्र व्यवस्थापन गर्न सके देशको जनशक्ति रोक्दै जान सकिने धारणा राख्नुभयो।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरूरु, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायत नेताहरु, प्राविधिक तथा विज्ञ सम्मिलित टोली सङ्कल्प यात्रामा हुनुहुन्छ।

बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा आउँदो पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ।जनता समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button