
झापा ।
आधुनिक नेपालका परिकल्पनाकार एवम् महान् समाजवादी नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बीपीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन्। स्मृति दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव हुमागाईंले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको नीतिलाई नेपाली कांग्रेसले व्यवहारमा लागू गर्न नसक्दा मुलुकमा धनी र गरिबबीचको खाडल झनै गहिरिँदै गएको बताएका छन्। नेपाली कांग्रेस केही मुठीभर धनी, पूँजीपति र सम्भ्रान्त घरानाको मात्र नभई लाखौँ-लाख श्रमजीवी, दुःखी र गरिब नेपाली जनताको आशा अनि भरोसाको साझा पार्टी भएको हुनाले बीपीको विचारबाट पार्टी विचलित हुन नहुने उनको भनाइ छ।
पार्टीको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सचिव हुमागाईंले विगतका संघर्षपूर्ण घडीमा त्याग, तपस्या र बलिदान गरेका निष्ठावान् कार्यकर्ताको अवमूल्यन भइरहेकोप्रति आक्रोश पोखेका छन्। हिजोका दिनमा प्रजातान्त्रिक आन्दोलनमा सहभागी भई जेल, नेल, यातना, हिरासत र निर्वासन भोगेका तथा पार्टी निर्माण, संगठन विस्तार र सिद्धान्त प्रचारमा अहोरात्र खटिएका सच्चा नेता-कार्यकर्ताको अवमूल्यनकै कारण आज पार्टी थिलथिलो बन्न पुगेको उनले उल्लेख गरेका छन्।

२०१७ साल पुस १ गते जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको दुई-तिहाइको सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले लादेको निरंकुश पञ्चायत र २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रको शाही कूप्रति लक्षित गर्दै हुमागाईंले इतिहास बिर्सन नहुने बताएका छन्। कडा संघर्षको जीवन्त इतिहास बोकेका त्यागी नेता-कार्यकर्तालाई पाखा लगाएर पार्टीलाई मुट्ठीभर ‘सुकिला-मुकिला’ र गाडी चढेर घुम्ने सम्भ्रान्तहरूको घेराबन्दीमा मात्र सीमित राख्न खोजिए असली समाजवादी कार्यकर्ताहरू चुप लागेर नबस्ने चेतावनी उनले दिएका छन्। झापा कांग्रेसका सचिव हुमागाईंले पार्टीभित्र हुर्कँदै गएको यस्तो गलत र अवसरवादी प्रवृत्तिविरुद्ध असली विचार बोक्ने कार्यकर्ताहरूले पार्टी भित्र फेरि विद्रोह गर्नुपर्ने स्थिति आउन सक्ने स्पष्ट पारेका छन्। महामानव बीपीका आदर्श र विचारलाई पुनर्जीवित गर्दै पार्टीलाई पुनः श्रमजीवी वर्गको भरपर्दो सहारा बनाउनुपर्नेमा उनले जोड दिएका छन्।



