
सम्पादकीय
मेचीनगर । मेचीनगर नगरपालिकाको वास्तु नमिलेको हो या वास्तविकतानै अर्कै छ अहिले यो आम चासोको विषय बनेको छ । प्रसङ्ग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको हो । मेचीनगर नगरपालिका शायदै यस्तो नगरपालिका होला जहाँ आउने प्रमुख प्रशासकीय अधिकृतहरु कोही दुई महिनामै सरुवा हुन्छन्, कोही विदामा गएका फेरि फर्केर आउन मान्दैनन् त कोही जोडबल लगाएरै भएपनि यही नगरपालिकामा आउने गर्छन् । केही समय यताका मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र फर्केर फेरि काममा आउने अनिच्छा ले आखिर किन यस्तो हुन्छ मेचीनगर नगरपालिकामा यो आफैमा प्रश्न बनेर उभिएको छ ।
विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार दाहाल फर्केर आएनन् ४८ दिन सम्म उनी नफर्केपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्रनै लेखेर प्रमुख प्रशासकीय अधिकृतका लागि निवदेन गर्नु प¥यो । हामीले बुझे अनुसार नेपाल सरकारका कर्मचारीहरु सरकारले दिएको जिम्मेवारी नेपालभर जहाँ गएर पनि पुरा गर्नु पर्छ ।र, कर्मचारीहरु आफ्नो काममा जाने गर्छन् पनि तर झापाको मेचीनगर नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतको हकमा भने यो किन असजिलो जस्तो बनेको छ । विगतका वर्षलाई हेर्ने हो भने प्रमुुख प्रशासकीय अधिकृतका रुपमा आएका दीनानाथ लम्साल दुई महिना नपुग्दै सरुवा भएर गएका थिए भने पछिल्लो समयमा आएका सुरेशकुमार दाहाल विदामा गएका फेरि आउन चाहेनन् किन ?अहिले प्रश्न उठेको छ , के मेचीनगर नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको वास्तु नमिलेको हो या नगरपालिका भित्रको आन्तरिक पक्षको वास्तविकता नमिलेको हो यो विषयमा जनप्रतिनिधि ज्युहरुले एक पटक यसको वास्तु वा वास्तविकतामा ध्यान दिने पो हो की ? लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकका कामका अलवा बजेट निकासामा परेको प्रत्यक्ष अप्रत्यक्ष असरलाई महशुष गरेर नगरप्रमुख बुढाथोकीले मन्त्रालयमा पत्रनै लेखेपछि अहिले प्रमुख प्रशासकीय अधिकृतको आगमन भएको जानकारी भएको छ हामी कामना गरौँ कि मेचीनगर नगरपालिकामा आउने प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकाल सफलतापूवर्क पुरा गरेर हार्दिकताका साथ विदा गर्न सकियोस !



