
मेचीनगर । झापाको काँकरभिट्टा माध्यमिक विद्यालयको परिसर भित्र रहेको क्यान्टिनमा खाजा खाएका २६ जना विद्यार्थीहरु विरामी परेका छन् ।
बिहिबार दिउँसो विद्यालयको परिसर भित्र संचालन भएको क्यान्टिनमा खाजाकोरुपमा छोलामुरै खाएका विद्यार्थीहरु एकाएक विरामी परेका हुन् ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार सो बिध्यालयका कक्षा १ देखि ६ सम्मका विद्यार्थी विरामी परेका थिए । २६ जना विद्यार्थीहरुलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले बताए । चिकित्सकका अनुसार प्रारम्भिक अध्ययन अनुसार फुडपोइजन भएको बताइएको छ ।

विद्यार्थीहरुको अवस्था अहिले सामान्य रहेको र उनीहरुलाई घर ल्याउने तयारी भइरहेको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।
‘विद्यालयले दिवा खाजा विद्यार्थीलाई निःशुल्क दिने गरेको छ’, प्रधानाध्यापक न्यौपानेले भने–‘विद्यालयकै चौकिदारले क्यान्टिन सञ्चालन गर्दे आएका छन् । गर्मी थियो, खाजाबासी थियो कि भन्ने कुरा आएको छ । त्यसको छानविन हुन्छ ।’

क्यान्टिनको खाजा खाएपछि विद्यार्थीहरु एकाएक विरामी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरुङले बताए । खाद्यको टोलीले विद्यार्थीले खाएको खाजाको गुणस्तर थियो कि थिएन जाच्ने काम भइरहेको उनले बताए ।



