सृजनाको चौतारी

जब मुर्दाले मसाल बोक्छ !

जी एन शर्मा
कविता
चिहान हलिन्छ, माटो चल्मलाउन थाल्छ
काँटी कब्जा र तानाबाना खुस्किन थाल्छन्
बन्धन चुडिन थाल्छ
भित्रको मुर्दाले मुठ्ठी कस्छ
मुखमा बुजो लागेको माटो हुत्याउँछ
मुर्दा चिहान भित्रै जाग्छ
जोर लात्तले धकेल्छ
अनि उसले भित्रै मसाल बनाउँछ अर्थात चिहानमै
अनि चकमक चलाउँछ, मसालमा झोस्छ
मसाल बिस्तारै बल्न शुरु गर्छ
अनि मसाल बोकेर मुर्दा बाहिर निस्कन्छ
मौन मुर्दा सगर थर्कीने गरि चिच्याउँछ
म मरेको थिईन तर मलाई मुर्दा बनाईयो
म ढलेको थिईन मलाई जबरजस्त गाडियो
मेरो चित्कार र पिडालाई मजाक बनाईयो
मेरो आँशुलाई बारबार खिल्ली गरियो
म त गुम्सिरहेको मात्रै थिएँ
म मरेको थिइँन तर नमरिकनै मलाई मुर्दा घोषणा गरियो
आज म घोषणा गर्छु !
म जस्तै धेरैलाई यहाँ मुर्दा बनाईएको छ !
त्यसैले ज्युँदा मान्छेहरुको पक्षमा आज म मसाल बोकेर उभिएको छ
फेरि कोही मान्छे मर्दै नमरि मुर्दा बन्नु नपरोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button