
फाइल तस्बिर
मित्र भण्डारी
काठमाडौँ, साउन ५ गते । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय लागुऔषध तस्करी सञ्जालविरुद्ध एकै दिन सञ्चालन गरेको दुई छुट्टाछुट्टै विशेष अपरेसनमा ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले कतार एयरवेजमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आइपुगेकी ६२ वर्षीय कोलम्बियन नागरिक योनेथ गार्जोन काइसिडोका साथबाट कपडाको आकारमा सिलिकनसँग मिसाएर लुकाई ल्याएको चार केजी २८५ ग्राम लिक्विड कोकिन बरामद भएको छ । ब्युरोको टोलीले उक्त कोकिन लिन आएकी भारत मणिपुरकी ३७ वर्षीय रेबेका पुल्लेलाई पनि नियन्त्रणमा लिएको छ । उक्त कोकिनको अवैध बजार मूल्य १५ करोड रुपियाँभन्दा बढी रहेको ब्युरोले जनाएको छ ।
ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले अन्तरदेशीय सञ्जालमार्फत उक्त कोकिन भारततर्फ तस्करी हुने क्रममा विशेष अपरेसनमार्फत बरामद गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषध तस्करीविरुद्ध राज्यले शून्य सहनशीलताको नीति अपनाउँदै कडा कारबाही सुरु गरेको छ । हामीले अन्तर्राष्ट्रिय विमानस्थल, खुला सीमा र सहरी कारोबार सञ्जालमा थप कडा निगरानी र कारबाही सुरु गरेका छौँ ।”
उहाँका अनुसार सिलिकनसँग मिसाएर कपडा जस्तै देखिने गरी तयार गरिएको कोकिन नेपालमा हालसम्म फेला परेका नयाँ तस्करी विधिमध्ये एक हो । ब्युरोको टोलीले कुख्यात भारतीय लागुऔषध तस्कर उत्तर प्रदेशका राज सोनीलाई काठमाडौँको कुलेश्वरमा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । ब्युरोले भारतबाट काठमाडौँ ल्याइएको २४ हजार सात सय टेपेनाडोल क्याप्सुल बिक्री भइरहेको विशेष सूचनाका आधारमा पिछा गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्दै भाग्न खोजेपछि सुरुमा चेतावनीस्वरूप हवाई फायर गरिएको र त्यसपछि पनि नरोकिएपछि दुई राउन्ड गोली प्रहार गरी सोनीलाई नियन्त्रणमा लिइएको हो । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने उनका सहयोगी बाँकेका निखिल सोनी र सुर्खेतकी शोफिया मगरसमेत पक्राउ परेका छन् ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोनीले भारतबाट नेपाल भित्रिने सागसब्जी तथा फलफूलका गाडीभित्र लुकाएर लामो समयदेखि तस्करीको ¥याकेट चलाइरहेका थिए । ब्युरोले लामो समयदेखि पहिचान गरी पिछा गर्दै आएका सोनी नेपालगन्ज हुँदै काठमाडौँ भित्रिएको विशेष सुराकी पाएको थियो । उनले भरिया प्रयोग गरेर भारतबाट लागुऔषध नेपाल तस्करी गर्ने र अनलाइन माध्यमबाट भुक्तानी लिने गरेको सूचना थियो । “यस पटक लागुऔषधसहित नेपाल आएका बेला नियन्त्रणमा लिन सफल भयौँ,” ब्युरो प्रमुख बोहोराले भन्नुभयो ।
तेस्रो मुलुक हुँदै नेपाललाई ट्रान्जिट बनाएर कोकिन, हेरोइन जस्ता लागुऔषध विगत लामो समयदेखि तस्करी हुँदै आएको पाइएको छ । नेपालमा बढी खपत हुने फर्मास्युटिकल ड्रग्स र ब्राउन सुगर तरकारी, फलफूल अन्नअनाजका बोराभित्र लुकाएर भारतबाट नेपाल भित्रिने गरेको पाइएको छ । यस्तो प्रविधिबाट लागुऔषध पहिचान गर्न कठिन हुने भएकाले अन्तर्राष्ट्रिय गिरोहले पछिल्ला वर्षमा यस्ता नयाँ उपाय अपनाउन थालेका छन् । केही नेपाली दुव्र्यसनी स्वयं भारत पुगेर ब्राउन सुगर ल्याई नेपालमा झन्डै तीन गुणा बढी मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । भारतीय गिरोहले भने भरिया प्रयोग गर्ने वा आफैँ सानो परिमाणमा लुकाएर ल्याई वितरण गर्ने रणनीति अपनाउने गरेका छन् ।
कोकिन, हेरोइन जस्ता उच्च मूल्यका लागुऔषधका लागि नेपाल ट्रान्जिट मुलुकका रूपमा समेत प्रयोग हुन थालेको देखाएको छ । लाओस, म्यानमारलगायतका मुलुकबाट नेपाल हुँदै तेस्रो देशमा लागुऔषध पठाउने प्रयास पछिल्ला वर्षमा पटक पटक विफल पारिएको सुरक्षा निकायले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



