मूल खबरहेड लाइन

स्थानीय तहको बजेट : सुशासन प्राथमिकतामा

नगेन्द्र सापकोटा

काठमाडौँ, असार ११ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरेका छन् । बाँकी २९ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गर्न सकेनन् । सभामा बजेट पेस गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधुरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधिमैत्री बनाउने र सुशासनलाई जोड दिएका छन् ।

कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन् । महानगरपालिका, उपमहानगरपालिका र सहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपत् व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो । आगामी २०८४ वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको पाँचबर्से कार्यकाल सकिन्छ । जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले गत दस वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेस गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेस गर्न नसकिएका, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरुवा भएकाले बजेट सभामा पेस गर्न नसकेका हुन् ।

उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयन भएको दस वर्षको अवधिलाई हेर्दा स्थानीय तहले क्रमिक रूपमा कानुनले तोकेकै समयमा बजेट सभामा पेस गर्ने क्रम बढ्दै गएको छ । यसबाट स्थानीय तह सुशासनतर्फ अग्रसर भएको पुष्टि हुन्छ ।” सभामा बजेट नल्याउने स्थानीय तहका लागि महासङ्घले आवश्यक सहजीकरण गर्ने प्याकुरेलले स्पष्ट पार्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले आगामी आर्थिक वर्षका लागि सबै स्थानीय तहले असार १० गतेभित्र गाउँ र नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

सङ्घीयताविद् डा. खिमलाल देवकोटाले २०७४ देखि २०८३ सालसम्मको स्थानीय तहको बजेटलाई मूल्याङ्कन गर्दा समयक्रमसँगै स्थानीय तहको प्राथमिकता फरक/फरक हुँदै गएको बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षका लागि भने अधिकांश स्थानीय तहले सुशासन, सूचना प्रविधि, विपत् व्यवस्थापनका साथै यसअघिका अधुरा योजनालाई नै प्राथमिकता दिएको देखिएको छ । उहाँले भन्नुभयो, “स्थानीय तहका जनप्रतिनिधिका बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल भएकाले पनि यसअघिका अधुरा योजनालाई प्राथमिकता दिएका हुन् ।”

अनुदान कटौती हुन्छ : आयोग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐनमा स्थानीय तहका लागि गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ र नगर सभामा पेस गरे वा नगरेको सूचकका लागि पाँच अङ्क प्रदान गर्ने व्यवस्था गरेको छ । त्यस्तै असार मसान्तभित्र स्थानीय तहको सभाले बजेट पारित गरे वा नगरेको भन्ने सूचकका लागि अर्को पाँच अङ्क तोकिएको छ । त्यस्तै आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर १०० नम्बर प्रदान गर्छ ।

सभामा बजेट पेस गर्न नसक्ने २९ स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले प्रदान गर्ने समानीकरण अनुदान शीर्षकको पाँच अङ्क कटौती हुने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुकुदेवप्रसाद बाँस्कोटाले असार १० गतेभित्र सभामा बजेट पेस गर्न नसक्ने स्थानीय तहले कार्यसम्पादनमा आधारित सूचकबाट पाउने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्यसम्पादन सूचकमा आधारित अनुदान घट्ने बताउनुभयो ।

समयमा आउँदैनन् तथ्याङ्क

आगामी आर्थिक वर्षका लागि अधिकांश स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरे पनि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा भने ७५३ स्थानीय तहमध्ये २३९ वटा स्थानीय तहले मात्र बजेट सभामा पेस गरेको देखिन्छ। ५१४ वटा स्थानीय तहले भने बुधबारसम्म सभामा बजेट पेस गरेको तथ्याङ्कमा देखिँदैन ।

अधिकांश स्थानीय तहले बजेट सभामा पेस गरे पनि त्यसको विवरण मन्त्रालयको वेबसाइटमा अपलोड नगर्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेस गरेको देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव हरिप्रसाद चापागाईले यसअघि पनि मन्त्रालयले स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरेपछि तत्कालै अपलोड गर्न आग्रह गरिए पनि विभिन्न प्राविधिक कारणले गर्दा अपलोड गर्न नसकेको हुन सक्ने बताउनुभयो । मन्त्रालयले भने यस वर्ष असार १० गतेभित्रै गाउँ र नगर सभामा बजेट पेस नगर्ने स्थानीय तहमा अग्रिम रूपमा स्थलगत सहजीकरण गरी बजेट पेस गर्न आवश्यक समन्वय गर्दै आएको थियो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button