सृजनाको चौतारी

यो समय उनीहरुकै हो

जी एन शर्मा
कविता
यो उनीहरुकै समय हो
समय उनीहरुकै भएकाले उनीहरुसँग समय छ
त्यसैले समय जसको हुन्छ बोल्ने पालो उसैको हुन्छ
अहिले बोेल्ने मात्र होइन बोलिरहने पालो उनीहरुकै हो
किनभने यो समय उनीहरुकै हो
उनीहरुले पाएको समयमा हामीले सुन्नु पर्छ
अहिले उनीहरु बोलिरहेकाछन्
हामी सुनिरहेकाछौँ
तर, बोल्ने र सुन्नेमा फरक छ
फरक यसर्थ छ ,बोल्ने डराईडराई बोलिरहेको छ
उ बोल्न पनि डराउँछ
हामी निर्धक्क सुनिरहेकाछौँ
फरक यही हो
तर,समय उनीहरुकै हो
के बोल्छन् र बोल्दैछन् हामी सुनिरहेकाछौँ तर डराएर होइन
यहाँ बोल्ने डराएकोछ र डराउँदै बोलेको छ
सुन्ने सुनिमात्रै रहेको छ
केके बोल्छ भनेर
जब उनीहरुको पालो सकिन्छ
अनि समय हाम्रो हुन्छ
बोल्ने पालो पनि हाम्रै हुन्छ
अनि हामी बोल्नेछौँ उसले सुन्नु पर्नेछ
तर, त्यो बेला पनि अलिक फरक हुन्छ
फरक यस्तो हुन्छ
बोल्ने निर्धक्क औँलो ताकिताकि बोल्ने छ
नाक माथिनै औलो पु¥याएर,आँखाले आँखैमा गडेर बोल्ने छ
सुन्नेले मुण्टो झुकाएको हुन्छ
उसले सुन्न सकिरहेको हुदैन
सुन्ने उसमा तागत सकिएको हुन्छ
किनकी
बोल्नेले सत्य बोली रहेको हुन्छ
झुठो लत्रिरहेको हुन्छ
सुन्न नसकेर उ ढल्न पनि सक्छ
तर,बोल्ने रोकिनेवाला हुदैन
किनकी
उसले सत्य बोलिरहेको हुन्छ
तर अहिले समय उनीहरुको छ
बोल्ने पालो पनि उनीहरुकै हुन्छ
अहिलेलाई हामीले सुन्ने मात्र गर्नु पर्छ
उसलाई बोल्न दिनु पर्छ
हाम्रो समय र हाम्रो पालोमा अनि बोलौँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button