
कतिलाई लाग्छ फुटबलमा पनि भाग्यको साथ चाहिन्छ । यदि भाग्यलाई मान्ने हो भने सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई यो वर्ष भाग्यले साथ दिएन । यो पहिलो पटक मात्र होइन, २०६३ मा पनि त्यस्तै रह्यो । लिगको अन्तिम खेलमा बराबरी गर्दा उपाधि जित्ने आर्मीले दुवै पटक खेल हारेर मुखमा आइसकेको उपाधि गुमाएको हो । यो वर्ष मछिन्द्र क्लबसँग पराजित आर्मी त्यति बेला नेपाल पुलिस क्लबसँग स्तब्ध भएको थियो ।

त्यो तितो यर्थाथले अझै पनि नराम्रो महसुस हुने आर्मीका डिफेन्डर युद्ध शाही बताउँछन् । ‘खेलाडी, प्रशिक्षकलगायत टोलीको व्यवस्थापन सबै निकै दुःखी भयौं’, उनले स्मरण गरे, ‘लिग जित्ने निकै राम्रो अवसरलाई पनि हामीले सदुपयोग गर्न सकेनौ. । यस्तो मौका बारम्बार आउँदैन ।’
फुटबल विश्वकै लोकप्रिय खेल हो । नेपालमा पनि फुटबललाई लोकप्रिय मध्ये एक मानिन्छ । त्यस्तो खेलमा रहँदा गर्व लाग्ने बताउँछन् विकट कर्णाली प्रदेशका युद्ध । उनी झन्डै डेढ दशकयता आर्मी क्लबको हिस्सा रहँदै आएका छन् । २०४२ को चैत्र २४ जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा न १० मा पिता पृथ्वी बहादुर शाही र माता मुक्ती शाहीको कोखबाट उनको जन्म भएको थियो । २ दिदी र एक दाईका उनी कान्छा भाइ हुन् । उनको बाल्यकाल जुम्लामै बित्यो ।

सानो उमेरमा आफू निकै चन्चले स्वभाव रहेको उनलाई स्मरण छ । गाउँघरमा उनि साथीभाइसंग मिलेर मोजा भित्र कपडा खादेर बल बनाई (द्यारा चौर) कोटेवाडा स्थीत जनज्यती विद्यालयको चौरमा खेल्ने गर्थे । त्यसक्रममा उनी स्थानीय लेकाली युवा क्लबबाट जिल्ला स्तरिय फुटबल प्रतियोगिता खेल्ने भइसकेका थिए । त्यहिबाट उनको फुटबल प्रतिको लगाव देखिन्थ्यो । कालिकोट जिल्लाको महादेव मा.वि. फोइकोटबाट एस.एल.सी सकेपछि पछि उनको यात्रा अघि बढ्यो ।
एसएलसी पछि उनी २०६० मा सुर्खेतबाट सेनामा भर्ती भए । सेनामा उनी पहिला करांते खेल्थे । करातेका दोस्रो डान समेत रहेका छन् । करातेमा छोटो समय रहेपछि उनी फुटबल टोलीमा समेटिए । तर सुरुका दुई वर्ष उनले बेन्चमा बिताए । २०६५ सालमा उनी सरितासँग विवाह बन्धनमा बाधिए । संयोग नै मान्नु पर्छ विवाह भएकै सालदेखि उनी पहिलो रोजाईमा पर्न थाले । ८ वर्षे छोरा अनिषजंगका पिता ३४ वर्षे युद्ध अझै केहि वर्ष क्लबबाट खेल्ने योजनामा छन् ।

युद्ध तीन वर्षअघि साफ च्याम्प्यिनसिपको तयारीका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका थिए । तर, त्यहि समय उनी युएन मिसनका लागि छनोट भए र १४ महिना मिसन बसेर फर्के । मिसनबाट फर्केलगत्तै फाल्गुनन्द गोल्डकपमा उत्कृष्ट रक्षक समेत घोषित भए ।
कर्णाली जस्तो विकट प्रदेशबाट आएर आर्मीबाट खेल्ने सक्ने आफू उदाहरण रहेको युद्ध बताउँछन् । कर्णाली प्रदेशमा खेलकुद मात्र नभएर भौतिक रुपमा पनि विकास हुन सकेको छैन । युद्ध राज्यले विकट कर्णाली प्रदेशमा खेलकुद क्षेत्रमा लगानी गर्ने र अवसर श्रृजना गर्ने हो भने उत्कृष्ट खेलाडी तयार हुनेमा विश्वस्त विश्वास छन् ।

‘कर्णाली प्रदेशमा उत्कृष्ट खेलाडी बन्न सक्ने प्रतिभाको कमी छैन,’ उनले भने, ‘तर खेल्ने इच्छा भएका लागि पनि त्यस्तो वातावरण छैन । प्रदेश र स्थानिय सरकारले खेलमा रुची हुनेका लागि सिक्ने वातावरण बनाइदिनु पर्छ । फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि कर्णालीका लागि विशेष योजना सुरु गरोस् भन्ने छ ।’
युद्ध आफैं पनि खेल जीवन बिट मारेपछि भविष्यमा कर्णालीमा एकेडेमी र ट्रेनिङ सेन्टर स्थापना गर्दै खेलाडी उत्पादन गर्ने योजनामा छन् । ‘खेल जीवनबाट प्राप्त गरेको अनुभव कर्णालीका लागि खर्चिने छु । अब म खेल जीवनको अन्तिम चरणमा छु’, सेनाका जमदार उनले भने, ‘सेनामा पेन्सन पछि खेलबाट संन्यास लिएर जिल्ला फर्कने सोच छ । जुम्लामा फुटबल प्रतिको आकर्षण बढ्दो छ । आफ्नै ठाउँमा केहि गर्छु ।’
hamrokhelkud/from





